शैक्षिक योग्यता र कार्यअनुभव मात्र सबथोक होइन । धेरैले शैक्षिक योग्यता र अनुभवको आधारमा राम्रो रोजगारी खोजी गर्छन् र पाउँछन् पनि । तर, समय परिवर्तनशील छ र प्रविधि र कार्यशैली पनि दिनप्रतिदिन बदलिँदो छ । त्यसैले, आफूलाई समय र परिवेशअनुरूप आफूलाई दक्ष र परिपक्व बनाउँदै लानु उत्तिकै आवश्यक छ । आफ्नो योग्यता वा अनुभवअनुरूपको रोजगारी पाउन आफूलाई पनि उत्तिकै दक्ष बनाउनु आवश्यक छ । शैक्षिक योग्यता, अनुभव र दक्ष भएपछि पनि अहिलेको युगमा रोजगारी पाउन कठिन छ । त्यसैले, योग्य, अनुभवी र दक्ष बन्ने केही काइदा यहाँ प्रस्तुत गरिएको छ :
- आफ्नो कामलाई माया गर्नुहोस् । यसो गर्दा जीवन सुखी र सहज हुन्छ ।
- गरेको काम आफूलाई मन परेको छैन भने पनि त्यो काम गर्नुपर्नाको कारणलाई सम्मान गर्नुस् । यसले उपलब्ध गराउने आर्थिक सहयोगले तपाईंको परिवार धानिरहेको हुन्छ । कम्तीमा परिवारको सुखका लागि भए पनि त्यसमा सन्तोष मान्नुस् । कामविहीन भएर बसिरहनुले मानसिक समस्या निम्त्याउन सक्छ ।
- सानो कामबाट करियर सुरु गर्नुपर्दा नहिचकिचाउनुस् । त्यसलाई ठूलो आफ्नै परिश्रमले ठूलो बनाउने प्रयास गर्नुहोस् ।
- कामको शुरुआत सजिलोबाट गर्नुहोस् । यसो गर्दा विस्तारै गाह्रो काम सिक्ने समय मिल्छ ।
- एउटै कामलाई कहिलेसम्म निरन्तरता दिने र कहिले छोड्ने भन्ने निर्णय गर्नु सबैभन्दा गाह्रो पक्ष हो । यसबारे कसैले तपाईंलाई सिकाउन सक्दैन । त्यसैले, उपयुक्त समय छनोटको जिम्मेवारी तपाईंको आफ्नै हो ।
- कोही एक्लै सफल हुँदैनन् । सहयोग माग्न अप्ठ्यारो नमान्नुस् । सहयोग मिल्दा कृतज्ञ हुनुहोस् ।
- सङ्गत सधैं राम्रो मानिसको गर्नुहोस् । राम्रो सङ्गतले काममा पनि राम्रै नतीजा दिन्छ ।
- सबैको क्षमताको सम्मान गर्नुहोस् । यसो गर्दा एकको कमजोरीलाई अर्कोको सबल पक्षमार्फत मिलाउन सकिन्छ ।
- हरेक व्यक्तिको सोचाइ फरक हुन्छ । सृजनशील सोचाइलाई कम्पनीको समग्र फाइदाका लागि प्रयोग गर्न सक्नुपर्छ ।