आर्थिक अभियान दैनिक आजदेखि १३ वर्ष पूरा गरी चौधौं वर्षमा प्रवेश गरेको छ । सकारात्मक दृष्टिकोणका साथ आमपाठकमा सही सूचना सम्प्रेषण गर्नुलाई हामीले आफ्नो प्रमुख दायित्व ठानेका छौं । एउटा जिम्मेवार र विश्वासिलो आर्थिक राष्ट्रिय दैनिक पत्रिकाका रूपमा हामीले प्रकाशित गर्दै आएका समाचार, दृष्टिकोण र विश्लेषणहरू हाम्रा सेवाग्राही वर्ग अर्थात् उद्योग–व्यवसाय, विभिन्न पेशाकर्मी र लगानीकर्ताको उन्नतिमा सहयोगी होऊन् भन्ने दृष्टिकोण हाम्रो छ । हामी यसका लागि पत्रकारिताका विश्वस्तरीय मापदण्डहरू पालना गर्छौं ।
२०४६ पछि नेपालले अवलम्बन गरेको खुलाबजार अर्थतन्त्रलाई टेवा पुर्याउन निजीक्षेत्रलाई प्रोत्साहन गर्दै तिनका समस्या राज्यको आधिकारिक निकायसम्म पुर्याउन १३ वर्षअगाडि साप्ताहिक पत्रिकामार्फत शुरू भएको हाम्रो प्रयास विगत ८ वर्षदेखि दैनिक पत्रिकाका रूपमा पनि जारी नै छ ।
यस अवधिमा मुलुकमा ठूला परिवर्तन भएका छन् । गतवर्ष तीनै चरणको निर्वाचन सम्पन्न भएसँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा आएको छ । ७ सय ५३ स्थानीय तह, ७ प्रदेश र सङ्घमा जननिर्वाचित सरकार गठन भएका छन् । विकास र समृद्धिको बाधकका रूपमा लिइएको नेपालको अस्थिर राजनीति र सरकार परिवर्तनको खेल निर्वाचनपछि रोकिने आशा छ । ५ वर्षका लागि स्थायी सरकार गठन भएकाले देशको नीति निर्माण र स्वदेशी विदेशी लगानीको वातावरण बनाई दिगो आर्थिक विकासको चरणमा देशलाई लैजानु आवश्यक छ । ‘सुखी नेपाली, समृद्ध नेपाल’बनाउने सरकारको अभियानमा आर्थिक अभियान दैनिकले पनि देशको विकास र आर्थिक उन्नतिका लागि सहयोग पुग्ने खालका सामग्री पाठकसामु ल्याउने अभियान जारी राख्नेछ । चौधौं वर्ष प्रवेशको यस अवसरमा हामी, हामीलाई प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग गर्नुहुने हाम्रा आदरणीय पाठक, लेखक, विज्ञापनदाता, व्यावसायिक सेवाप्रदायकहरूका साथै सबै शुभेच्छुकप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं । साथै, यस्तै सहयोग आगामी दिनहरूमा पनि पाइरहने विश्वास व्यक्त गर्दछौं ।

मदन लम्साल
अध्यक्ष, न्यू बिजनेश एज प्रालि












One Comment
basanta
आर्थिक अभियान दैनिक आजदेखि १३ वर्ष पूरा गरी चौधौं वर्षमा प्रवेश गरेको अवसरमा अभियान पत्रीकाले अझ उत्तरोत्तर प्रगति तथा उन्नतिको बाटोमा सफलता हासिल गर्न सकोस भनी कामना गर्दछु |