राजनीतिज्ञको व्यवसाय – नारायणी देवकोटा
सभासद्, चिया र अलैंचीपूर्णकुमार शेर्मा (लिम्बु) सञ्चालक, नर्थ नेपाल टी इस्टेट
सभासद् नेपाली काङ्ग्रेस
२०१८ सालमा पाँचथरको निगाले गाउँ पञ्चायतको प्रधानपञ्च भएर राजनीतिमा प्रवेश गरेका निवर्तमान स्थानीय विकास मन्त्री तथा नेपाली काङ्ग्रेसका सभासद् पूर्णकुमार शेर्मा आफ्नो परिचय सामान्य किसानका रूपमा दिन रुचाउँछन् । शेर्मा भन्छन्, ‘त्यस्तो सामान्य किसान, जसको पहुँच बजारसम्म पुग्दैन । बरु बजारको पहुँच उसलाई जरुरी पर्दा मसम्म पुग्छ ।’ बजारमा जुन वस्तुको माग बढी हुन्छ, त्यही वस्तु अधिक विक्री हुन्छ, बाँकी सबै खेर जान्छन् भन्ने उनको बुझाइ छ ।
पुर्खाले गर्दै आएको परम्परागत खेती र नयाँ समयअनुसारको नगदेबाली (चिया र अलैँची)बाट शेर्माको गुजारा चलेको छ । यही आम्दानीले उनलाई राजनीति गर्नका लागि कसैसँग सहयोग मागिहिँड्नु परेको छैन । शेर्मा भन्छन्, ‘धरै कमाउँदिनँ, तर कसैसँग माग्नु पनि परेको छैन ।’ उनको आम्दानीको मुख्य स्रोत अलैंचीखेती हो । एक मन (४० केजी)को ७५ हजार रुपैयाँ कृषकको हातमा पर्ने अलैंची उनले वर्षामा १० देखि १५ मन विक्री गर्दै आएका छन् । ‘अलैंचीखेती गर्न सजिलो र बेच्न पनि सजिलो छ,’ उनले भने । राजनीतिको सिलसिलामा छिमेकी जिल्ला इलाम गइरहने शेर्मालाई त्यहाँका साथीहरूले चिसो पाखामा लगायो भने अलैंची खुब फल्छ, महँगो पनि छ । तुरुन्त विक्री पनि हुन्छ, यही खेती गर भनी सुझाव दिए । साथीहरूको सल्लाहमा नै उनले २०२८ सालमा आफ्ना सबै चिसा पाखाहरूमा अलैंची रोपेका हुन् । उनी भन्छन्, ‘अलैंची नरोपेको भए त केको पैसा देख्नु ? अन्न जति बेचे पनि पैसा आउने होइन ।’ हुन त अन्नबालीबाट पनि उनले केही आम्दानी गर्छन् । अन्नबाली बेच्दा धेरै बेचेजस्तो भए पनि पैसा आउँदा कम आउने शेर्मा बताउँछन् । ‘एक मन अलैंची बेच्दा ७५ हजार आउँछ । ४० मुरी अन्न बेच्दा पनि ७५ हजार आउँदैन,’ उनी भन्छन् ।
उनले २ हजार रोपनीमा चियाको खेती गरेका छन् । पुख्र्यौली २ हजार रोपनी जमीनलाई शेर्माले २०५० सालमा चिया बगान बनाएका हुन् । शेर्माले खेती शुरू भएको १७ वर्ष बितिसक्दा पनि चियाका हरियो पत्ता विक्री गर्न सकेका छैनन् । यसबाट उनी वार्षिक रूपमा लगानी बढाउनमात्र बाध्य भएका छन् । आम्दानी कत्ति पनि बढेको छैन । ‘अहिलेसम्म त्यो बगानमा खर्चमात्र भएको छ,’ उनी भन्छन् । पाँचथरको निगालेमा सरकारले कच्ची बाटो बनाइदिएको छ, जुन बाटोमा हिउँदमा मात्र यातायातका साधन चल्न सक्छन् । ‘वर्षामा चियाका मुना पलाउँछन्, गाडी आउँदैन । हिउँदमा गाडी आउँछ, चियाका मुना पलाउँदैनन्,’ उनी भन्छन् । यो समस्या शेर्माको मात्र होइन । त्यहाँका सबै किसान यस्तैखाले समस्या भोगिरहेका छन् । बाटो नभए पनि विद्युत् उपलब्ध हुनुपर्ने उनको धारणा छ । अहिले शेर्मालगायतका साना चिया किसान निगालेमा नै विद्युत् लाइन तानेरै भए पनि उद्योग सञ्चालनको ध्याउन्नमा लागेका छन् । आगामी वर्षबाट निगालेमा चिया उद्योग सञ्चालनमा आउने शेर्मा बताउँछन् । उद्योग सञ्चालनमा आएपछि वाषिर्क ६० हजार रुपैयाँ आम्दानी हुने उनको अनुमान छ ।
