भदौ २३, काठमाडौं (अस) । नेपालले आयोजक बङ्गलादेशलाई शून्यका विरुद्ध २ गोलले पराजित गर्दै साफ फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बङ्गलादेशको बगबन्धु रङ्गशालामा शनिवार साँझ भएको खेलमा नेपालको तर्फबाट विमल घर्तीमगरले खेलको ३३ औं मिनेटमा पहिलो गोल गरेका थिए भने नवयुग श्रेष्ठले खेलको ८९ औं मिनेटमा दोस्रो गोल गर्दै नेपालको जीत सुनिश्चित गरेका थिए ।
समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भएको थियो । दोस्रो खेलमा भुटानविरुद्ध ४–० को जित निकाल्दै सेमिफाइनल प्रवेशको सम्भावना कायमै राखेको थियो ।
सेमिफाइनल पुग्न बङ्गलादेशसँगको खेल जित्नैपर्ने दवावमा रहेको नेपालले बङ्गलादेशलाई २ गोल गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।
शनिवार भएको खेलमा भुटानलाई ३–० गोलले पराजित गर्दै पाकिस्तान पनि सेमिफाइनल पुगेको छ ।