भदौ २७, काठमाडौं । बङ्गलादेशमा जारी १२ औँ साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणमा भुटान र बङ्गलादेशलाई पराजित गरेर समूह ‘ए’को विजेता बनेको नेपालले बुधवार पहिलो सेमिफाइनलमा माल्दिभ्ससँग खेल्दैछ । माल्दिभ्स समूह ‘बी’को उपविजेता हो ।
पछिल्लो पटक नेपालले सन् २०१६ को बङ्गबन्धु गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनलमा माल्दिभ्सलाई ४–१ ले हराएको थियो ।
साफ च्याम्पियनसिपमा माल्दिभ्ससँग खेलेका ६ खेलमा नेपालले कुनै पनि खेल जित्न सकेको छैन भने माल्दिभ्स ४ पटक विजयी भएको छ । २ खेल बराबरी छन् । बुधवारको खेलमा नेपाललाई साफमा माल्दिभ्ससँगको जितबिहिन अवस्थालाई पनि तोड्नुपर्ने चुनौती देखिन्छ ।
चार पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको माल्दिभ्सले सन् २००८ मा उपाधि समेत जित्न सफल भएको थियो भने नेपाल सेमिफाइनलबाट माथि जान सकेको छैन । सन् २०११ र २०१३ मा सेमिफाइनल पुगेको नेपाललाई दुबै पटक अफगानिस्तानले फाइनल पुग्नबाट रोकेको थियो । ति दुबै संस्करणमा नेपालसँगै माल्दिभ्स पनि सेमिफाइनलबाटै बाहिरिएको थियो । सन् २०१५ को पछिल्लो संस्करणमा पनि माल्दिभ्स सेमिफाइनलसम्म पुगेको थियो भने नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।
माल्दिभ्स सन् १९९७, २००३ र २००९ को साफ च्याम्पियनसिपको उपविजेता टोली हो । नेपाल सन् १९९३ को पहिलो संस्करणमा चार टोली सहभागी हुँदा तेस्रो भएको थियो भने त्यसयता सन् १९९५, १९९९, २०११ र २०१३ मा सेमिफाइनलसम्म पुगेको छ ।
नेपाल र माल्दिभ्सले हालसम्म आपसमा १५ खेल खेलेका छन् । जसमा नेपालले ४ खेल जितेको थियो भने ७ खेल गुमाएको थियो र ४ खेल बराबरीमा सकिएको थियो । दुई टोलीले विपक्षीको पोष्टमा गरेको गोलको सङ्ख्या भने बराबरी छ । हालसम्मको खेलमा नेपालले माल्दिभ्सको पोष्टमा १९ गोल गरेको छ भने माल्दिभ्सले पनि नेपालको पोष्टमा १९ गोल नै गरेको छ ।
नेपाल र माल्दिभ्सको पहिलो भेट सन् १९८४ मा दक्षिण एशियाली खेलकुद (साग)मा भएको थियो । जुन खेलमा नेपालले माल्दिभ्सलाई ४–० ले पराजित गरेको थियो । सोही प्रतियोगितामा भएको दोस्रो खेलमा पनि नेपालले ४–० कै जित हात पारेको थियो । साफ च्याम्पियनसिपमा भने नेपाल र माल्दिभ्सको पहिलो भेट सन् १९९९ मा भएको थियो ।
साफ च्याम्पियनसिपमा नेपाल र माल्दिभ्सको खेल र नतिजा
अन्य खेलमा नेपाल र माल्दिभ्सको खेल र नतिजा
मुख्य प्रशिक्षकको विश्वास
बुधवार दिउँसो पौनो ४ बजेको पहिलो सेमफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । समूह चरणमा भुटानविरुद्ध ४–० गोल र बलियो बङ्गलादेशविरुद्ध २–० गोल अन्तरले विजयी भएको नेपाली टोली माल्दिम्भविरुद्ध जित हात पार्दै इतिहास रच्ने दाउमा छ । नेपाली टोली पछिल्लो समय लयमा रहेकाले फाइनल पुग्ने विश्वास नेपाली राष्ट्रिय टोलीका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जनको छ । नेपालले माल्दिभ्सलाई हराउन सके इतिहास रच्नेछ । यसअघि नेपाल चार पटक सेमिफाइलनसम्म पुगिसकेको छ ।