- क्रप इयर २०१८/१९ मा भारतमा ३ करोड ५० लाख टन चिनी उत्पादन हुनेछ ।
- ब्राजिलको उत्पादन करीब ८० लाख टन घटेर २ करोड ८० लाख टनमा आउने अनुमान छ ।
- बढी उब्रिएको चिनी के गर्ने भन्ने चिन्ता भारतसामु छ ।
भदौ २१, नयाँ दिल्ली (भारत) । भारत विश्वकै सर्वाधिक चिनी उत्पादक देश बन्दै छ । ब्राजिलको उत्पादनमा आउने कमीका कारण आगामी वर्ष भारत शीर्ष चिनी उत्पादक बन्ने अनुमान गरिएको हो । उखु उत्पादक किसानहरूलाई टेवा दिन ल्याइएको सरकारी योजनाका कारण ‘क्रप इयर’ २०१८/१९ मा भारतमा ३ करोड ५० लाख टन चिनी उत्पादन हुने त्यहाँका चिनी मिलहरूले बताएका छन् । यो अहिलेसम्मकै उच्च हो ।
यस सीजनमा उखु खेतीमा आएको कमीका कारण ब्राजिलमा चिनी उत्पादन १ वर्षअघिको तुलनामा करीब ८० लाख टन घटेर २ करोड ८० लाख टनमा आउने अनुमान छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेसँगै अन्य इन्धनको भाउ पनि बढेको छ । चिनीको भाउ भने अहिले करीब १० वर्षकै न्यून विन्दुनजीक आएको छ । उखुबाट बायोफ्युल (इथानोल) उत्पादन गर्दा चिनी उत्पादन गर्दाभन्दा बढी फाइदा भएपछि ब्राजिलमा मिलहरूको चिनी उत्पादन घट्दो क्रममा छ ।
तर, भारतीय मिलहरूको बायोफ्युल उत्पादन क्षमता सीमित भएकाले उनीहरूसमक्ष चिनी उत्पादन बढाउनुको विकल्प छैन । भारतको चिनी खपत करीब २ करोड ५० लाख टननजीक रहने अनुमान छ । ‘बढी उब्रिएको चिनी भारतले के गर्छ भन्ने सबैभन्दा ठूलो प्रश्न हो,’ ईडीएण्डएफ म्यानमा विक्री विभागका वरिष्ठ उपाध्यक्ष माइकल म्याकडोगलले भने ।
सन् १९९० को दशकयता ब्राजिल विश्वकै ठूलो चिनी उत्पादक तथा निर्यातकर्ता देशको रूपमा रहँदै आएको छ । त्यहाँको उत्पादन घटेसँगै आगामी बाली वर्षमा निर्यात पनि करीब ९० लाख टन घट्ने अपेक्षा गरिएको छ । यस्तो भारतले आफ्नो निर्यात बढाउने मौका पाउने जब इकोनोमियाका परामर्शदाता जुलियो मारिया बोर्गेसले भनिन् । चिनीको सबैभन्दा धेरै खपत एशियामा हुन्छ ।
उखुको खेतीको नयाँ मौसम शुरू हुँदा नै भारतसँग १ करोड टनभन्दा बढी चिनी जगेडा रहन्छ । आगामी खेतीको सीजनमा भारतको चिनी उत्पादन बढेर ३ करोड ५० लाख टन पुग्ने बताइएको छ । स्थानीय बजारमा चिनीको माग २ करोड ५५ लाख टन रहने र करीब २ करोड टन चिनी जगेडा उब्रिने अनुमान गरिएको छ । सरकारले अहिले २० लाख टन चिनी निर्यातको अनुमति दिइरहेको छ । यद्यपि, अन्तरराष्ट्रिय बजारमा चिनी सस्तो भएकाले मिलहरूले अहिले करीब ५ लाख टनमात्र चिनी निर्यात गरिरहेका छन् ।
विश्वबजारमा भारतको चिनी आपूर्ति बढ्यो भने यसले चिनीको मूल्य थप घट्ने विश्लेषकहरू बताउँछन् । भारत सरकारले महŒवाकाङ्क्षी निर्यात लक्ष्य तय गर्यो भने चिनीको भाउ प्रतिपाउण्ड १० सेण्टभन्दा तल आउने नाम उल्लेख नगर्ने शर्तमा एक व्यापारीको भनाइ उद्धृत गर्दै इकोनोमिक टाइम्सले समाचारमा बताएको छ । बुधवार न्यूयोर्कमा कच्चा चिनी प्रतिपाउण्ड १० दशमलव ८७ सेण्टमा किनबेच भइरहेको थियो । एजेन्सी




