पुस २६, वाशिंगटन डीसी (अमेरिका) । विश्वका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस र उनकी श्रीमति म्याककेन्जी बेजोसले सम्बन्ध विच्छेद गरेका छन् । २५ वर्षदेखि विवाह वन्धनमा रहेका दम्पत्तिले बुधवार ट्विटरमा संयुक्त विज्ञप्ति जारी गर्दै छुट्टिने घोषणा गरेका हुन् । लामो समयसम्म एक-अर्कासँग अनौपचारिक रुपमा छुट्टिएर बसेपछि अन्नतः आफूहरुले छुट्टिने र बाँकीको जीवन साथीको रुपमा बिताउने निर्णय गरेको विज्ञप्तिमा बेजोस दम्पत्तिले भनेका छन् ।
५४ वर्षीय बेजोस अमेरिकी अनलाइन खुद्रा कम्पनी एमजनका संस्थापक, अध्यक्ष र सीईओ हुन् । उनले म्याककेन्जीसँग विवाह गरेको एक वर्ष पछि अर्थात् सन् १९९४ मा एमजन स्थापना गरेका थिए । बेजोस अहिले विश्वको सबैभन्दा धनी व्यक्ति हुन् । अमेरिकी पत्रिका ब्लुम्बर्गको बिलिनेयर इन्डेक्स अनुसार अहिले उनको नेटवर्थ १ खर्ब ३७ अर्ब डलर छ । यो विश्वका दोस्रो धनी व्यक्ति बिल गेट्सको तुलनामा ४५ अर्ब डलर धेरै हो ।
४८ वर्षिय म्याककेन्जी भने पेशाले साहित्यकार हुन् । उनका २ ओटा उपन्यास द टेस्टिंग अफ लुथर तथा ट्रयाप्स सार्वजनिक छन् । यी दुईको पहिलो भेट एउटा अन्तर्वार्ताको क्रममा भएको थियो । तीन महीनाको प्रेम सम्बन्धपछि यिनीहरुले सन् १९९३ मा विवाह गरेका थिए । बेजोस दम्पत्तिका चार सन्तान छन्, तीन छोरा र एक धर्म छोरी ।
डिभोर्सपछि म्याककेन्जीले बेजोसको आधा सम्पत्ति पाउने चर्चा चलेको छ । यदि यस्तो भयो भने उनले ६९ अर्ब डलर पाउनेछिन् । म्याककेन्जी विश्वकि सबैभन्दा धनी महिला बन्नेछिन् र समग्र धनीहरुको सुचिमा पाँचौ स्थानमा आउनेछिन् । एक टेलिभिजन प्रस्तोतासँग बेजोसको अफेयरका कारण म्याककेन्जीसँग डिभोर्स हुन लागेको खबर सार्वजनिक भएका छन् । डिभोर्सले एमजनमा १६ प्रतिशतभन्दा धेरै शेयर रहेको बेजोसको नियन्त्रण प्रभाव पर्ने हो कि भन्ने चिन्ता शेयरधनीमा देखिन थालेको छ । एजेन्सी