भदौ १७, काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त धरहरा ३ अर्ब ४५ करोड रुपैयाँको लागतमा पुनर्निर्माण गरिने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आह्वान गरेको ठेक्काको आर्थिक प्रस्ताव आइतवार खोलिएपछि उक्त लागतमा बन्ने पक्कापक्की भएको हो । ६ ओटा कम्पनीले प्रस्ताव हालेकोमध्ये सबैभन्दा कम प्रस्ताव जीआईईटीसी–रमन कम्पनीको परेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए ।
‘आइतवार प्राधिकरणले खोलेको प्रस्तावअनुसार सबैभन्दा कम ठेक्का प्रस्ताव गर्ने कम्पनीमा जीआईईटीसी–रमन छ,’ ज्ञवालीले भने, ‘उक्त कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँमा धरहरा पुनर्निर्माण गर्ने प्रस्ताव गरेको छ ।’ प्राधिकरणले धरहरा पुनर्निर्माणका लागि करीब ४ अर्ब २७ करोड रुपियाँ अनुमान गरिएको डीपीआरमा उल्लेख छ । धरहरा र परिसरको कुल क्षेत्रफल भने २४ रोपनी हुने प्राधिकरणको भनाइ छ ।
रू. ४ अर्बको लागत इस्टिमेट तयार गरेको थियो । प्राधिकरणको लागत इष्टिमेटभन्दा ५५ करोड कममा ठेक्का प्रस्ताव परेको छ । अन्यले इष्टिमेटभन्दा बढी प्रस्ताव गरेका थिए । धरहरा पुनर्निर्माणमा सबैभन्दा बढी प्रस्ताव गर्नेमा सीआरफाइभसीईसी–स्वच्छन्द जेभी छ । उसले ४ अर्ब ५२ करोडमा प्रस्ताव गरेको छ ।
धरहरा पुनर्निर्माणका लागि सीआईसीओ–कालिका–रसुवा जेभी, जीआईईटीसी–रमन जेभी, जेडआईईसी–लामा जेभी, सीआरफाइभसीईसी–स्वच्छन्द जेभी, आशिष कन्ष्ट्रक्शन र कुमार सीएफईसी गरेर ६ निर्माण कम्पनीले आवेदन दिएका थिए । यीमध्ये आशिष कन्ष्ट्रक्शन प्राविधिक मूल्याङ्कनबाटै बाहिरिएको थियो ।
धरहरा पुनर्निर्माणका लागि सीआईसीओ–कालिका–रसुवा जेभीले ४ अर्ब ३९ करोड, जेडआईईसी–लामा जेभीले ४ अर्ब ५० करोड, सीआरफाइभसीईसी–स्वच्छन्द जेभीले ४ अर्ब ५२ करोड र कुमार सीएफईसीले ४ अर्ब ४९ करोडको प्रस्ताव गरेका थिए । प्राधिकरणले वार्षिक कम्तीमा ३ अर्ब ९१ करोड २८ लाखको निर्माण कार्य गरेका राष्ट्रिय तथा अन्तरराष्ट्रिय निर्माण कम्पनीसँग प्राधिकरणले बोलपत्र आह्वान गरेको थियो ।
प्राधिकरणका सहसचिव राजुमान मानन्धरका अनुसार सबैभन्दा कम ठेक्का प्रस्ताव गर्ने जीआईईटीसी–रमन जेभीको आर्थिक प्रस्तावको अध्ययन भइरहेको छ । उनका अनुसार आशयपत्रका लािग सात दिने समय दिई त्यसको २ हप्तामा सम्झौता हुनेछ । प्राधिकरणले धरहरा पुनर्निर्माणका लागि वैशाख ३१ गते टेण्डर आह्वान गरेको थियो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा निर्माणसम्बन्धी सूचना गत वैशाख ३१ मा प्रकाशन गरेको थियो । पाँचओटा निर्माण कम्पनीको आर्थिक प्रस्ताव असार २६ गते खोल्ने भनी असार २० गते सूचना प्रकाशन गरिएको थियो । यसबीच प्रस्ताव खोल्ने काम असार २६ गतेदेखि ६ पटकसम्म स्थगित हुँदै आएको छ ।
