
अर्जुन कार्की
बागलुङ
गण्डकी प्रदेशमा बन्दै गरेका दुई नयाँ शहर परियोजनाको काम सुस्त गतिमा अगाडि बढेका छन् । नेपाल सरकारले मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने तनहुँको डुम्रे र बागलुङको बुर्तिबाङमा नयाँ शहर बनाउने निर्णय गरेको ८ वर्ष बितिसक्यो तापनि काम भने कछुवा गतिमा अगाडि बढेको छ । लोकमार्गमा आधुनिक शहर निर्माण गर्न भन्दै सरकारले आव २०६७÷६८ मा नयाँ शहर आयोजना समन्वय कार्यालयको स्थापना गरी १५ वर्षभित्र मध्यपहाडी लोकमार्गमा १२ ओटा नयाँ शहर बनाउने निर्णय गरेको थियो ।
समन्वय कार्यालयले सम्बन्धित स्थानमा नगर विकास समिति गठन गरेर काम गर्ने अनुमति प्रदान गरेको थियो । नगर विकास समितिमार्फत काम सुस्त भएको नयाँ शहर अयोजना समन्वय कार्यालयका कामु निर्देशक पराग कायस्थले बताए । उनले सरकारबाट प्राप्त मात्रामा बजेट विनियोजित नहुँदा नयाँ शहर परियोजनाले सोचेअनुरूप गति लिन नसकेको बताए ।
बुर्तिबाङमा भन्दा डुम्रेमा बढी काम
मध्यपहाडी लोकमार्गअन्तर्गत नयाँ शहर परियोजनामा गण्डकी प्रदेशअन्तर्गत पर्ने बागलुङको बुर्तिबाङमा भन्दा तनहुँको डुम्रेमा बढी काम भएको छ । तनहुँको डुम्रेमा ५ किलोमिटर सडक कालोपत्रे, ५ किलोमिटर ग्राबेल सडकको स्तरोन्नति र १ सय ६० ओटा सौर्यबत्ती जडान गरिएको छ भने ढल व्यवस्थापन, एउटा पार्क र एकीकृत सरकारी भवन निर्माणको काम भइरहेको डुम्रे भन्सार नयाँ शहर आयोजनाका इञ्जिनीयर पूजन न्यौपानेले बताए । उनले निर्माणाधीन अवस्थामा रहेका पूर्वाधारको काम अगाडि बढाइने र यस वर्षदेखि बसपार्क निर्माण तथा दुईओटा पार्क निर्माणको काम अगाडि बढाइने बताए । २ करोड ५० लाख रुपैयाँ मुआब्जामा ९ रोपनी जग्गा लिएर सरकारी भवन निर्माण गरिरहेको छ । निर्माणाधीन अवस्थामा रहेका पूर्वधारहरूको साथै यस वर्षदेखि बसपार्क र दुईओटा पार्क निर्माण गर्ने योजना रहेको आयोजनाका इञ्जिनीयर न्यौपानेले जानकारी दिए ।
यस्तै, बागलुङको बुर्तिबाङमा बजारको डीपीआर तयार, ढल व्यवस्थापनको काम र बसपार्कका लागि जग्गा व्यवस्थापन र सौर्यबत्तीको टेण्डरको काम सम्पन्न भएको छ । २०७२ सालदेखि काम शुरुआत गरिएको बुर्तिबाङमा यस वर्षदेखि सडक कालोपत्रे, सौर्यबत्ती जडान, सडकको स्तरोन्नति, बसपार्क निर्माणको काम अगाडि बढाउने योजना बनाएको बुर्तिबाङ महाशहर आयोजना कार्यालय प्रमुख प्रवीणप्रताप अधिकारीले जानकारी दिए ।
काम सुस्त हुनुमा बजेटको कमी : निर्माण समिति
सरकारले आवश्यक मात्रामा रकम उपलब्ध नगराएका कारण शहर निर्माणले गति लिन नसकेको आयोजनाका कामु निर्देशक कायस्थले बताए । सरकारले हालसम्म आधुनिक शहर निर्माणका लागि ७ अर्ब रकम विनियोजित गरिसकेको छ । आधुनिक शहरका लागि चालू आवमा सरकारले मध्यमहाडी लोकमार्गका १२ र तराईको हुलाकी राजमार्ग र भित्री मधेशका १५ नयाँ शहर गरेर २७ नयाँ शहरलाई मात्र २ अर्ब विनियोजित गरेको कामु निर्देशक कायस्थले बताए । ‘अब प्रत्येक आयोजनामा १२ देखि १५ करोडसम्म जानसक्छ,’ उनले भने, ‘प्रत्येक शहरका लागि कम्तीमा २५ करोड छुुट्याउनुपर्छ तर बजेट थोरै हुनाले काम थोरै भएको छ ।’
