काठमाडौं (अस) । सिप्रदी ट्रेडिङ प्रालिले हालै नेपाली बजारमा ल्याएको टाटा एनआरजी पोखरामा सार्वजनिक गरेको छ । टाटाको पोखराका लागि आधिकारिक विक्रेता दीप मोटर्स प्रालिले एक कार्यक्रमबीच उक्त कार सार्वजनिक गरेको हो ।
यो आकर्षक डिजाइनमा निर्माण गरिएको कम्प्याक्ट युटिलिटी भेइकल (एसयूभी) हो । ग्राहकको माग बढेसँगै एनआरजी पोखरामा सार्वजनिक गरिएको कम्पनीले जानकारी दिएको छ । ११९९ सीसीयुक्त यस कारमा ३ सिलिन्डर पेट्रोल इन्जिन राखिएको छ । जसले ६००० आरपीएममा ८४ पीएस अधिकतम पावर र ३५०० आरपीएममा ११४ एनएम टर्क उत्पादन गर्दछ । यसलाई आकर्षक बनाउन दुवै साइडमा मस्कुलर क्लाइडिङ तथा अगाडिपछाडि बम्परमा सिल्भर रङको स्किड प्लेट राखिएको छ । यसको क्याबिन र छतमा पू्रै कालो रङ प्रयोग गरिएको छ । क्याबिनमा कतैकतै सुन्तला कलरमा तानिएका रेखाले कार अझै आकर्षक देखिन्छ । १४ इन्च डबल टोनको ह्वील प्रयोग गरिएको यो कारको ग्राउन्ड क्लियरेन्स १८० एनएम रहेको छ । यसमा थ्रीडी इन्फोटेन्मेन्ट सिस्टमको ५ इन्चको टच–स्क्रिन छ । यस कारमा हर्मनका इन्फोटेन्मेन्ट सिस्टमका ८ स्पीकर जडान गरिएको छ, जसले म्युजिक सिस्टम उत्कृष्ट बनाउन मद्दत गर्दछ । पछाडि २४२ लिटरको बुट स्पेस रहेको यसको अगाडि २ ओटा बोतल राख्ने ठाउँ छ ।
यो कारको नेपाली मूल्य २९ लाख ५५ हजार राखिएको छ । सार्वजनिक भएसँगै पोखरामा २ ओटा कार विक्री भएको र ४ ओटा बुकिङ भएको कम्पनीले जानकारी दिएको छ ।