भदौ १, सिङ्गापुर (चीन) । अमेरिकी आर्थिक अनिश्चयका कारण गतहप्ता सुनको अन्तरराष्ट्रिय बजार भाउ ५ प्रतिशतले बढेको छ । गतहप्ताभरि प्रायः बढ्दो क्रममा रहेको सुनको भाउ शुक्रवार बजार बन्द हुँदा बिहीवारको तुलनामा १ दशमलव शून्य ७ प्रतिशतले बढेर २ महीनाकै उच्च बिन्दुमा उक्लिएको थियो । शुक्रवार न्यूयोर्क मर्कण्टायल एक्सचेञ्जको कोमेक्स डिभिजनमा व्यापार बन्द हुँदा सुनको भाउ प्रतिऔंस १ हजार ३ सय ७१ डलर ७० सेण्ट कायम भएको थियो ।
त्यसैगरी, बजार बन्द हुँदा स्पट गोल्डको प्रतिऔंस भाउ १ हजार ३ सय ७६ डलर १२ सेण्ट कायम भयो । स्पटको भाउ १ हजार ३ सय ५८ डलर शून्य २ सेण्टको न्यून बिन्दु र १ हजार ३ सय ७८ डलर ९५ सेण्टको उच्च बिन्दुबीच रह्यो । बिहीवार व्यापार बन्द हुँदा स्पट १ हजार ३ सय ६१ डलर ६० सेण्टमा थियो ।
त्यसैगरी, अगष्ट डेलिभरीको यूएस गोल्ड फ्युचर्सको भाउ पनि प्रतिऔंस १ हजार ३ सय ७६ डलर ३० सेण्ट कायम भयो । सुनको भाउ बढाउनमा अमेरिकी उपभोक्ता मनोबल र नयाँ घर निर्माणसम्बन्धी तथ्याङ्क अपेक्षितभन्दा कमजोर रहनुले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । ‘अर्थतन्त्र पुनः अनिश्चयतिर छिर्दैछ, यसले गर्दा सुनमा लगानी गरेर पैसा कमाउनेहरू सोच्न बाध्य भएका छन्, ’फ्युचर ब्रोक्रेज मरेक्स स्पेक्टर्नका कालोर्स प्रेज–सन्तल्लाले भने । एजेन्सी




