विजयशेखर भट्टराई
इलाम । इलामको निर्माणाधीन सुकिलुम्बा विमानस्थल निर्माणले गति लिने भएको छ । विमानस्थल आयोजना प्रमुख पुष्प न्यौपानेले विमानस्थल कालोपत्र गर्न बहुवर्षे ठेक्का खोल्ने तयारी गरिएको जानकारी दिएका छन् ।
गत साउनमा तारा एयरको विमान परीक्षण उडान सफल भएसँगै विमानस्थलको निर्माण सुस्ताएको थियो । जन अपेक्षाअनुसार धावन मार्ग कालोपत्रका लागि इष्टिमेट डिजाइन तयार भएको आयोजना प्रमुख न्यौपानेले जानकारी दिए । विमानस्थल धावन मार्गका लागि चालू वर्षमा ४ करोड बजेट छुटिएको र करीब १५ करोडभन्दा बढी खर्च हुने अनुमान रहेको छ ।
७ सय मिटर लम्बाइ र २० मिटर चौडाइको कालोपत्र धावन मार्ग बनाउन लागिएको उनले जानकारी दिए । यसबाहेक जहाज पार्किङका लागि ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको पार्किङ स्थल समेत कालोपत्रे बनाउने योजना छ । धावनमार्गलाई कालोपत्र गर्ने र टर्मिनल भवनलगायत अत्यावश्यक पूर्वाधार बनाउने हो भने एक वर्षमा नियमित उडान गर्न सकिने न्यौपानेले बताए ।
सबै पूर्वाधार निर्माण गरेर उडान गर्न अझै रू. ४५ करोड आवश्यक पर्ने उनको भनाइ छ । यस क्षेत्रको पर्यटन विकासलाई समेत प्रत्यक्ष फाइदा पुग्ने ठानिएको विमानस्थलको काम छिटो सम्पन्न गरेर उडान सञ्चालन गर्न स्थानीयले माग गर्दै आएका छन् ।