विदेशी भूमिमा आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्ने औपचारिक संस्था हो, राजदूतस जसले आफ्नो राष्ट्रको हित प्रवद्र्धन गर्न निरन्तर कार्य गरिरहन्छ भन्ने विश्वास लिइन्छ । यो स्वयम्मा एक गतिशील संस्था भए पनि राजदूत हुने व्यक्तिको योग्यता, क्षमता, हैसियत, विशेषज्ञता, आफ्नो मुलुकका बारेमा रहेको ज्ञान, अभिव्यक्ति शिल्प, विदेशी भाषामाथिको पकड र राष्ट्रप्रेमको प्रगाढताजस्ता विषयले ‘राजदूत’ हुने व्यक्तिको कामलाई प्रभावित पारिरहेका हुन्छन् । नेपालका लागि वरदान सावित हुन सक्ने क्षेत्र मानिएको पर्यटन उद्योगले अपेक्षाकृत गति लिन नसक्नुका पछाडि हाम्रा राजदूत भएर जाने अधिकांश मानिसमा रहेको यो क्षेत्रप्रतिको अनभिज्ञता, अज्ञानता, अकर्मण्यता र अयोग्यता नै प्रमुख कारण रहेको देखिन्छ ।
अमेरिका, जापान, बेलायत, जर्मनी, रूस, स्पेन, फ्रान्स, अष्ट्रेलिया, स्वीट्जरल्याण्ड, डेनमार्क, नर्वे, क्यानाडा, चीनजस्ता विकसित र शक्तिशाली देशहरू आफैमा पुगीसरी आएका देश हुन् । तर, त्यहाँ पनि पर्यटनलाई उद्योग मानिन्छ । र, कसरी बढीभन्दा बढी पर्यटकलाई आकर्षित गर्ने भनेर ठूलाठूला र दीर्घकालीन योजना बनाइन्छन् । पर्यटन उद्योग भनेको सुनको फुल पार्ने त्यस्तो कुखुरी हो जसलाई राम्ररी पालिदिए मात्र पुग्छ । हरेक दिन सुनको फुल दिइरहन्छ । झोलामा बोकेर ल्याई आफ्नो सम्पर्कमा आएजति सबै मान्छेलाई पैसा बाँड्दै हिँड्ने काम पर्यटकले मात्र गर्छन् । त्यसैले नै पर्यटनलाई राष्ट्रको ‘कामधेनु’ वा ‘कल्पवृक्ष’ वा ‘मनचिन्ते झोली’ जे भने पनि हुन्छ । पर्यटकको सङ्ख्या घट्ला भनेर संसारका शक्ति राष्ट्रहरू पनि डराउँछन् । तर, हामीले भने अझै पनि यसको चुरो कुरो बुझेकै छैनौं र डराउँदैनौं । नेपाली राजदूतको पद ओगटेर बसेका लठैतहरूले त पर्यटकको सङ्ख्या बढाउन विदेशमा नेपालको प्रशस्त मार्केटिङ गर्नुपर्छ र त्यसका लागि म स्वयम् जिम्मेवार छु भन्ने मूल विषयसमेत बुझेका छैनन् ।
नेपाललाई संसारभरि चिनाउने दुईओटा मूल पहिचानहरू छन्, हिमाल र बुद्ध । अनि दुईओटा ख्यातिका विषय छन्, गोर्खा र शेर्पा । अब हाम्रा राजदूतहरूको योग्यताको परीक्षण यहीँबाट र अत्यन्तै साधारण प्रश्नबाट शुरू गरौं । के हाम्रा राजदूतहरूले बुद्धलाई चिनेका छन् ? के कम्तीमा पनि पञ्चध्यानी बुद्धका नाम बताउन सक्छन् जसका बारेमा सारा संसारलाई चासो छ र पाइलैपिच्छे यसैसँग जोडिएका जिज्ञासा राखिन सक्छन् ? बौद्धमार्गी देशहरूमा मात्र होइन, अचेल बुद्ध र उनको ज्ञानबारे संसारभरिकै मानिसमा चासो बढिरहेको छ । के यी जिज्ञासाबारे आधारभूत कुरा बताउन उनीहरू सक्षम छन् ? के उनीहरू नेपालमा रहेका कुनै १५/२० ओटा हिमालका नाम र तिनका विशेषता बताउन सक्छन् ? संसारका १४ ठूला हिमालमध्ये आठओटा नेपालमा छन् भन्ने कुरा तिनलाई थाहा छ ? ल ठीक छ, सङ्ख्या थाहा रहेछ रे, के ती हिमालको नाम पनि थाहा छ ? संसारका ‘उच्चदश’ हिमालमध्ये दोस्रो र नवौंबाहेक बाँकी हाम्रै देशमा छन् भन्ने तिनीहरूलाई थाहा छ ? के तिनले कहिल्यै नाम्चेबजार वा अन्नपूर्ण बेसक्याम्प वा लाङटाङसम्म पुग्ने कष्ट गरेका छन् ? के ती खप्तड पुगेका छन् वा लोमान्थाङ वा रारातालबारे केही भन्न सक्छन् ? अहँ, धेरैजसोले सक्तैनन् । तिनले बोलेको अङ्ग्रेजी शायद अङ्ग्रेजहरूले नै बुझ्दैनन् । अनि तिनले के बताउँछन् नेपालबारे र के कुराबाट प्रभावित भएर नेपाल घुम्न आउँछन् त्यो देशका नागरिक ?
