भदौ १७, रुपन्देही (अस) । बुटवल बीपीचोकस्थित एभरेष्ट बैङ्कमा रकम जम्मा गर्न गएका एक ग्राहकको रकम चोरी भएको छ । बुटवल नेपालगञ्जरोडस्थित दुर्गा प्लाष्टिक हाउसका सञ्चालक दिनेश ज्ञवालीले बैङ्कको काउण्टर नजिकै भौचर भर्दै गर्दा ३ जनाको समूहमा आएका अज्ञात व्यक्तिले उनको रकम लुटेर भागेका थिए ।
आइतवार बिहान झण्डै साढे १० बजे बैङ्कमा रकम जम्मा गर्ने क्रममा भौचर भर्ने टेबलबाट २ लाख २३ हजार रुपैयाँ चोरेर भागेको देखिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लले जानकारी दिए । ज्ञवालीले टेबलमा भौचर भर्दा छेउमा पैसा राखेका थिए ।
उनले भौचर भर्दा भर्दै तीन जना चोरले पैसा लिएर भागेको बैङ्कको सिसिटिभी क्यामेराबाट देखिन्छ ।
चोरी गर्नेहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।











