रोशनी भट्टराई
विराटनगर । पछिल्लो समयमा वातावरण र त्यसको संरक्षणको मुद्दा पेचिलो बन्दै गएको छ । वातावरण जोगाउने नाममा राज्यको वर्षेनि अर्बौं बजेट खर्च भए पनि त्यो सबै बालुवामा पानी हालेसरह हुँदै आएको छ । मोरङको बेलबारीमा पूर्वपश्चिम लोकमार्गको दुवैतर्फ टाँगिएका पोष्टर, फ्लेक्स, होर्डिङ बोर्ड तथा तुलहरूले गर्दा वातावरण प्रदूषित हुँदासमेत सरोकारवाला पक्ष भने बेखबर देखिएका छन् ।
पूर्वपश्चिम राजमार्गको यात्रा गर्दा प्रायः सबैतिर यस्तै दृश्य देख्न सकिन्छ । सडककिनारका बिजुलीका पोल यस्तै पोष्टर पम्प्लेट, होर्डिङ बोर्ड तथा राजनीतिक पार्टीका झण्डाले भरिएका छन् । पोल मात्र नभएर सडककिनारमा रोपिएका रूखहरूको पनि उस्तै दुर्गति देखिन्छ । ती रूखका फेददेखि हाँगासम्म त्यस्तै पोष्टरले भरिएका छन् । यतिसम्म कि निर्वाचनताका टाँगिएका राजनीतिक पार्टीका झण्डा, ब्यानर तथा फ्लेक्ससमेत अझैसम्म निकालिएका छैनन् ।
बेलबारी नगरपालिका–२ को लालभित्ती चोकमा लामो समयदेखि टाँगिएका तुल तथा फ्लेक्स हटाइएको छैन । यो स्थान वडा कार्यालयकै सामुन्नेमा पर्छ । यो फ्लेक्ससहितको तुल निर्वाचनताका टाँगिएका हुन् ।
बेलबारी–२ लालभित्तीका वडाध्यक्ष घनश्याम गौतमले यो काम प्रहरी प्रशासनको भएको बताइरहँदा इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख रामकुमार राई भने नगरलाई सफा राख्ने काम नगरपालिकाकै भएको जिकिर गर्छन् ।
यस्ता पोष्टर, पम्प्लेट तथा होर्डिङ बोर्डले नगरको सौन्दर्य बिगार्ने मात्र नभएर दुर्घटनालाई समेत बढावा दिने सुकुना बहुमुखी क्याम्पसका प्रमुख प्रेमप्रसाद भट्टराईको मत छ । वातावरण संरक्षणका लागि भनेर सुन्दरहरैंचा र बेलबारी दुवै नगरपालिकाले सडकको ८२ दशमलव ५ फिट पर मात्र पोष्टर, पम्प्लेट तथा होर्डिङ बोर्ड राख्नुपर्ने छ । र, सोभन्दा बाहिर राख्दा पनि नगरपालिकासँग अनुमति लिनुपर्ने बताए पनि नगरपालिकाको त्यो निर्णय कागजमा मात्र सीमित देखिन्छ ।