तनहुँ (अस) । पर्यटकीय क्षेत्र बन्दीपुरमा निर्माणाधीन केबलकारको शेयर तनहुँवासीले खरीद गर्न पाउने भएका छन् । यसअघि बन्दीपुरका बासिन्दालाई मात्रै प्राथमिकता दिँदै शेयर खुला गरिएकोमा अब भने तनहुँवासीका लागिसमेत शेयर खुला भएको निर्माण कम्पनीले जानकारी दिएको छ ।
बन्दीपुर केबलकार प्रालि, आरकेडी रियल स्टेट कम्पनी र पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडको लगानीमा केबलकार निर्माणको काम अगाडि बढिसकेको छ । बन्दीपुर केबलकार कम्पनीका अध्यक्ष तारानाथ उपाध्यायले शेयर खरीदका लागि जिल्लाका अन्यत्र ठाउँका सर्वसाधारणले समेत चासो देखाएकाले शेयर खुला गरिएको जानकारी दिए । कात्तिक २५ गतेदेखि सम्पूर्ण जिल्लावासीका लागि नै शेयर खरीद गर्न सकिने व्यवस्था मिलाइएको छ । उनका अनुसार आगामी मङ्सिर २५ गतेसम्म शेयर हाल्ने समयावधि थप गरिएको छ ।
कम्पनीले केबलकारमा स्थानीयका लागि ११ करोड २० लाख रुपैयाँको शेयर छुट्याएको छ । बन्दीपुरका ६० जनाले केबलकारको शेयरका लागि आवेदन दिइसकेका छन् । हाल केबलकारको ‘रिटेनिङ वाल’ र जगको काम भइरहेको उपाध्यायले जानकारी दिए । कम्पनीले १ सय रुपैयाँका दरले ११ लाख २० हजार कित्ता प्रवद्र्धक शेयर सर्वसाधारणका लागि खुला गरेको छ । कम्पनीले बन्दीपुर आसपासका जनतालाई ७ हजार ५ सय रुपैयाँ तिरेपछि १० वर्षसम्म केबलकारको सेवा प्रदान गर्ने घोषणासमेत गरिसकेको छ । कम्पनीलाई पब्लिक कम्पनीका रूपमा विकास गरी जनताको अपनत्व बढाइने आरकेडी रियल स्टेट कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए । पृथ्वीराजमार्गको बन्दीपुर गाउँपालिका–४ स्थित ठूल्ढुङ्गा स्वाँराबाट बरालथोकसम्म जोडिने केबलकारबाट १ घण्टामा २ सय जनाले वारपार गर्न सक्नेछन् । ५६ करोड रुपैयाँको लागतमा निर्माण हुने केबलकारमा दुई सामान बोक्नेसहित १७ ओटा बाक्सा रहनेछन् । करीब १५ महीनामा निर्माण सक्ने लक्ष्य राखिएको छ ।