आरबीआईले एक दशकमा पहिलो पल्ट किन्यो सुन

भदौ १८, मुम्बई (भारत) । भारतीय केन्द्रीय बैङ्क ‘रिजर्भ बैङ्क अफ इण्डिया’ (आरबीआई)ले करीब एक दशकमा पहिलो पटक सुन किनेको छ । विश्वभर विस्तारै प्रमुख ब्याजदर बढेसँगै स्थिर आय भएका ऋणपत्रको पूँजीगत मूल्य र प्रतिफल घटिरहेको अवस्था छ । यस्तोमा आरबीआईले सुन किन्नुलाई भविष्यमा बहुमूल्य धातुको माग बढ्ने सङ्केतका रुपमा हेर्न थालिएको छ । जुनमा सकिएको आवमा २०१७/१८ मा आरबीआईले ८ दशमलव ४६ मेट्रिक टन सुन किनेको छ । यो सँगै बैङ्कको सुन सञ्चिति बढेर ५ सय ६६ दशमलव २३ मेट्रिक टनमा पुगेको छ । यसअघि बैङ्कले सन् २००९ को नोभेम्बरमा अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग २ सय मेट्रिक टन सुन किनेको थियो । विगत ९ वर्षमा भने आरबीआईको सुन सञ्चिति स्थिर रहेको थियो । तर सन् २०१७ को डिसेम्बरदेखि आरबीआईले सुन किन्न थालेको हो । जुन ३० सम्ममा बैङ्कको सुन सञ्चिति १ करोड ८२ लाख ट्रोय औंस अर्थात् ५ सय ६६ दशमलव २३ मेट्रिक टन बराबर रहेको छ । ‘पिपुल्स बैङ्क अफ चाइना’ (पीबीओसी) लगायत केन्द्रीय बैङ्कले जस्तै आरबीआईले नियमित रुपमा सुन किन्ने गरेको छैन । त्यसैले पनि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ । आरबीआईले अप्रिलदेखि जुनको बीचमा १० अर्ब डलर मूल्य बराबरको अमेरिकी ट्रेजरी बिल बेचेको अमेरिकाको अर्थमन्त्रालयको तथ्याङ्कले देखाएको छ । शेयर बजारमा आउन सक्ने उतारचढाव, अमेरिकामा बढ्दो ब्याजदर लगायतका विश्वव्यापी जोखिमलाई ध्यानमा राखेर बैङ्कले सेफ हेभन एसेटमा लगानी बढाएको हुन सक्ने विश्लेषण गरिएको छ । एजेन्सी