
Latest posts by अभियान संवाददाता (see all)
काठमाडौं । पूर्वाधार क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । समृद्ध नेपाल निर्माणका लागि पूर्वाधार विकास महत्त्वपूर्ण रहेको ठहर गर्दै सरकारले यसलाई प्राथमिकताका साथ अघि बढाएको हो ।
पूर्वाधार विकासका लागि नेपालको आफ्नै स्रोत र साधान मात्र पर्याप्त छैन । यसका लागि छिमेकी मुलुकको सहयोग र सहकार्यसमेत आवश्यक ठानिएको छ । नेपालको पूर्वाधार विकासमा हालसम्म छिमेकी मुलुक भारतको योगदान उच्च छ ।
नेपाल र भारतबीच अन्योन्याश्रित आर्थिक एवम् व्यापारिक सम्बन्ध रहँदै आएको छ । दुई देशबीचको सरकार मात्र नभई निजीक्षेत्रको समेत समन्वयले यस्तो सम्बन्ध थप मजबूत र सुमधुर बनाउँदै लगेको छ ।
दुई देशका निजीक्षेत्रकै प्रयासमा भौतिक संरचना निर्माणबारे नेपालमै पहिलोपटक बृहत् प्रदर्शनी ‘कोनम्याक २०१८’को समेत आयोजना हुँदै छ । उक्त प्रदर्शनी यही मङ्सिर ६ देखि ८ गतेसम्म सञ्चालन हुनेछ । भारतीय उद्योग परिसङ्घ (सीआईआई)को मुख्य आयोजनामा भक्तपुरको सल्लाघारिस्थित भक्तपुर मैदानमा यो प्रदर्शनी हुने भएको हो । प्रदर्शनीमा नवीनतम निर्माण सामग्री र उपकरण राखिनेछ ।
भौतिक संरचना निर्माणबारे हुने प्रदर्शनीको नाम यसपटक ‘कोनम्याक २०१८’ दिइएको छ । प्रदर्शनीमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रका ख्यातिप्राप्त कम्पनीहरू सहभागी हुनेछन् ।
‘कोनम्याक २०१८’ नेपाली संस्करणका रूपमा आयोजना हुन लागेको हो । निर्माण क्षेत्रका लागि यो प्रदर्शनी कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ । यो प्रदर्शनीबाट नेपाल सरकार, नेपाली व्यवसायी र सम्बद्ध क्षेत्रका व्यक्तिहरूले शीप र क्षमता विकाससम्बन्धी उच्चतम फाइदा दिन सक्नेछन् । साथै, यसले नेपालको पूर्वाधार विकासको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
२ लाख वर्गफिट क्षेत्रफलमा रहने उक्त प्रदर्शनीमा १ सय ५० भन्दा बढी प्रदर्शकको सहभागिता रहेनछ । प्रदर्शनी ४ हजारभन्दा बढी व्यावसायिक अवलोकनकर्ताले अवलोकन÷भ्रमण गर्ने अनुमान छ । भारतीय कम्पनी एआईडीआईए परामर्शदाताको रूपमा रहेको यो प्रदर्शनीमा नेपाल निर्माण व्यवसायी महासङ्घले सघाएको छ । प्रदर्शनीको क्षेत्रीय साझेदारको रूपमा भारतीय कम्पनी आईसीमा रहेको छ भने प्रायोजकको रूपमा भारत र नेपालका ठूला निर्माण कम्पनी रहेका छन् ।
एक सरकारी तथ्याङ्कअनुसार गत आर्थिक वर्ष (२०७४/७५) १२ खर्ब ४३ अर्ब २९ करोड रुपैयाँको वस्तु तथा सेवाको आयात र ८१ अर्ब १९ करोड मूल्यबराबरको नेपाली वस्तु निर्यात भएको छ । आयात र निर्यात गर्दा नेपालको कुल वैदेशिक व्यापार १३ खर्ब २४ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।
