साउन २८, विराटनगर ।
लामो समयदेखि व्यावसायिक कारोबार गर्दै आएको नेशनल ट्रेडिङ लिमिटेडको विराटनगरस्थित शाखा कार्यालयको व्यावसायिक कारोबार सामान अभावका कारण ठप्प भएको छ । साथै, सामान खरीद गर्ने उपभोक्ता पनि न्यून हुँदै गएको छ । औद्योगिक एवम् व्यावसायिक रूपले महत्वपूर्ण विराटनगर बजारमा व्यावसायिक प्रतिस्पर्धा गर्ने बेलामा विक्री वितरणका लागि सामान नआउँदा कारोबार ठप्प भएको सम्बद्ध कर्मचारीले बताएका छन् । ५ वर्षदेखि विक्रीका लागि सामान आयात नभएको र विगतमा आएका सामान सबै विक्री भएपछि कारोबारमा समस्या उत्पन्न भएको शाखा प्रमुख तीर्थराज नेपालले बताए ।
पटकपटक विक्रीका लागि सामान माग गरेको तर सुनवाइ नभएको शाखामा कार्यरत कर्मचारीसमेत आक्रोशित भएका छन् । गत आवमा सो शाखाबाट रू. २६ लाख ८९ हजारको सामान मात्र विक्री भएको थियो । यसअघि आव २०६८/६९ मा रू. ६७ लाख मूल्यबराबरको सामान विक्री भएको थियो । हाल त्यहाँ २० जना कर्मचारी छन् । त्यहाँको खाली भवन रू. १ लाख ४७ हजार मासिक रूपमा भाडा लगाइएको छ । रासस




