नयाँ दिल्ली (भारत) । भारतीय रुपयाको मूल्य घट्ने क्रम रोकिने कुनै सङ्केत देखिएको छैन । सोमवार भारतीय मुद्रा रुपया डलरको तुलनामा कमजोर बनेर विनिमय दर साढे ७२ रुपया नाघेको छ । उक्त दिनको कारोबार शुरु हुँदै रुपयाको भाउ ३६ पैसा घटेर ७२ रुपया १० पैसा कायम भएको थियो ।
सोमवार नेपाली समयअनुसार दिँउसो १२ः५३ बजे प्रतिडलर भारुको भाउ ९० पैसाले घटेर ७२ रुपया ६३ पैसा कायम भएको थियो । यसको अर्थ अब भारतीयहरुले एक डलर किन्न ७२ रुपया ६३ पैसा खर्च गर्नु पर्नेछ । डलरको तुलनामा भारु यस अघि कहिल्यै यो स्तरमा आएको थिएन ।
अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउमा भइरहेको वृद्धि र भारतको चालू खाता घाटा (क्याड) फराकिलो हुने चिन्ताले रुपया दबाबमा आएको हो । चालू आवको अप्रिल–जुन त्रैमासमा भारतको व्यापार घाटा बढ्दा क्याड पनि बढेर १५ अर्ब ८० करोड डलरमा उक्लिएको थियो । गत आवको सोही अवधिमा भने क्याड १५ अर्ब डलर मात्रै थियो ।
सोमवार मुद्रा डालोमा आबद्ध प्रमुख मुद्राका तुलनामा डलर सूचक बढ्दा पनि भारुमाथिको दबाब बढेको हो । अगष्टमा अमेरिकाको रोजगारी सृजना सुदृढ रहेको तथ्याङ्क सार्वजनिक भएपछि डलर बलियो बनेको छ । उता, चीन र अमेरिकाबीचको व्यापार विवाद थप बल्झिने चिन्ताले पनि डलर बलियो हुँदै गइरहेको छ । सोमवार डलर सूचक शून्य दशमलव शून्य ६ प्रतिशतले बढेर ९५ दशमलव ४४ मा पुगेको छ । यो गत मङ्गलवारको तीन हप्ताकै उच्च विन्दु नजिक हो । एजेन्सी