प्राविधिक प्रस्ताव पास भएका पाँच कम्पनीमध्ये कुनै एकको कागजात शङ्कास्पद छ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेपछि प्रस्ताव खुला गर्ने मिति ६ पटकसम्म रोकिएको हो । भीमसेन थापाको पालामा बनेको ऐतिहासिक सम्पदा धरहरा ३ वर्षअघिको भूकम्पसहित चारपटक ढलिसकेको छ । धरहरा पटकपटक ढलेकाले पुरानो संरचना यथावत् रूपमा शिशाले छोपेर त्यससँगै २२ तलाको बनाउने प्राधिकरणको तयारी छ । यसअघिको धरहरा ९ तलाको थियो । नयाँ धरहरा बनाउन आधुनिक निर्माण सामग्रीको प्रयोग गरिने भएको छ । अब बन्ने धरहरामा लिफ्ट र भ¥याङसमेत राखिनेछ । धरहरा गुम्बज र गजुरसहित ७२ मिटर अग्लो बन्नेछ । भत्किएको धरहराको पूर्वपट्टि नयाँ धरहरा निर्माण गरिनेछ । यसअघि धरहरा बनाउन नेपाल टेलिकमलाई जिम्मेवारी दिइए पनि पछि हटेको थियो । टेलिकमले आफै नबनाए पनि रू. १ अर्ब सहयोग गर्ने प्रतिबद्धता गरिसकेकोे छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत ‘मेरो धरहरा मै बनाउँछु’ कार्यक्रमको धरहरा पुनर्निर्माण कोषमा रू. २४ करोड जम्मा भइसकेको छ ।
डीपीआरअनुसार नयाँ निर्माण हुने धरहरा ६९ दशमलव २ मिटर अग्लो हुनेछ । त्यसमाथि पनि १२ मिटरको गुम्बज निर्माण गरिनेछ । प्राधिकरणका सहसचिव राजुमान मानन्धरले धरहरा निर्माणका लागि सुन्धारास्थित हुलाक कार्यालय भत्काइने बताए । उनका अनुसार उक्त स्थानमा दुई तलाको बेसमेण्ट पार्किङ निर्माण हुनेछ । २२ तलाको धरहरामा २२ तलासम्म नै लिफ्ट जान्छ । धरहराको पुनर्निर्माण आगामी २ वर्षभित्र सम्पन्न भइसक्ने प्राधिकरणको दाबी छ ।
रानीपोखरी निर्माण अन्योलमै
मल्लकालीन संरचनामा जाने कि राणकालीन संरचनामा जाने भन्ने विषयमा अन्योल रहिरहँदा रानीपोखरी पुनर्निर्माण रोकिएको छ । पुरातत्त्व विभागले बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा निर्माण गरेको र निर्माणका क्रममा सिमेण्ट प्रयोग गरेको भन्दै विवाद भएपछि रानीपोखरीमा रहेको बालगोपालेश्वरको मन्दिर निर्माण रोकिएको थियो । यसअघि काठमाडौं महानगरपालिकाले मन्दिर निर्माण गर्दा मापदण्ड पूरा नगरेको भन्दै पुरातŒव विभागले निर्माण गर्न रोकेको थियो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनर्निर्माणमा प्राचीन शैली र ऐतिहासिक महत्त्व दिने बताए ।
रानीपोखरीको बालगोपालेश्वर मन्दिर मल्लकालीन शैली कि जङ्गबहादुर राणाको समयमा निर्माण भएको गुम्बज शैलीमा बनाउने भन्ने अन्योल जारी रहेका बेला प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले यसको टुङ्गो लगाउन केही पक्षमा स्पष्ट हुनुपर्ने धारणा आइतवार सरोकारवालापक्षसमक्ष राखेका थिए ।
१ सय वर्षअघिका सम्पदालाई कसरी प्रमाणित गर्ने, देखेको शैली अवलम्बन गर्ने कि त्योभन्दा अघिल्लोमा जानेलगायत पक्षमा स्पष्ट हुनुपर्ने भन्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले रानीपोखरीको पुनर्निर्माणबारे संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पुरातŒव विभाग र काठमाडौं महानगरपालिकासँग थप छलफल गरेर छिट्टै टुङ्गो लगाइने बताए ।
संस्कृतिविद् सुदर्शनराज तिवारीले मल्लकालीन शैली नेपाली शैलीको भएको र अहिलेसम्म फेला परेको प्रमाणमध्ये यो नै सबैभन्दा प्राचीन भएकाले यही शैलीमा जानुपर्ने तर्क गरे । सम्पदा बचाउ अभियानका पक्षहरूले यसैलाई जोड दिँदै आएका छन् । पुरातत्त्वविभागका केही पुरातत्त्वविद् भने मौलिकतालाई जोगाई अहिलेको पुस्ताले देखेको शैलीमा जानुपर्नेमा तर्क गर्दै आएका छन् ।











