राजेश जीसी
प्यूठान । प्यूठानको झिमरुक गाउँपालिका–५, ढाडास्थित झिमरुक खोलामा निर्माण शुरू भएको ३ वर्षमा पनि पुल बन्न सकेको छैन ।
समयमै पुल नबन्दा स्थानीयलाई खोला वारपारमा सास्ता हुँदै आएको छ । झिमरुक गाउँपालिका– ५, ७ र ८ का साथै नौबहिनी गाउँपालिका र गौमुखी गाउँपालिकाका केही गाउँ जोड्ने उद्देश्यले पुल बनाउन थालिएको थियो । पुल नबन्दा वृद्धवृद्धा, महिला, बालबालिका र विद्यार्थीलाई बढी समस्या भएको छ ।
खोलामा पुल नबन्दा यस क्षेत्रमा बासिन्दा जोखीमपूर्ण रूपमा यात्रा गर्दै आएका छन् । पुल नहुँदा तुषारालगायत स्थानमा चल्ने यातायातका साधन बर्खा लागेसँगै बन्द भएका छन् । यातायातका साधन नचल्दा तुषारा, लिवाङलगायतका स्थानीयवासी पैदल हिँडेरै मच्छी, बाग्दुला, खलङ्गा आउने गरेका छन् ।
यात्रुको सहजताका लागि छिपछिपे सामुदायिक वनबाट गोरेटो बाटो बनाइएकोमा पहिरो गएपछि अहिले अवरुद्ध छ ।
पुल निर्माणमा भएको ढिलाइबारे जिज्ञासा राख्दा ‘ओपन फाउण्डेशन’ नमिलेकाले काम अघि बढाउन समस्या भएको ठेकेदार कम्पनीले बताएको छ । हालसम्म पुलको दुईओटा पिलर मात्र बनेको छ । ‘लगातार ३ वर्ष खन्दा समेत माटो नभेटिएकाले काम बढाउन सकिएन,’ ठेकेदार बालाजु श्रेष्ठले भने, ‘रि–इस्टिमेट गर्नेतर्फ प्राविधिक कार्यालयको अग्रसरता नै भएन ।’ अहिले काम गर्ने म्यादसमेत सकिएको उनको भनाइ छ ।