मङ्सिर २०, सिङ्गापुर । सय वर्ष पुगेको अर्बपति के गर्लान् ? आफ्ना पुराना दिन सम्झिदै, घरमा आराम गरेर नाती नातिनासँग रमाइलो गर्दै दिन बिताउलान् । आफूलाई मन लागेको काम र कुरा गरेर दिनहरु कटाउँलान् । तपाई पनि यस्तै सोच्नु हुन्छ भने तपाई गलत हुनुहुन्छ । प्यासिफिक इन्टरनेशनल लाइन्स (पीआईएल)का संस्थापक चाङ युन चुङको लागि त घर बस्नु भनेको के हो नै थाहा छैन । कम्पनीको कार्यकारी अध्यक्षको पदको जिम्मा छोरा तेओ सियोङ सेङलाई दिइसकेको भएपनि उनी हरेक दिन अफिश जान्छन् ।
‘यो त मेरो बानी हो,’ अमेरिकी च्यानल सीएनबीसीको म्यानेजिङ एशिया नामक कार्यक्रममा केही दिन अघि चाङले भने । चाङ यसै वर्षको मार्चमा १ सय वर्ष पुगे । सन् १९६७ मा २ ओटा सेकेन्ड ह्यान्ड जाहाजको साथमा चाङले पीआईएलको स्थापना गरेका थिए । अहिले यो कम्पनी विश्वको २० ठूला शिपिङ कम्पनीमध्ये एक हो । कम्पनीसँग कयौं जहाज छन् । कम्पनीले १८ हजार कर्मचारीलाई रोजगारी पनि दिइरहेको छ । चाङ आफ्नै बलबुतामा अर्बपति बनेका हुन् । अमेरिकी व्यवसायीक पत्रिका फोर्ब्सका अनुसार बिहीवार चाङको रियल टाइम नेटवर्थ १ अर्ब ९० करोड डलर छ । उनी सिङ्गापुरको १५ औं सर्वाधिक धनाढ्य पनि हुन् ।
उनी अहिले कम्पनीको चेयरम्यान इमिरिटस हुन् । उनी हरेक दिन कम्पनीको दैनिक गतिविधि हेर्न सिङ्गापुरस्थित पीआईएलको मुख्यालय दैनिक रुपमा जान्छन् । चाङ बिहान उठ्नासाथ दिनभरि गर्ने गतिविधिको सूचि तयार पार्छन् । अनि कार्यालयको हरेक विभागमा जान्छन् । यो त उनको लागि दिमागलाई सक्रिय राख्ने तरिका हो । ‘म घरमा बस्नै सक्दिन, मलाई घरमा बस्न अति अल्छी लाग्छ,’ उनले भने । कार्यालय जानु दैनिकीको हिस्सा मात्रै होइन् ।
उनी त्यहाँ गएर छोरा तेओलाई आफ्नो जिम्मेवारी कसरी पूरा गर्ने भन्ने मार्गनिर्देशन पनि दिइरहन्छन् । तेओले बिहान र खाजा खाइसके पछि दिउँसो दिनँहु २ पटक बुबासँग परामर्श गर्छन् । चाङको परामर्श उनको लागि निकै महत्वपूर्ण साबित भएको छ । रिस नियन्त्रण र उच्च तनावको स्थितिमा पनि शान्त भएर कसरी काम गर्ने भन्ने कुरा तेओले चाङ्बाटै सिकेका हुन् । युवावस्थामा छँदा स-सानो कुरामा पनि छिट्टै रिसाउने बानी थियो तेओको । तर आफ्ना आसपास भएका मानिसहरुले शक्ति वा अधिकार हेरेर होइन इमान्दारिता, गुण हेरेर तिम्रो आदरसम्मान गर्छन् भन्ने कुरा बुबाले नै आफूलाई सिकाएको तेओ बताउँछन् ।
‘यो निकै गाह्रो काम हो, तर म विस्तारै सिकिरहेको छुँ,’ तेओले भने । यस गुणले तेओलाई कयौं प्रतिकुल स्थितिमा पनि शान्त भएर व्यवहार गर्न सिकाएको छ । यति बुढो भइसक्दा पनि आफू खुसी रहन सकेको र यो सबै मानसकिताको कारणले भएको चाङ बताउँछन् । चाङ् भन्छन्, ‘म कहिल्यै रिसाउँदिन, म रिसाउनै सक्दिन, कोही रिसाउछ उसले आफूलाई नियन्त्रण गर्न नै सक्दैन ।’ एजेन्सी