निर्यातको तुलनामा अत्यधिक वस्तुको आयातले व्यापार घाटा २७ दशमलव ५३ प्रतिशत बढेको छ । गत आवको व्यापार घाटा ११ खर्ब ६२ अर्ब १० करोड पुगेकोे भन्सार विभागका महानिर्देशक तोयम रायाले बताए । कुल वैदेशिक व्यापारमा आयातको ९३ दशमलव ९ प्रतिशत र निर्यातको ६ दशमलव १ प्रतिशत हिस्सा छ ।
अघिल्लो आर्थिक वर्ष (२०७३/७४) १० खर्ब ५७ अर्ब ३३ करोड वैदेशिक व्यापार भएको थियो । अघिल्लो आवमा भएको व्यापारमध्ये ९ खर्ब ८४ अर्ब ३० करोड आयात हो भने ७३ अर्ब ३ करोड निर्यात हो ।
नेपालबाट विश्व बजारमा भएको व्यापारमध्ये ५७ दशमलव ४ प्रतिशत छिमेकी मुलुक भारतमा भएको छ भने अमेरिकामा ११ दशमलव ३ प्रतिशत, जर्मनीमा ९ प्रतिशत, टर्कीमा ५ दशमलव ८ प्रतिशत र अन्य देशमा २१ दशमलव ७ प्रतिशत निर्यात भएको छ । नेपालबाट ३४ देशमा नेपाली वस्तु निर्यात भएको छ ।
विश्व बजारबाट भएको आयातमध्ये ६५ दशमलव २ प्रतिशत र ५७ दशमलव ४ प्रतिशत निर्यात भारतसँग भएको तथ्याङ्क विभागको छ । अर्को छिमेकी मुलुक चीनबाट १२ दशमलव ९ प्रतिशत वस्तु आयात भएको छ । कुल आयातमा १९ दशमलव १ प्रतिशत हिस्सा अन्य देशको छ । भारत र चीनबाहेक विश्वका १ सय ४० देशबाट ४ हजार ७ सय २५ प्रकारका सामग्री नेपाली बजारमा भित्रिएका छन् । नेपालबाट अमेरिकामा ११ दशमलव ३ प्रतिशत, जर्मनीमा ९ प्रतिशत, टर्कीमा ५ दशमलव ८ प्रतिशत र अन्य देशमा २१ दशमलव ७ प्रतिशत निर्यात भएको हो ।
गत आव आयात भएका वस्तुमध्ये पाँच वस्तुको समूहले करीब आधा अर्थात् ४९ दशमलव २८ प्रतिशत हिस्सा ओगटेको छ । गएको आवमा पेट्रोलियम पदार्थ, आइरन एण्ड स्टिल, मेशिनरी सामान, सवारीसाधन र विद्युतीय सामान तथा उपकरण बढी भित्रिने वस्तुको उत्कृष्ट पाँच सूचीमा परेका छन् ।
नेपालबाट ९ अर्ब २० करोडको कफी, ८ अर्ब ४३ करोडको कच्चा धागो, ७ अर्ब ३८ करोडको कार्पेट, ६ अर्ब २८ करोडको तयारी पोशाक र ५ अर्ब १६ करोडको आइरन एण्ड स्टील बाह्य देशमा निर्यात भएको छ ।
गत आवमा सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थको भएको छ । १ वर्षमा १ खर्ब ९७ अर्ब ८५ करोड रुपैयाँको पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ । गएको आवमा १ खर्ब २४ अर्ब ४४ करोडको मेशिनरी सामान, ८५ अर्ब ३० करोडको सवारीसाधन र ७८ अर्ब २८ करोडको विद्युतीय सामान तथा उपकरण आयात भएको छ । १ खर्ब २५ अर्ब ८८ करोडको आइरन एण्ड स्टील आयात भएको भन्सार विभागको तथ्याङ्क छ ।