भदौ १७, विराटनगर (अस) । साउन २७ गते विराटनगर महानगरपालिका भवनमा गराइएको बम बिस्फोटको घटनामा संलग्न जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीका तीनजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
बम विष्फोट गराएको अभियोगमा प्रहरीले सिरहा लक्ष्मीपुर परतार गाउँपालिका ३ का २० वर्षीय अभिमन्यु गिरी, मोरङको जहदा गाउँपालिका वडा नम्बर २ हरिनगराका ५३ वर्षीय मनोजकुमार सिंह र सिरहा नगरपालिका ५ सुखिपुरका २४ वर्षीय रामरिझन यादवलाई पक्राउ गरेको हो । पक्राउ गरिएका तीनै जनालाई मोरङ प्रहरीले आइतवार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ ।
मोरङ प्रहरीका एसपी मनोजकुमार केसीले जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीको योजनाअनुसार बम बिवष्फोट गराइएको अनुसन्धानको क्रममा खुलेको बताए । मोर्चाका विक्की भन्ने वीरेन्द्र यादवसमेतको सहभागितामा भारत विहार राज्यको दरभंगामा गएको जेठ महीनामा बनेको योजनाअनुसार महानगरपालिकामा बिष्फोट गराइएको उनले बताए । रिमोट कन्ट्रोलको सहायतामा बिष्फोट गराइएको थियो ।
सर्वसाधारणमा त्रास फैलाउन घटना गराएको अनुसन्धानमा खुलेको एसपी केसीले बताए । घटनाको दिन बम बिष्फोट गराउन मोरङको जहदाका मनोज सिंहले चलाएको मोटरसाइकलमा सिरहाका अभिमन्यु गिरीले बम बोकेर महानगरपालिका कार्यालय प्रवेश गरेको अनुसन्धानको क्रममा खुलेको छ । पूर्वनिर्धारित योजनाअनुसार मेयरको कार्यकक्ष छेउको प्यासेजमा बम राखिसकेपछि महानगरको मुल गेट बाहिर बसेका सिरहाका रामरिझन यादवले रिमोट थिचेर बम बिस्फोट गराएका थिए ।
घटनामा संलग्न मुख्य योजनाकार मोर्चाका कार्यकर्ता बिक्की भन्ने विरेन्द्र यादव अझै फरार छन् । घटनामा थप ब्यक्तिहरुको संलग्नता भए नभएको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।











