कात्तिक २७, काठमाडौं (अस) । पाँचखाल–मेलम्ची (काभ्रे–सिन्धुपाल्चोक) तथा धादिङ–गोरखा सडकमा देखा परेका विद्युत, नापी र वनसँग सम्बन्धित समस्याहरु समाधान गर्ने समझदारी भएको छ । भूकम्पीय आकस्मिक सहायता आयोजना (ईईएपी) अन्तर्गत बनिरहेका काभ्रे–सिन्धुपाल्चोक तथा धादिङ–गोरखाका सडकको कार्य अघि बढाउने सन्दर्भमा मङ्गलवार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा आयोजित बैठकमा सम्बन्धित निकायका प्रमुख तथा प्रतिनिधिले आ–आफ्नो जिम्मेवारीको बाँकी कार्यलाई समन्वय गरी अघि बढाउने बताएका हुन् । यि सडक एसियाली विकास बैङ्कको सहयोगमा पुनःनिर्माण भइरहेका छन् ।
बैठकमा नेपाल विद्युत् प्राधिकरणका उप–कार्यकारी निर्देशक हरराज न्यौपानेले पाँचखाल–मेलम्ची सडकका पोलहरु सार्ने ठेक्का लागिसकेकाले काम अघि बढाउने जानकारी दिए । उनले सडक विभागले पोलहरु सार्ने विन्दुका बारेमा अग्रीम जानकारी दिए काम शीघ्र अघि बढाउन सहज हुने धारणा व्यक्त गर्दै धादिङ–गोरखाका बाँकी रहेका पोल हटाउन पनि मातहत निकायलाई निर्देशन दिने बताए ।
नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले पाँचखाल–मेलम्ची सडकको मालपोत कार्यालयबाट लगत कट्टाको विवरण प्राप्त भएलगत्तै सडक सीमा तथा व्यक्तिको जग्गा छुट्टयाइने जानकारी दिए ।
वन विभागका उपसचिव नवीन गिरीले राष्ट्रिय योजना आयोगबाट पाँचखाल–मेलम्ची सडक राष्ट्रिय प्राथमिकता प्राप्त सडक हो भन्ने व्यहोराको पत्र पाएपछि रुख कटानको काम अघि बढ्ने जानकारी गराए ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अति आवश्यक पुनःनिर्माण कार्यमा सम्बन्धित निकायहरुबीच समन्वय हुन आवश्यक रहेको धारणा व्यक्त गर्दै यी आयोजनाको अवरोध हटाउनका लागि विशेष ध्यान दिन आग्रह गरे ।
भूकम्पीय आकस्मिक सहायता आयोजनाअन्तर्गत पाँचखाल–मेलम्ची सडकमा विद्युतका पोलहरु हटाउन तथा नापीबाट सडक सीमा तथा व्यक्तिको जग्गा छुट्टयाउन बाँकी रहेको आयोजना निर्देशनालयले जानकारी दिएको छ । त्यसैगरी, धादिङ–गोरखा सडकमा पनि बिजुलीका पोल सबै हटाइसकिएका छैनन् भने मुआब्जा वितरण कार्यमा पनि सन्तोषजनक प्रगति भएको छैन ।
बैठकमा भूकम्पीय आकस्मिक सहायता आयोजनाका आयोजना निर्देशक सरोजकुमार प्रधान, एडीबीका वरिष्ठ आयोजना अधिकृत नरेश गिरीलगायतको उपस्थिति थियो ।