भदौ १७, धरान (अस) । व्यवसायीहरूले बिल भरपाई हुँदा समेत प्रहरीले पक्राउ गर्ने र राजस्वमा बुझाउने गर्दै आएको सुनचाँदी व्यवसायीहरुले गुनासो गरेका छन् ।
नेपाल सुनचाँदी कला व्यवसायी सङ्घ सुनसरीको चौंथो वार्षिक साधारण सभाबाट अध्यक्षमा निर्वाचित भएका कृष्ण बहादुर विश्वकर्माले प्रहरीले पक्राउ गरी राजस्वमा बुझाएको १ तोला बराबरको सामान ३ तोलाको रकम धरौटी जम्मा गरेपछि मात्रै उकास्न पाइने व्यवस्थाले साना लगानीका व्यवसायी धरापमा परेको उनले बताए ।
साना व्यवसायीहरु धरापमा पार्ने व्यवस्था खारेज गरी इमान्दारपूर्वक व्यवसाय गरिरहेका व्यवसायीहरुको हक, हित र अघिकार प्राप्तिका निम्ति सङ्घले काम गर्ने अध्यक्ष विश्वकर्माले प्रतिवद्धता व्यक्त गरे । व्यवसायीहरुलाई कच्चा पदार्थको आपूर्तिलाई सहज बनाउने, सिण्डिकेट प्रथाको अन्त्य गर्ने र बिल भरपाई भएका गरगहना प्रहरीले पक्राउ गर्न नपाउने व्यवस्था कायम गराउन मुख्य भूमिका निर्वाह गर्ने बताए ।
प्रदेश नम्बर १ का उद्योग तथा वन मन्त्री जगदीश कुसियतको प्रमुख आतिथ्यतामा भएको साधारण सभाले विश्वकर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा दुर्गाबहादुर विश्वकर्मा, सचिव राजनकुमार विश्वकर्मा, सहसचिव प्रदीप गहतराज र कोषाध्यक्षमा रञ्जित विश्वकर्मा चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा रमेश कालिकोटे, पदम दर्नाल, सुनिल सापकोटा, रामचन्द्र शाह सुनार, विमल धमला र सन्तोष घिमिरे रहेका छन् ।











