
Latest posts by अभियान संवाददाता (see all)
भदौ २८, काठमाडौं । काठमाडौंदेखि भारतको बोधगयासम्म सीधा यातायात सेवा शुरू हुने भएको छ । नेपालको स्वयम्भू मञ्जुश्री यातायात कम्पनी र भारतको विहार राज्य पथपरिवहन निगमको सहकार्यमा भदौ ३१ गते आइतवारदेखि काठमाडौं–पटना–बोधगया सीधा यातायात शुरू हुने भएको हो । बिहीवार काठमाडौंमा कार्यक्रम गरी ती कम्पनीहरूले बससेवा सञ्चालन हुने जानकारी दिएका हुन् ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले संयुक्त रूपमा उक्त सेवाको शुभारम्भ गरेका थिए । कार्यक्रममा मन्त्री महासेठले भारतका प्रान्त तथा राज्यहरूमा नेपाली गाडी पनि सहज रूपमा कुनै अवरोध नभई प्रवेश पाउने वातावरण बनाउन प्रक्रिया अघि बढाएको बताए ।
‘नेपालमा भारतीय सवारीसाधनको प्रवेश सहज छ, नेपालले पनि भारतमा यसैगरी सहज पहुँच पाउनुपर्छ,’ मन्त्री महासेठले भने, ‘यसका लागि भारतका समकक्षीहरूसँग दुईपक्षीय यातायात सेवा विषयमा सम्झौता भइसकेको छ ।’ कार्यक्रममा उनले रामायण सर्किटअन्तर्गत नियमित बससेवा सञ्चालन गर्न प्रक्रियामा जाने बताए । उनले तेस्रो देशको व्यापारमा नेपाललाई भारतको समुद्रसँग जोड्ने प्रक्रिया तीव्र रूपमा अघि बढेको भन्दै आगामी माघसम्म १ सय ३५ किमी जलमार्ग प्रयोगमा आउने दाबी गरे ।
भारतीय राजदूत मञ्जीवसिंह पुरीले पटना, बोधगयालगायत क्षेत्रमा सीधा यातायात सञ्चालन हुनाले दुई देशबीच यातायात सुविधा अझ सहज हुने विश्वास व्यक्त गरे । कार्यक्रममा उक्त यातायात कम्पनीका अध्यक्ष अनिल चालिसेले भारतसँग सीधा यातायात सेवा विस्तार गर्दै जाने बताए । उनले भने, ‘यात्रुहरूको सहजतालाई ध्यान दिँदै टिकट काट्नकै लागि काउण्टरसम्म आउन नपरोस् भनी हामीले बससेवा डटकमसँग सहकार्य गरी अनलाइन टिकटिङ सेवासमेत शुरू गरेका छौं ।’
ई–सेवा डटकमका अध्यक्ष अस्गर अलीले यातायात क्षेत्र क्रमशः डिजिटलाइजेशन हुँदै गएकाले बस टिकट पनि घरमै बसेर काट्न सकिने वातावरण बन्दै गएको बताए । यसले यातायात क्षेत्रलाई थप व्यवस्थित बनाउन मद्दत पुग्ने उनको तर्क छ । विसं. २०५६ सालदेखि काठमाडौंबाट दिल्ली यात्रु बस सञ्चालन गर्र्दै आएको कम्पनीले सन् २०१४ देखि सरकारी स्तरबाट समेत नेपाल–भारत नियमित मैत्री बससेवा उपलब्ध गराउँदै आएको छ ।