वित्तीय प्रविधिको प्रयोग अब सम्बन्धित वित्तीय क्षेत्रका लागि मात्र नभई आम व्यक्तिका लागि समेत अपरिहार्य भइसकेको छ । प्रविधिमा हुँदै आएको तीव्र विकासले कुनै बेला निश्चित वर्गका मानिसका लागि शोखको रूपमा रहेको वित्तीय प्रविधि आजभोलि कतिपय परिस्थितिमा सबैको दैनन्दिनी बाध्यता नै हुन पुगेको छ ।
एकातिर सबैको अवश्यकता पूर्तिका लागि वित्तीय प्रविधि अपरिहार्य हुँदै गएको छ भने अर्कोतिर वित्तीय पहुँच विस्तारका लागि पनि यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।
डिजिटल वित्तीय प्रविधिले आम रूपमा सर्वसाधारणलाई कसरी वित्तीय पहुँचको दायरामा समेट्न सक्छ भन्ने कुराको ज्वलन्त उदाहरण दिनु पर्दा सबैभन्दा पहिले केन्याको ‘मोबाइल मनि’लाई जो कोहीले पनि सम्झन्छ । सन् २००७ मा त्यहाँको एउटा दूरसञ्चार कम्पनीले विकास गरेको यो प्रविधि अफ्रिकामा मात्र नभई अन्यत्रसमेत डिजिटल वित्तीय प्रविधिको क्षेत्रमा कोसेढुङ्गा नै सावित हुन पुग्यो । यसले बैङ्कहरूको कार्यप्रणालीलाई मात्र होइन, आम उपभोक्ताको वित्तीय प्रवृत्ति माथि क्रान्ति मात्र ल्याएन, तल्लो वर्गका व्यक्तिहरूको वित्तीय पहुँचलाई समेत सहजै विस्तार गरिदियो ।
त्यसयता विश्वका धेरै मुलुकमा वित्तीय प्रविधिमा तीव्रतर रूपमा लगानी बढ्दै गएको बताइन्छ । ‘केपीएमजी’ले हालै सार्वजनिक गरेको एक तथ्याङ्कअनुसार विगतका ३ वर्षमा वित्तीय प्रविधिमा भएको विश्व लगानीको रकम करीब सवा खर्ब डलरभन्दा पनि बढिरहेको छ ।
एकातिर वित्तीय प्रविधिमा यसरी अत्यधिक लगानी भइरहेको देखिन्छ भने अर्कातिर अझै पनि नेपालजस्ता गरीब मुलुकका विश्वका करीब १ अर्ब ७० करोडको हाराहारीमा मानिस बैङ्किङ पहुचभन्दा बाहिर नै छन् । विस्तारै यस्ता देशमा पनि मोबाइल फोनको अनियन्त्रित विस्तारसँगै विकसित भएको वित्तीय प्रविधिले उनीहरूलाई अप्रत्यक्ष रूपमा भए पनि बैङ्किङ पहुँच कायम गराउन मद्दत गरेको छ । मोबाइल सेवाप्रदायकहरूको अन्तरराष्ट्रिय स्तरको छाता सङ्गठन ‘जीएसएम एशोसिएशन’ (जीएसएमए)ले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२५ सम्ममा विश्वका ७१ प्रतिशत जनसङ्ख्याको हातमा मोबाइल पुगिसक्नेछ । विशेष गरी भारत, पाकिस्तान, नेपाल, बङ्गलादेश, चीन, इण्डोनेशियाजस्ता मुलुकमा तीव्ररूपमा तथा दक्षिण अमेरिकी एवम् अफ्रिकी मुलुकहरूमा ढिलो तर स्थिर रूपमा भइरहेको मोबाइलधारीहरूको सङ्ख्यात्मक वृद्धिले विश्वव्यापी रूपमा वित्तीय पहँुचको सीमा व्यापक रूपमा फराकिलो हुने निश्चित छ ।
फेरि केन्याकै उदाहरण लिने हो भने मोबाइल धारण गर्ने करीब २ करोड ८० लाख जनसङ्ख्यामध्ये २ करोड ३० लाखजति मानिस त्यहाँको लोकप्रिय ‘मोबाइल मनि’ प्रविधि ‘एमपेसा’ प्रयोग गरी विभिन्न खाले विद्युतीय भुक्तानी गर्न अभ्यस्त भइसकेका रहेछन् । स्थापना भएको ४ वर्षमै यो प्रविधि केन्याको ८० प्रतिशत परिवारमा स्थापित भइसकेको सुनौलो उदाहरणले पनि वित्तीय प्रविधिले वित्तीय पहुँचका लागि यथेष्ट योगदान दिने कुरामा हामीलाई झन् ढुक्क बनाउँछ ।
विश्वव्यापी रूपमा हेर्ने हो भने पनि सन् २०१४ देखि २०१७ को अवधिमा करीब ५१ करोडको हाराहारीमा बैङ्क तथा मोबाइल खाताहरू खोलिएको कुरा विश्व बैङ्कको २०१७ को वित्तीय सूचकाङ्कले देखाएको छ । यो तथ्याङ्कलाई सन् २०१४ को तथ्याङ्कसँग तुलना गर्ने हो भने यो वृद्धि झण्डै दोब्बर हुन आउँछ । वित्तीय प्रविधिले वित्तीय पहुँचलाई कसरी तीव्र बनाउन मद्दत गर्दो रहेछ भन्ने यो अर्को उदाहरण हो ।