उनका अनुसार बजेट कम विनियोजित हुँदा १५ वर्षमा सम्पन्न गर्न योजना राखिएका नयाँ शहरको काम निर्धारित समयमा सम्पन्न गर्न सकिँदैन । ‘२०७० सालदेखि काम शुरू गरिएको डुम्रेमा आर्व २०७४÷७५ मा २६ करोड खर्च भएको छ,’ आयोजनाका इञ्जिनीयर न्यौपानेले भने, ‘हामीलाई चालू आवमा जम्मा २० करोड विनियोजित भएर आएको छ तर काम गर्नका लागि ४० करोड चाहिन्छ, यो रकमले सोचेजस्तो काम हुँदैन ।’
बुर्तिबाङ महाशहर आयोजना कार्यालयका प्रमुख अधिकारीले हालसम्म कागजपत्रको झन्झटले काम गर्न गाह्रो भएको बताउँदै विभागको काम सम्पन्न भइसकेको र यस वर्षदेखि आयोजनाले गति लिने बताए । उनका अनुसार सरकारबाट प्राप्त बजेट आएमा निर्धारित समयमा काम सम्पन्न गरिने बताए । बुर्तिबाङमा अहिलेसम्म १६ करोड रुपैयाँ खर्च भएको छ ।
जनप्रतिनिधिसँग समन्वय गरेर काम
स्थानीय तहमा जनप्रतिनिधि आएपछि अहिले आफूलाई स्थानीय तहमा छलफल गर्न र काम गर्न सजिलो भएको डुम्रेका इञ्जिनीयर न्यौपानेले बताए । नयाँ शहर अयोजना समन्वय कार्यालयका कामु निर्देशक कायस्थले भने स्थानीय तहका जनप्रतिनिधि र नयाँ शहरका समितिबीच राम्रो समन्वयको अभावले काम सुस्त गतिमा अगाडि बढेको अनुमान लगाएका छन् । कायस्थले शहरका समितिमा राजनीतिक नियुक्ति भएको र स्थानीय तहमा नयाँ जनप्रतिनिधि पनि राजनीतिक पार्टीबाटै आएको हुँदा दुवै पक्षको राम्रो समन्वयको कमी देखिएको बताए ।
काम नगर्ने बुर्तिबाङका तीन ठेकेदार कालोसूचीमा
टेण्डर प्राप्त गरेर काम नगरेको भन्दै बुर्तिबाङ नयाँ शहर परियोजनाका तीन ठेकेदारलाई कालोसूचीमा राख्दै ठेक्का रद्द गरिएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गतको खप्तरीबाङ हुँदै निसीभुजी जनता क्याम्पससम्मको सडक स्तरोन्नतिमा २० लाख, बुर्तिबाङ वरपीपल हुँदै नयाँ बस्तीसम्मको ढल निकासमा १ करोड र बुर्तिबाङ उपल्लो बजार हुँदै बस पार्कसम्मको सडक स्तरोन्नतिका लागि १ करोडको ठेक्का प्राप्त गरेको धुलिखेल आत्रियादेया देवीलाई पटकपटक काम गर्न अनुरोध गर्दा पनि काम नगरेका कारण ठेक्का रद्द गरेको कामु निर्देशक कायस्थले जानकारी दिए । अब उक्त सडक निर्माणका लागि टेण्डर प्रक्रियाबाट नयाँ कम्पनीलाई ठेक्का दिइनेछ ।
यस्तो हुनेछ आधुनिक शहर ?
शहर विकास गर्नुभन्दा पहिले आवश्यक विभिन्न ११ क्षेत्र तोकेर काम अगाडि बढाइएको छ । शहर निर्माण हुने क्षेत्रमा बसपार्क, सडक निर्माण तथा स्तरोन्नति, एकीकृत सरकारी अवधारणाअनुसार कार्यालय भवन, तरकारी बजार तथा सङ्कलन केन्द्र निर्माण गरिनेछ । यस्तै, सार्वजनिक पार्क निर्माण, शहरी सेवा केन्द्र, खानेपानी, रिङरोड, सरकारी जग्गा संरक्षण, जग्गा एकीकरण आयोजना, ब्लक योजनाअनुसार बाटो खोल्ने कार्य र ढल निर्माण रहेका छन् । मध्यपहाडी लोकमार्ग र उत्तर–दक्षिण सहायक मार्गको मिलनबिन्दु वा यसको झण्डै ३ किलोमिटर आसपासका बस्तीलाई समेटेर यो शहर निर्माण हुनेछ । २०९० सालसम्ममा सबै स्थानमा शहर निर्माण गरिसक्ने गरी कार्यालयले समयावधि पाएको छ । ८ वर्ष बित्दा जग्गा अधिग्रहण कार्य र ढल निर्माणको मात्र काम गरेको कार्यालयले यही गतिमा काम अगाडि बढाए अबको १५ वर्षमा सबै संरचना निर्माण सम्भव होला भन्नेमा भने आशङ्का उब्जिएको छ ।