केही राजदूतावासहरूमा पाहुना भएर पुगेका बेला यो पङ्क्तिकार स्वयम्ले कस्तो लज्जास्पद दृश्य पनि देखेको छ भने विदेशीहरूचाँहि हाम्रा कथित राजदूतहरूसँग ‘म तपाईंको देश घुमेर आएँ राजदूत महोदय ! आहा ! कस्तो राम्रो रहेछ अन्नपूर्ण । विचित्रै रहेछ सगरमाथाको आधारशिविर त । ओहो ! त्यो लोमान्थाङ, त्यो नाम्चे, त्यो अद्भुत खप्तड, त्यो कञ्चनजङ्घास देश त पाउनुभएको छ तपाईंहरूले । त्यो त आफैमा एक स्वर्ग हो,’ भनेर सगौरव नेपाल भ्रमणको उपलब्धि, उमङ्ग र सुन्दरताको वर्णन गरिरहेका हुन्छन् । तर, हाम्रा राजदूत महोदय भने कुनै उत्साह नै नदेखाई बिलकुल मौन रहेका हुन्छन् । हाम्रा राजदूतले पनि अझ उत्साहका साथ कुरो थपिदिए पो त्यो मान्छे थप भ्रमणका लागि झन् प्रेरित हुन्छ । त्यसरी नै हाम्रो सामाजिक बनोट र व्यवस्था तथा रीतिबारे प्रश्न उठ्छन् र हाम्रा राजदूतले बकम्फुसे जवाफ दिइरहेका हुन्छन् । कुनै विदेशीले बुद्धको सङ्ख्याका बारेमा प्रश्न गर्यो र हाम्रो राजदूतले बुद्ध भनेको ती एकजना मात्रै हुन् भनेर जवाफ दिएको सुन्नु पर्दा म आफै लज्जित भएँ । तर, तत्काल मैले जवाफ सच्च्याइदिन पनि कूटनीतिक मर्यादाले गर्दा सकिएन । वैरोचन, अक्षोभ्य, अमोघसिद्धि, अमिताभ, रत्नसम्भव, कस्सप, क्रकुच्छन्द, शिखी, विपश्वी, अवलोकितेश्वर, पद्मसम्भव, हेरूकलगायत हजारौं बुद्धको जन्म भइसकेको छ र सिद्धार्थ गौतमचाँहि सम्यक् सम्बुद्ध हुन् भनेर तिनले कहिले थाहा पाउने होलान् भनेर मन अमिलो भइरह्यो । मन अमिलो यस कारणले पनि भइरह्यो कि ती प्रश्नकर्ता कुनै सामान्य मान्छे नभएर बौद्ध दर्शनकै अनुयायी हुन् भन्ने कुरो उनको पहिरनबाटै झल्किन्थ्यो ।
सुन्दा अप्रिय लाग्न सक्छ, तर, यस्तै निकम्मा र झोले राजदूतहरूका कारणले नै नेपालको पर्यटन उद्योगको प्रचारप्रसार हुनै नसकेको मात्र होइन, नेपालकै बदनामसमेत भइरहेको छ । लोकसेवाको परीक्षा पास गरेर आएको करिअर डिप्लोम्याट रहेछ भने उसको ध्यान नै ड्रेसकोड, टाइको गाँठो, जुत्ताको टलक, प्रोटोकल, सिटप्लान, टकिङ पोइण्टको क्रमबद्धता र मिटिङहरूको औपचारिकताजस्ता पर्यटन प्रवद्र्धनका लागि कुनै साइनो नै नभएका र शतप्रतिशत निरर्थक कुरामा केन्द्रित भइरहेको हुन्छ । उसले कोटको कुनकुन टाँक लगाएको छ वा छैन, गोजीको फ्ल्यापभित्र परेको छ कि बाहिरै छ, कलम र रूमाल ठीक ठाउँमा छन् कि छैनन्, रूमालको माउण्ट कस्तो छ, काँटा–चम्चा ठीक ढङ्गले समाउन जान्यो वा जानेन जस्ता वाहियात कुराले नेपालको पर्यटनसँग के सम्बन्ध राख्छ ? इमानदारीतापूर्वक भन्नुपर्दा उसले जागीर खान्छ, डलरमा तलबभत्ता बुझ्छ, बेरुजू नआउने गरी लेखापरीक्षण गराउँछ, परिवारलाई रातो पासपोर्टमा विदेश घुमाउँछ । तर, मुलुकका लागि ‘माखो’ पनि मार्दैन ।
