भैरहवा । सिद्धार्थनगर नगरपालिका, रूपन्देहीले नगरलाई पर्यटकीय शहरको रूपमा विकास गर्ने गरी विभिन्न योजना ल्याएको छ, जसअन्तर्गत नगरलाई बुद्धको जीवनीसँग जोड्ने गरी अत्याधुनिक गेटको निर्माण शुरू गरेको छ । नगरपालिकाले बेलहियास्थित डन्डा नदीछेउमा बनाउन लागेको पर्यटकीय द्वारको बुधवार एक कार्यक्रमबीच प्रतिनिधि सभा सदस्य घनश्याम भुसालले शिलान्यास गरेका हुन् ।
प्रतिनिधि सभा सदस्य भुसालले लुम्बिनीलाई केन्द्रमा राखेर यस क्षेत्रको विकास गर्नुपर्ने बताए । ‘लुम्बिनी हाम्रो गहना हो, यसलाई जोडेर एकीकृत विकास गर्नुपर्छ,’ उनले भने ।
नगरप्रमुख हरिप्रसाद अधिकारीले नेपाल आउने पर्यटकले बुद्धभूमि आइपुगियो भन्ने सन्देश पाऊन् भन्ने उद्देश्यले कलात्मक द्वार निर्माण गर्न लागिएको बताए । नगरमा न्यून बजेट हुँदाहुँदै पनि विभिन्न माध्यमबाट स्रोत जुटाई पर्यटन प्रवर्द्धन गर्न लागिएको उनले जानकारी दिए । ‘नगरभित्र बढीभन्दा बढी पर्यटक भिœयाउन द्वारले सहयोग पुग्नेछ,’ उनले भने ।
४ करोड ७५ लाखमा २ वर्षभित्र सक्नेगरी प्रकृति निर्माण सेवा प्रालि भैरहवाले निर्माणको जिम्मा पाएको छ । द्वार ५० मिटर लम्बाइ, २३ मिटर ८० सेन्टिमिटर चौडाइ तथा सडकदेखि साढे २९ मिटर अग्लो हुनेछ । द्वारलाई नेपालको चिनारी झल्कने कलात्मक वस्तु, स्वयम्भूको आँखासहितको बुद्धको चिनारी, अशोका, स्तुपा, विभिन्न १२ ओटा बुद्ध मूर्ति, हर्निका, आर्च, स्पायर गजुर, हरियाली जोन, नेपालको राष्ट्रिय झण्डाका साथै बुद्ध झण्डाले सिँगारिने वरिष्ठ इन्जिनियर यमलाल पाण्डेले बताए ।