कास्की (अस) । गण्डकी मेडिकल कलेज (जीएमसी)को शुल्क विवाद उग्र बन्दै गएको छ । कलेज प्रशासनले सरकारले तोकेको भन्दा बढी शुल्क असुलेको भन्दै विद्यार्थीले ओपीडी र मेडिकल सुपरिटेन्डेन्टको कार्यकक्षमा मंगलवारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका छन् । विद्यार्थीले १ साताअघि थालेको आन्दोलनले अस्पतालको दैनिक स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ ।
विद्यार्थीले यसअघि रिठ्ठेपानीमा रहेको कलेजमा पनि तालाबन्दी गरेका थिए । जीएमसी प्रशासनले आफूहरूबाट लिएको अतिरिक्त शुल्क फिर्ता नगरेसम्म तालाबन्दी जारी रहने आन्दोलनरत विद्यार्थीले चेतावनी दिए । अतिरिक्त शुल्क फिर्ता हुनुपर्ने, सरकारको निर्णय कार्यान्वयन गर्नुपर्ने र विद्यार्थीले तिरेको रकमको बिल तत्काल उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ ।
उक्त मागबारे छलफल गर्न मंगलवार कलेजको बोर्ड बैठक बसे पनि ठोस निर्णय नगरेकोले बाध्य भएर तालाबन्दी गर्नुपरेको विद्यार्थीले बताएका छन् । कलेज प्रशासनलाई राज्यले तोकेको भन्दा बढी शुल्क शुल्क नउठाउन, यसअघि उठाएको रकम तत्काल फिर्ता गर्न र विना बिलमा रकम उठाउन बन्द गर्न आग्रह गर्दा समेत सुनुवाइ नभएको गुनासो विद्यार्थीले गरेका छन् ।
कलेजका प्राचार्य डा. रवीन्द्र श्रेष्ठले सरकारले तोकेको शुल्कमा कलेजले विद्यार्थीलाई पढाउने नसक्ने बताए । कलेजमा हुने खर्चका आधारमा नियम अनुसार नै विद्यार्थीसँग शुल्क लिएको उनको जिकीर छ । ‘विद्यार्थीले गर्ने खर्चको आधारमा शुल्क लिएको हो,’ उनले भने, ‘हामी नियम अनुसार नै चलेका छौं । गल्ती भए टीयूले छानबिन गरेर कारबाही गर्छ ।’
कलेजले प्रतिविद्यार्थी वार्षिक १ लाखदेखि ३ लाखसम्म शुल्क असुलेको विद्यार्थीको आरोप छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्स्टिच्युट अफ मेडिसिन (आईओएम)ले नर्सिङततर्फ ४ वर्षका लागि ७ लाख ४८ हजार र एमबीबीएसतर्फ ५ वर्षका लागि ४२ लाख ४५ हजार शुल्क तोकेको छ । तर कलेजले ५ लाखदेखि १५ लाखसम्म बढी रकम मागेको विद्यार्थीले बताएका छन् ।