वित्तीय पहुँचको कुरा गर्दा निष्क्रिय खाताहरूका बारेमा चर्चा गरेन भने त्यो सधैं अधुरो नै रहन्छ । र, खाता निष्क्रिय रहनुमा वित्तीय चेतना र शिक्षाको स्तरले निकै नै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।
वित्तीय पहुँच केन्द्रको अनुसन्धानले देखाएअनुसार मोबाइल मनिजस्ता वित्तीय प्रविधि प्रयोग गर्ने प्रयोजनका लागि खोलिएका खातामध्ये करी आधाजसो खाता ३/४ वर्षदेखि नै निष्क्रिय रहने गरेका छन् ।
अनुसन्धानअनुसार भारतकै कुरा गर्ने हो भने पनि सम्पूर्ण बैङ्क खाताको ३० देखि ४० प्रतिशत (३० करोडजति) खाता निष्क्रिय नै रहेको पाइन्छ । चीनमा पनि यो सङ्ख्या १० करोडको हाराहारीमा रहेको छ । नेपालकै कुरा गर्ने हो भने पनि सम्पूर्ण बैङ्क खाताको आधाजति खाता नियमित सञ्चालनमा नरहेको पाइएको छ ।
माथि दर्शाइएका विभिन्न देशका उदाहरणले वित्तीय सचेतनाविना वित्तीय प्रविधि र बैङ्किङ बानीप्रति जनतालाई अग्रसर गराउन नसकिने रहेछ भन्ने देखाउँछ । त्यसैले वित्तीय सहभागिताको पहिलो शर्त वित्तीय सचेतना र साक्षरता नै हो भन्ने पुष्टि हुन्छ । वित्तीय प्रविधिको व्यापक विकासले वित्तीय साक्षरताका लागि धेरै नै योगदान दिने कुरामा भने कुनै शङ्का छैन ।
वित्तीय पहुँचको कुरा गर्दा अर्को चुनौती भनेको पहिचानको चुनौती पनि हो । अहिले पनि विश्वका १ अर्बभन्दा बढी मानिससँग आप्mनो परिचय गराउने उपाय नै छैन । यसको कारण बैङ्क खाता खोल्नेलगायत अन्य कतिपय आधारभूत विषयमा समेत उनीहरूको पहुँच स्थापित हुन सकेको छैन ।
वित्तीय प्रविधिले यो समस्यालाई पनि केही हदसम्म समाधान गर्न सक्छ । भारतको ‘आधारकार्ड’लाई वित्तीय पहुँचको समस्या समाधान गर्ने एक साधनका रूपमा लिन सकिन्छ । तर, केन्या, युगाण्डा, सोमालियाजस्ता देशमा भने त्यहाँको सरकारले भन्दा पनि दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूले विकास गरेका वित्तीय प्रविधिले त्यहाँका जनतालाई आप्mनो पहिचान स्थापित गर्न मद्दत गरेको पाइन्छ ।
हुन पनि बैङ्कले भन्दा दूरसञ्चार कम्पनीहरूले आफ्नो ग्राहकको पहिचान (केवाईसी) यथेष्ट मात्रामा सङ्कलन गर्न सक्छन् । मोबाइल मनिमार्पmत मात्र होइन कि आधारभूत दूरसञ्चार सेवाका माध्यमबाट पनि आफ्नो ग्राहकको सबै गन्तव्य र क्रियाकलाप यस्ता कम्पनीले सहजै प्राप्त गर्न सक्छन् । यसले वित्तीय अपराधलाई नियन्त्रण गर्नसमेत भरपुर योगदान दिने हुन्छ । यस अर्थमा भन्न सकिन्छ कि परम्परागत बैङ्किङभन्दा वित्तीय प्रविधियुक्त आधुनिक बैङ्किङले वित्तीय पहुँच बढाउनु साथै वित्तीय अपराध नियन्त्रण गर्नसमेत उल्लेख्य सघाउ पुर्याउँछ ।
भारतमै करीब १७ करोड डलर लगानी गरिएको ‘पेटीएम’ दिनदिनै लोकप्रिय हुँदै छ र यसले ट्याक्सी ड्राइभरदेखि किराना पसल चलाउनेसम्मकाहरूलाई बैङ्किङ पहुँचभित्र आबद्ध गरेको छ । नेपालमा पनि अहिले विस्तारै विकास हुँदै गरेका ईकमर्श कम्पनीहरू तथा डिजिटल मोबाइल बैङ्किङ कारोबार गर्ने कम्पनीहरूमार्फत उल्लेख्य मात्रामा जनता वित्तीय सेवासँग पहुँच स्थापित गर्न सक्षम भएका छन् ।
करीब ३ महीना अगाडिको तथ्याङ्क हेर्ने हो भने समग्र विश्वमा औसत ३० प्रतिशत जनता मात्र वित्तीय पहुँचभन्दा बाहिर रहेका छन् । तर, यसको ठीक उल्टो एशिया महादेशका ६ अर्बको हाराहारीमा रहेकामध्ये ३० प्रतिशत जनसङ्ख्याले मात्र वितीय सेवाको पहुँच पाएका छन् । यस्तो अवस्थामा आगामी दिनमा विकसित हुँदै जाने वित्तीय प्रविधिले यस क्षेत्रका जनतालाई पनि डिजिटल बैङ्किङमार्फत आम रूपमा वित्तीय पहुँचको दायरामा समेट्ने विश्वास गर्न सकिन्छ ।
लेखक बैङ्कर हुन् ।
One Comment
Pingback: बैङ्किङ पहुँचका लागि वित्तीय प्रविधि – Prakash Bhandari Tells….