मङ्सिर १९, नयाँ दिल्ली (भारत) । अर्बौ रुपया बराबरको ऋण लिएर बेलायत भागेका भारतीय व्यापारी विजय माल्याले आफूले तिर्न बाँकी ९० अर्ब रुपया बराबरको सबै ऋण चुक्ता गरिदिने बताएका छन् । ६२ वर्षिय माल्याले बुधवार ट्विट मार्फत यस्तो बताएका हुन् । यद्यपि, ऋणको ब्याज भुक्तानीबारे भने ट्विटमा केही पनि बताइएको छैन । भारतका ‘लिकर किङ्ग’ भनेर चिनिने माल्या विमान सेवा कम्पनी किङफिशरका मालिक पनि हुन् ।
व्यवसाय राम्रो अवस्थामा छँदा आफूले सरकारलाई हजारौं करोड भारु राजस्व पनि तिरेको ट्विटमा भनिएको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल १ सय ४० डलर हुँदा किङ्गफिशरको घाटा बढ्यो र यही क्रममा बैङ्कहरुको पैसा डुबेको ट्विटरमा उनले भनेका छन् । आफूले बैङ्कको सबै सावा तिरिदिने र सो रकम लिन उनले बैङ्कहरुसँग आग्रह पनि गरेका छन् ।
राजनीतिक व्यक्तित्व र सञ्चार माध्यमहरुले आफूलाई सरकारी बैङ्कको पैसा खाएर भागेको व्यक्ति भनेर आफूलाई बदनाम बनाएको गुनासो समेत माल्याले ट्विटमा गरेका छन् । आफूबारे सबै गलत कुरा मात्रै फैलाइएको माल्याको गुनासो छ । बृहत राफसाफका लागि कर्नाटकको उच्च अदालतमा अपिल पनि गरेको तर यसबारे भने कसैले कुरा नउठाएको ट्विटमा उनले भनेका छन् । डिसेम्बर १० मा बेलायतको वेष्टमिनिष्टर म्याजिष्ट्रेट्स अदालतले माल्याको सुपर्दगीसम्बन्धी मुद्दाबारे सुनवाइ गर्दैछ । एजेन्सी