त्यस्तै, राजनीतिक पार्टीको झोला बोकेका भरमा राजदूत भएको रहेछ भने उसले आफूलाई पुरस्कृत भएको भन्ठान्छ, क्रान्तिमा लागी जेलनेल सहेबापत पाएको अवसर भन्ठान्छ, नेताले आफ्नो मूल्याङ्कन गरिदिएकोमा दङ्ग पर्छ, । यसरी दुवै कित्ताबाट नियुक्त हुने राजदूतहरूबाट नेपाल ठगिएको छ । जो मान्छेले जीवनमा खुम्बुक्षेत्रमा पाइलै टेकेको छैन, त्यसले के भनेर नेपालका हिमालको प्रचार गर्छ ? जसलाई हिमालको ‘कपुरी क’ नै थाहा छैन, त्यसले कसरी पर्वतारोहीहरूलाई नेपाल आउन आकर्षित गर्न सक्छ ? र, हामीले बिर्सनै नहुने कुरो के छ भने पर्यटन क्षेत्रमध्येको पनि सबैभन्दा ठूलो सम्भावना रहेको हाम्रो मौलिक क्षेत्र र झण्डैझण्डै विश्वबजारमै हाम्रै एकाधिकार प्राप्त क्षेत्र भनेको पर्वतीय पर्यटन अर्थात् ‘माउण्टेन टुरिजम्’ नै हो । पर्वतारोही टोलीले त यति धेरै पैसा खर्च गर्छ कि एउटा सामान्य नेपालीले त्यसबारे कल्पना पनि गर्न सक्तैन । वर्षमा २/३ ओटा मात्र पर्वतारोहण टीमको व्यवस्थापन गर्ने एजेन्सीले बाँकी समय पूरै सुतेरै बिताए पनि वर्षभरि कर्मचारी पाल्न, घरबहाल तिर्न र खान पुग्छ । यसको यस्तो प्रचुर सम्भावना देखेरै यही पङ्क्तिकारको सक्रियतामा ‘नेपाल : फर अल सिजन’ भन्ने कार्यक्रम ल्याइएको थियो । बाह्रै महीना पर्वतीय पर्यटक नेपाल आउन सहज होस् भनेर हिमालको सलामी दस्तुरलाई पनि ऋतुपिच्छे र आरोहीपिच्छे खण्डीकरण हुने व्यवस्था मिलाइएको थियो । पर्यटनको लाभ मध्य र सुदूरपश्चिमले पनि लिन सकून् भनेर ती क्षेत्रका हिमालमा सलामी दस्तुर (रोयल्टी) नलिने निर्णय गराइएको थियो । तर, कुनै पनि राजदूतले यसको प्रचारप्रसार गरेनन् र यो प्रयोगबाट पनि अपेक्षित उपलब्धि प्राप्त गर्न सकिएन । नेपालै नचिनेका नेपाली राजदूतले कसरी नेपालको पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउलान् त ? यो त नेपाल सरकारले नै सोच्नुपर्ने कुरो होइन र ? हामी १० लाख पर्यटक भित्र्याउने भनेर रट लगाइरहेछौं, वर्षौदेखि । तर, कस्ता पर्यटक १० लाख ? भुटानले भित्र्याउनेजस्ता दैनिक ३०० डलर खर्च गर्नैपर्ने स्तरीय तर नियन्त्रित पर्यटक कि चिया र बिस्कुटका भरमा दिन बिताउँदै दैनिक १० डलर पनि खर्च नगर्ने झोले पर्यटक ? त्यही पनि कहिल्यै १० लाख पुगेको छैन । मिथ्याङ्कमा पुग्नु अर्कै कुरा हो ।
