भदौ १७, काठमाडौं (अस) । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत असार १७ देखि साउन २० गतेसम्म हकप्रद शेयर निष्कासन गर्दा वितरण हुन नसकेको हकप्रद शेयर सोमवारदेखि लिलामीमा ल्याउने भएको छ । कम्पनीले संस्थापकतर्फको २ लाख ६ हजार २ सय २७ र सर्वसाधारण तर्फको ८५ हजार २ सय ६३ कित्ता अवितरित शेयर लिलामीमा विक्री गर्न लागेको हो । भदौ २५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने यस हकप्रदका लागि संस्थापकतर्फ न्यूनतम एक हजार र सर्वसाधारण तर्फ न्यूनतम एक सय कित्ताका लागि आवेदन दिने व्यवस्था छ ।
यस शेयरको न्यूनतम मूल्य रू. एक सय तोकिएकाले बोलकबोल गर्दा सोभन्दा बढी मूल्यमा गर्नुपर्नेछ । बोलपत्र बुझाउनका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडको काठमाडौंमा रहेका कार्यालयहरु लाजिम्पाट, लालदरबार, लगनखेलका साथै पोखराको चिप्लेढुङ्गा, बुटवलको ट्राफिकचोक, वीरगञ्जको आदर्शनगर र विराटनगरको गोल्छाचोकको कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।
त्यस्तै नेपाल इन्भेष्टमेण्ट बैङ्क लिमिटेडको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढीसँगै आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडमा पनि सम्पर्क गर्न सकिनेछ ।











