ठूला–साना आयोजना निर्माणका लागि अध्ययनपश्चात् कम्पनीहरूले अनुमतिपत्र लिएर काम शुरू गरिसकेका छन् । आयोजना निर्माणको रफ्तारलाई हेर्दा पाँचथर, ताप्लेजुङ र इलाम जिल्लाबाट मात्रै यो वर्षभित्र केन्द्रीय प्रसारणमा ८० मेगावाट विद्युत् थपिने पक्का छ ।
खविन लुइँटेल
प्रदेश नम्बर १ मा ऊर्जा उत्पादनका लागि प्रशस्त सम्भावना देखिन्छ । विद्युत् विकास विभागका अनुसार गत जेठसम्ममा यो प्रदेशमा मात्रै १ सय २३ दशमलव ५ मेगावाट क्षमताको विद्युत् उत्पादन भइरहेको पाइन्छ । प्रदेशमा अहिले ७ सय ६५ दशमलव ४ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणाधीन छन् ।
प्रदेश नं. १ मा रहेका कञ्चनजङ्घा तथा कुम्भकर्ण जस्ता हिमालबाट आउने पानी जलविद्युत् उत्पादनका लागि महत्वपूर्ण स्रोत हुन् । देशको कुल माग धान्न सक्ने गरी ऊर्जा उत्पादनको सम्भावना रहेको यस क्षेत्रका खोलानालाबाट विद्युत् उत्पादन गर्न दर्जनभन्दा बढी कम्पनीले आयोजना निर्माण गरिरहेका छन् ।
इलाम र पाँचथरमा हाल ५९ दशमलव ९ मेगावाट क्षमताको विद्युत् उत्पादन भएर केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । अध्ययन सम्पन्न भएको ७ सय ६२ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजना समेतलाई जोड्दा मेचीका इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा गरी कुल १ हजार ४ सय ५५ मेगावाट क्षमताको विद्युत् उत्पादन हुने सम्भावना छ ।
तमोर जलाशययुक्त आयोजनालाई छोड्ने हो भने पनि ६ सय ९३ मेगावाट विद्युत् क्षमताको विद्युत् निकाल्ने गरी ठूला-साना आयोजना निर्माणका लागि अध्ययनपश्चात् कम्पनीहरूले अनुमतिपत्र लिएर काम शुरू गरिसकेका छन् । जसमध्ये केही निर्माणको अन्तिम चरणमा पुगेका छन् भने केहीले परीक्षण प्रसारण शुरू गरेका छन् ।
आयोजना निर्माणको रफ्तारलाई हेर्दा पाँचथर, ताप्लेजुङ र इलाम जिल्लाबाट मात्रै यो वर्षभित्र केन्द्रीय प्रसारणमा ८० मेगावाट विद्युत् थपिने पक्का छ । निर्माणाधीनमध्ये पाँचथरका भारपा र याङनामको सीमावर्ती हेवा खोलामा निर्मित हेवा एले उत्पादन शुरू गरिसकेको छ भने इवाखोला जलविद्युत् आयोजना, काबेली बी वान, तल्लो हेवालगायतका केही आयोजना अन्तिम चरणमा पुगिसकेका छन् । यस क्षेत्रका आयोजनाको उत्पादन केन्द्रीय प्रसारण लाइनमा जोड्न काबेली कोरिडोरको काम पनि अन्तिम चरणमा पुगेको कोरिडोरका प्रमखु दीपेन्द्रराज द्विवेदीले बताए ।
पाँचथरका काबेली बी वान (२५ मेवा), इवाखोला जलविद्युत् (९ दशमलव ९ मेवा), तल्लो हेवा (२१ दशमलव ६ मेवा) लगायतका आयोजना यसै वर्षदेखि केन्द्रीय प्रसारणलाइनमा जोडिँदै छन् । यी तीनओटा आयोजना गरी पाँचथरबाट मात्रै यो वर्ष ६० मेगावाट विद्युत् उत्पादन शुरू भएर केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ ।