नेपाल आएका सबै विदेशी राजदूत नेपालका प्रमुख पर्यटकीय गन्तव्यमा पुगेकै हुन्छन् । एकताका त पाँच जना विदेशी राजदूत एकै दिन नाम्चेबजार पुगेको खबरले शहर तातेको थियो, एउटा ब्रोडशिटले तस्वीरसहितको कभरेजसमेत दिएको थियो । तर, के हाम्रा आफ्नै राजदूतहरूले यसरी मुलुकलाई माया गरे रे, त्यो फलानो ठाउँसम्म पुग्न ‘पाउकष्ट’ गरे रे भनेको तपार्इंले सुन्नुभएको छ कहिल्यै ? अनि यस्ता राजदूतबाट हामीले के आशा गर्ने ? देशले के पाउने ? सबैभन्दा ठूलो कुरो राजदूतका रूपमा सधैं यस्तै निकम्मा र देशै नचिनेका कवाडीहरू नै हामीलाई किन निरन्तर चाहिन्छन् ? के देश चिनेका मान्छेहरूलाई राजदूत बनाउन नमिल्ने नै हो त ?
साहित्यकार ढकाल नेपाल सरकारका पूर्व सहसचिव तथा राष्ट्रपति कार्यालयका प्रवक्ता हुन् ।
6 Comments
Bishnu karki
जुन देशमा जन्मियो हुर्कियो त्यही देशको बारेमा जानकारी नभएका पार्टीका झोले जो नेताका भाषा भाषण कण्ठ गर्छन त्यस्ताले मुलुकको प्रतिनिधित्व गर्दा देशको इज्जत समेत जोगाउन सकेनन । कुटनितिक ,बौद्धिक पेशागत कुशलता ,मर्यादा राख्ने र पर्याप्त जानकार ब्यक्तित्वले मात्र मुलको नेतृत्व गरे हुने थियो ।
मधु
यो लेख रोचक छ, सामयिक छैन, यो ३० वर्षअघि नै लेखिनु पर्थ्यो… यस्ले नेपालको परराष्ट्र नीतिमाथि धावा बोलेकोछ। २-४ वटा अपवादलाई छोडेर सिधै भन्नुपर्दा राजदूतको कर्म र धर्म भनेको तलवभत्ता पकाउनु र ह्विस्कीको उत्तरआधुनिक चुस्कीहरुमा झुम्झुमाएर रमाउनु हो, हैट शरमको पसारो !
चक्रपाणी गौतम
लेख मार्मिक र यथार्थपरक छ।सबैतिर हाम्रोले प्रश्रय पाउने भएर होला।
किशोर विश्वकर्मा
यथार्थपरक लेख ! कुटनीतिज्ञ एवं देश बुझेको व्यक्तित्व नै राजदूतजस्तो गरिमामय पदको लागि उपयुक्त हुन्छ ।
खडेबाबा
यी खडानन्द ढकाल उर्फ प्रतीक ढकाल एयरपोर्ट काण्डवाला होइनन भन्या । अहिले अर्ती दिँदैछन राजदूतबारे । http://www.mysansar.com/archives/?p=19853
भरत भट्टराई
देशको वास्तविकता प्रस्तुत गर्ने यो लेख नेपाली राजनीतिको निम्न स्तर र झोले प्रवृत्ति देशको विकासका बाधक हुन् भन्ने निष्कर्ष दिई त्यस्ता विकृतिको चिरफार गर्ने दमदार सामग्री बनेको छ। लेखकको अभिव्यक्ति निर्भीक र स्तुत्य छ।