उद्योग व्यवसाय नगरेका कारण नेताहरू भ्रष्टाचारमा लाग्छन् भन्ने आम धारणालाई शेर्मा मान्दैनन् । उनी भन्छन्, ‘अभाव भएर भ्रष्टाचार गर्छन् भन्ने कुरा सम्भ्रान्त वर्गले फैलाएको हल्ला मात्र हो । भ्रष्टाचार मान्छेको नियतमा भर पर्ने कुरा हो ।’ कतिपय नेताहरूका लागि राजनीति गर्दा भ्रष्टाचार गरी कमाएको कालोधन पखाल्ने माध्यम व्यवसाय भएको उनको धारणा छ । ‘जसको उद्योग धन्दा बढी छ, उसैले चरम भ्रष्टचार गरेको प्रमाण पनि छन्,’ उनले भने ।
एमाओवादीलाई गृहको अडान त्याग्न आग्रह
काठमाडौं । प्रधानमन्त्री झलनाथ खनालले गृह मन्त्रालय आफूलाई नभई नहुने अडान त्याग्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बिहान भएको भेटमा उनले सो आग्रह गरेका हुन् । प्रधानमन्त्री खनालले आफ्नो पार्टीस्थायी समितिको बिहीवार बसेको बैठकले मन्त्रिपरिषद्सम्बन्धी गरेको निर्णयबारे अध्यक्ष दाहाललाईजानकारी गराएका थिए । छलफलमा गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री मातहत राखेर मन्त्रिपरिषद् विस्तारका लागि अध्यक्ष दाहालसँग आग्रह गरेका हुन् ।
भेटमा एमाओवादी अध्यक्ष दाहालले सातबुँदे सहमति कार्यान्वयन नभएसम्म आफ्नो पार्टी सरकारमा नजाने बताएको बालुवाटार स्रोतको भनाइ छ । उनले वर्तमान सरकारलाई एमाओवादीको समर्थन रहने बताउँदै अन्य दललाई विश्वासमा लिएर मात्र मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री खनाललाई सुझाव दिएको पनि स्रोतले बताएको छ । सातबुँदे सहमति कार्यान्वयन नगर्न र सुरक्षालगायतका महत्त्वपूर्ण मन्त्रालय एमाओवादीलाई नदिन एमालेका विभिन्न भ्रातृसङ्गठन तथा पार्टीको माथिल्लो तहबाट समेत चर्को दबाब आइरहेकाले प्रधानमन्त्री नियुक्तिको १५ दिनसम्म पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।
मन्त्रिपरिषद्मा सहभागी हुने-नहुने विषयमा बिहीवार बसेको एमाओवादी स्थायी समितिको बैठकले सातबुँदे सहमति कार्यान्वयन नभएकाले सरकारमा नजाने निर्णय गरेको थियो । बिहीवारकै एमाले स्थायी समिति बैठकले मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री खनालको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन गरी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
लोकतन्त्र अभियान शुरु
समृद्धि फाउण्डेशनले ‘लोकतन्त्र’ को अर्थबारे जनचेतना फैलाउने राष्ट्रिय अभियान शुरू गरेको छ । ‘लोकतन्त्र भनेको…’ नाम दिइएको सो अभियानको शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।
अभियानमा ‘लोकतन्त्र’ भनेको विधिको शासन, अभिव्यक्तिको स्वतन्त्रता, बहुलवाद, स्वतन्त्र निष्पक्ष र नियमित चुनाव र निजी सम्पत्तिको अधिकार भएको सन्देश प्रस्टयाइएको छ ।
लोकतन्त्रका यिनै पाँच आधारभूत कुरालाई स्पष्ट गर्न नेपाली, अवधी, मैथली, नेवारी, लिम्बु र डोटेली गरी ६ भाषामा निर्मित रेडियो सूचनाहरू देशका विभिन्न राष्ट्रिय तथा स्थानीय रेडियोबाट बजाइने संस्थाले बताएको छ । तिनै सन्देशहरू राष्ट्रिय टेलिभिजन सञ्जालबाट पनि प्रसारण गरिने बताइएको छ ।
