भदौ २१, काठमाडौं । बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भूटानमाथि शानदार जित हात पारेको छ । ढाकास्थित बङ्गबन्धु रङ्गशालामा बिहीवार सम्पन्न खेलमा नेपालले भूटानलाई ४–० गोलले पराजित गरेको हो ।
नेपालले खेलको २१औँ मिनेटमा अनन्त तामाङको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा १–० को अग्रता बनाएको नेपालका लागि ७०औँ मिनेटमा सुनिल बलले दोस्रो गोल गरे । भुटानी खेलाडी निमा वाङ्दीले निराजन खड्कालाई डि एरियामा फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । विमल घर्तीमगरले पेनाल्टी सदुपयोग गर्न नसके पनि रिवाउण्डमा आएको बललाई सुनील बलले गोलमा परिणत गरेका थिए ।
त्यसपछि खेलको ७७औँ मिनेटमा भरत खवासले उत्कृष्ट गोल गरे । भुटानलाई लगातार दबाबमा राखेको नेपालले ८८औँ मिनेटमा निराजन खड्काको गोलसँगै ४–० को जित हात पा¥यो । जितसँगै नेपालले महत्वपूर्ण तीन अङ्क जोडेको छ ।
जितसँगै नेपालको सेमिफाइल पुग्ने सम्भावना बढेको छ । हारसँगै भूटान प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि नेपाल पहिलो खेलमा मङ्गलवार पाकिस्तानसँग २–१ ले पराजित भएको थियो । नेपालले अब समूहको अन्तिम खेल आयोजक बङ्गलादेशसँग शनिवार खेल्नेछ । रासस




