भदौ २१, न्यूयोर्क (अमेरिका) । सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिक यूएस ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् । दुई पटक युएस ओपन जितिसकेका जोकोभिकले विश्व वरियतामा ५५औं स्थानमा रहेका अष्ट्रेलियाली खेलाडी जोन मिल्म्यानलाई पराजित गरेर सेमिफाइनलमा पुगेका हुन् ।
नोभाकले मिल्म्यानलाई ६–३, ६–४, ६–४ को सोझो सेटमा पराजित गरेका थिए । तेह्रओटा ग्राण्डस्लाम जितिसकेका नोभाकले विगत ५४ हप्तादेखि कुनै पनि महत्वपूर्ण प्रतियोगिता जितेका छैनन् । यसअघि नोभाकले युएस ओपनको उपाधि सन् २०११ र २०१५ मा जितेका थिए ।
मिल्म्यानले पाँच पटकका युएस ओपन च्याम्पियन रोजर फेडररलाई पराजित गरेर चर्चामा आएका थिए । सेमिफाइनलमा उनले प्रतिस्पर्धा जापानी खेलाडी केई निशिकोरीसँग हुनेछ ।
केई विश्व वरियतामा २१ औं स्थानमा रहेका छन् । उनले मारिन सिलिकलाई २–६, ६–४, ७–६, ४–६, ६–४ को सेटमा पराजित गरी सेमिफाइनलमा प्रवेश गरेका हुन् । रासस/एएफपी