यसैगरी देशका विभिन्न २२ जिल्लामा यिनै सन्देशसहितका होर्डिङ बोर्ड राखिने र पत्रपत्रिकामा पनि सन्देशमूलक सूचना प्रवाह गरिने आयोजक संस्थाले बताएको छ । साथै संस्थाले लोकतन्त्रबारे सार्वजनिक छलफल चलाउन डब्ल्यूडब्ल्यूडब्ल्यू डट डेमोक्रेसीइज डट नेट ठेगानाको ब्लग साइट पनि खोलेको छ । उक्त अवसरमा लोकतन्त्रको अर्थ लगाइएका पाँच तत्वहरूको सन्देश छापिएका टी-र्सटहरू पनि वितरण गरिएको थियो ।
अभियान अन्तर्गत रेडियो टीभी र पत्रिकामा प्रयोग हुने प्रचार सामग्री प्रिज्मा एडभर्टाईजीङ कम्पनीबाट तयार गरिएको जानकारी दिइएको छ ।
‘चाँडै नै ठूला तीनदलको संयुक्त सरकार बन्छ’
ललितपुर । एमाओवादी स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री झलनाथ खनाल र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको सातबुँदे सहमतिले कुनै पनि पार्टीलाई अलग्याउने उद्देश्य नबोकेको बताएका छन् । ‘सातबुँदे सहमति शान्ति र संविधानको सुनिश्चितताका लागि भएको हो,’ ललितपुरको गोटीखेलस्थित महाँकाल उच्चमाविको स्वर्णमहोत्सवको उद्घाटन गर्दै उनले भने, ‘अहिलेको सरकारलाई राष्ट्रिय स्वरूप दिएर शान्ति प्रक्रिया र संविधानलेखन कार्यलाई एकैसाथ अगाडि बढाउन काङ्ग्रेसलगायत सबै दलहरूलाई सरकारमा सहभागी हुन म आग्रह गर्छु |’
देश सङ्क्रमणकालीन अवस्थामा रहेकाले यसबाट निकास दिन केही महीनापछि प्रमुख तीनओटै दलको संयुक्त सरकार बन्ने दाबी गरे । अहिले भएको प्रमुख दुइ दलबीचको सहमति वाम ध्रुवीकरणविरुद्ध नरहेको भन्दै उनले सेना समायोजन प्रक्रिया विशेष समितिमार्फत नै अगाडि बढाइने स्पष्ट पारे ।
केही दिनमा सरकारले पूर्णता पाउँछः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री झलनाथ खनालले केही दिनभित्रमा नै सरकारले पूर्णता पाउने बताएका छन् । शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै खनालले त्यस्तो बताएका हुन् ।
दलभित्र र बाहिर अस्थिरता ल्याउन प्रतिगमनकारी शक्तिले चलखेल गरेको उनको आरोप थियो । ‘पार्टीबीचमा र पार्टीभित्रै खेलेर अनुचित फाइदा उठाउने र अस्थिरता ल्याउने शक्तिहरूलाई सचेत हुन आग्रह गर्छु,’ उनले भने ।
सम्बोधनका क्रममा उनले सहमतिका लागि गरेको आफ्नो राजनीतिलाई कमजोरीका रूपमा नबुझ्न आग्रहसमेत गरेका थिए । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन र निर्धारित समयमा संविधान जारी गर्न सहमति विकल्प नभएको उनको भनाइ थियो । उनले सहमतिका लागि सबै दल एकजुट हुन आग्रह गरे ।
दलहरू मिले तीन महीनामा संविधान
पाल्पा । संविधानसभाका उपाध्यक्ष पूर्ण कुमारी सुवेदीले राजनीतिक दलहरूको विवादले संविधान निर्माणमा अवरोध आएको बताएकी छन् । बिहीवार पाल्पाको झडेवास्थित किसान उच्चमाध्यमिक विद्यालयको स्वर्णमहोत्सव उद्घाटनमा बोल्दै उपसभामुख सुवेदीले दलहरूको सत्तामोहले संविधान निर्माण तथा शान्ति प्रक्रियामा नकारात्मक असर परेको बताइन् । ‘शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन र नयाँ संविधान लेख्न जनताले राजनीतिक दल र सभासद्लाई दिएको जिम्मेवारी दलहरूले कदापि भुल्न हुँदैन,’ उनले भनिन् ।
राजनीतिक दलहरूको सहमतिमा संविधान लेखनका विवादित विषयलाई मिलाउन सकेमा अबको तीन महीनामा संविधान लेखन कार्य सम्पन्न हुने सुवेदीको विश्वास थियो ।
Admin 2011-02-19