यसैगरी इलामबाट १३ र ताप्लेजुङ उत्पादन हुने ५ सहित थप १३ मेगावाटलाई जोड्दा मेची अञ्चलबाट मात्रै यो वर्ष ८० मेगावाट क्षमताको विजुली केन्द्रीय प्रसारणलाइनमा जोडिन लागेको काबेली कोरिडोरका आयोजना प्रमुख दीपेन्द्र द्विवेदी बताउँछन् । निर्माणको अन्तिम चरणमा पुग्नेमध्ये ५ मेगावाट क्षमताकोे फावाखोला (ताप्लेजुङ) सहित इलामकोे तल्लो पुवा (५ मेगावाट) र हिमाल दोलखा ८ मेगावाट सञ्चालन भई यी आयोजना व्यावसायिक उत्पादनको चरणमा प्रवेश गरिसकेका छन् ।
इलामको पुवाखोलामा मात्रै ३ आयोजना छन् । विद्युत् प्राधिकरणको ६ दशमलव २ र निजी लगानीको ३ मेगावाटको पुवाखोला ‘बी’ सञ्चालनमा छन् । माईखोलामा अपरमाई ९ दशमलव ६ मेगावाट, अपरमाई ‘सी’ ६ मेगावाट, जोगमाई ७ मेगावाट पनि सञ्चालनमा छन् ।
पाँचथरमा पनि विद्युत् उत्पादन तीव्र रूपमा भइरहेको छ । जिल्लाकै काबेली नदीमा ३६ दशमलव ६ मेगावाट क्षमताको काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको काम अगाडि बढेको छ । विश्व बैङ्कको ऋण लगानीमा आयोजना निर्माण हुन लागेको हो । हाल काम शुरू भएका र प्रसारणमा रहेका आयोजनाबाट २ वर्षभित्र पाँचथरबाट थप ५६ दशमलव ६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।
ताप्लेजुङमा ४ सय ९१ दशमलव ६ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने गरी नेपाल विद्युत् प्राधिकरणसहित विभिन्न कम्पनीले लाइसेन्स लिएर पीपीए गर्ने लगायतका काम सकिएका छन् ।
ठूलो सम्भावना तमोर जलाशय
ठूला-साना खोलामा आयोजनाको काम अगाडि बढिरहेका बेला अध्ययन सकिएको तमोर जलाशययुक्त आयोजना अगाडि बढाउन यस क्षेत्रका सरोकारवालाले पहल गर्न थालेका छन् । पाँचथरको स्याबु्रम्बा र तेह्रथुमको ओख्रे गाविसलाई सिमाना छुट्याएर बगेको तमोर नदीमा नेपाल विद्युत् प्राधिकरणले अध्ययन गरेको यो आयोजना निर्माण हुनसके ७ सय ६२ मेगावाट विद्युत् निस्कने देखाइएको छ । जुन आयोजना सञ्चालन हुनसके वार्षिक ३ अर्ब ३३ युनिट विद्युत् उत्पादन हुने अध्ययन प्रतिवेदनमा देखाइएको छ ।
यो आयोजना सञ्चालनमा ल्याइए प्रदेश नम्बर १ का प्रत्येक घरमा विद्युत् आपूर्ति गर्नुका साथै मुलुकको ऊर्जा सङ्कट न्यूनीकरणमा टेवा पुग्ने भन्दै सरोकारवालाले पूर्वसांसद तथा ऊर्जाविज्ञ बसन्तकुमार नेम्वाङको संयोजकत्वमा ‘तमोर जलाशययुक्त आयोजना सरोकार समिति’ गठन गरेका छन् । समितिले यसअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेर आयोजना अगाडि बढाउन आग्रह गरेका थिए । मेची पहाडमा प्रस्ताव गरिएका, सञ्चालन भइरहेका आयोजनालाई मात्रै तीव्र गतिमा निर्माण गर्न सक्ने हो भने आयोजनाबाट स्थानीय सरकारलाई पुग्दो राजस्व आउने सरोकारवाला बताउँछन् ।
प्रदेश १ का जलविद्युत् आयोजनाहरू :
पाँचथर
इलाम
ताप्लेजुङ