कात्तिक २०, सिङ्गापुर । अमेरिकासँग जारी व्यापार विवाद सुल्झाउन वार्ता गर्न चीन तयार रहेको उच्च चिनियाँ अधिकारीहरुले बताएका छन् । दुई देशबीचको व्यापार विवादले कसैलाई पनि लाभ नहुने भन्दै चिनियाँ उप–राष्ट्रपति वाङ् क्विशानले मङ्गलवार यस्तो बताएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महीनाको अन्त्यमा चिनियाँ समकक्षी सि चिनफिङलाई भेट्दै छन् । सिसँगको भेट पूर्व दुई देशबीच व्यापारिक सम्झौता भएन भने चीनबाट अमेरिका आयात हुने थप २ खर्ब ६७ अर्ब डलर बराबरका वस्तुमा पनि आयात महसुल थपिने चेतावनी ट्रम्पले दिएका छन् । ‘चीन र अमेरिका दुबै बृहत व्यापार र आर्थिक सहकार्य भएको हेर्न चाहन्छन्,’ सिङ्गापुरमा आयोजित ब्लुम्बर्ग न्यू इकोनोमी फोरममा वाङ्ले भने ।
आपसी चासोको विषयमा र दुबैलाई स्वीकार्य हुने व्यापार समाधानबारे अमेरिकासँग कुरा गर्न चिनियाँ पक्ष तयार भएको वाङ्को भनाइ छ । अहिले विश्वले कयौं प्रमुख समस्याहरु भोगिरहेको र यसको समाधानको लागि चीन र अमेरिकाबीच नजिकबाट सहकार्य हुनु जरुरी रहेको बताइएको छ । सहकार्यबाट दुबै देशलाई लाभ हुने र टकराव गरेमा दुबैले गुमाउने उनको भनाइ छ ।
सोमवार पेचिङमा आयोजित एक आयात प्रदर्शनीमा सिले पनि यस्तै खालको अभिव्यक्ति दिएका थिए । उता, ट्रम्पले भने अमेरिकी प्रविधि कम्पनीहरुको बौद्धिक सम्पत्ति चोरेको, अमेरिकी व्यवसायलाई चिनियाँ बजार प्रवेशमा रहेको अवरोध नघटाएको र व्यापार घाटा फराकिलो भएको भन्दै चीनविरुद्ध युद्ध नै छेडेका छन् । एजेन्सी