माघ २९, काठमाडौं (अस) । शिवम् सिमेन्टले प्रिमियम घटाएर आईपीओको जारी गर्ने भएको छ । यस अघि प्रतिकित्ता रू. ४ सयमा सर्वसाधारणलाई आईपीओ जारी गर्न स्वीकृति पाएको शिवमले रू. १ सय घटाएर रू. ३ सयमा आईपीओ जारी गर्ने भएको हो । यस अघि बोर्डले प्रतिशेयर रू. १०० अंकित दरमा प्रिमियम बापत रू. ३०० थप गरी रू. ४०० मा सर्वसाधारणलाई आईपीओ विक्री गर्न स्वीकृति दिएको थियो ।
शिवमले फागुन ६ देखि ९ गतेसम्म ४१ लाख २० हजार कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्नेछ । कम्पनीले कुल ४४ लाख कित्ता साधारण शेयर मध्ये कम्पनीका कर्मचारीहरुलाई २ लाख २० हजार कित्ता र सामूहिक लगानी कोषहरुलाई २ लाख २० हजार कित्ता छुट्याएकोमा माग बमोजिम ६० हजार कित्ता शेयर बाँडफाँट गरी बाँकी शेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो ।
शिवमले सर्वसाधारणलाई जारी गर्नुपूर्व उद्योग प्रभावित हेटौडा जिल्लाका स्थानियलाई प्रतिकित्ता रू. १ सय अंकित मूल्यमा प्रिमियम बापत रू. २ सय थप गरी रू. ३ सयका दरमा गत साउनमै शेयर विक्री गरिसकेको छ । सर्वसाधारणको आईपीओ मूल्य घटाएसँगै सोही दरमा स्थानियको शेयरको मूल्य पनि घटाएको छ । जसका कारण यस अघि बाँडफाँट भईसकेको शेयरमा पनि बढी मूल्य बराबरको थप शेयर दिने निर्णय कम्पनीले गरेको छ ।
शिवमले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ८ लाख ८० हजार कित्ता शेयर निष्कासन गरेकोमा २ लाख २ सय ४० कित्तामात्र बाँडफाँट भएको छ । बाँकी रहेको ५ लाख ७९ हजार ६ सय ४० कित्ता शेयर प्रिमियम सहित रू. २ सयमा सर्वसाधारणलाई जारी गरेकै अवधिमा खुला हुने भएकाले सो मूल्यमा स्थानियले पनि आवेदन गर्न सक्नेछन् । यस अधि बढी मूल्यमा खरीद गर्ने स्थानियलाई १ लाख १ सय २० कित्ता शेयर थप प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।
शिवमले स्थानियलाई शेयर जारी गर्दा न्यून आवेदन परेपछि सर्वसाधारणलाई जारी गर्नुपूर्व प्रिमियम मूल्य घटाउन बोर्डसँग स्वीकृति मागेको थियो । कम्पनीको माग बमोजिमनै अवस्था हेरेर बोर्डले प्रिमियम मूल्य घटाएर आईपीओ जारी गर्न स्वीकृति दिएको बताएको छ ।
शेयर निष्कासन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । आइपीओमा फागुन १ गतेदेखि स्थानियले पनि सि-आस्बा मार्फत आवेदन दिन सक्ने व्यवस्थालाई शिवमका स्थानियले पनि लागू गर्न सक्ने व्यवस्था छ । स्थानियले न्यूनतम ५० देखि अधिकतम ५ लाख ७९ हजार ६ सय ४० कित्तासम्म शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् भने सर्वसाधारणले न्यूनतम ५० देखि अधिकतमा ४४ लाख कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था छ ।
कस्तो छ कम्पनीको अवस्था
कम्पनीले मकवानपुर जिल्लाका सुकौरा गाविस वडा नम्बर ३, ४ र ६ तथा ठीगन गाविस वडा नम्बर ९ मा रहेको राष्ट्रिय बन क्षेत्रको १० दशमलव २६ हेक्टर बन क्षेत्र चुनढुङ्गा उत्खननका लागि उपयोग गर्न नेपाल सरकारबाट २०७१ कात्तिक २७ गते अनुमति प्राप्त गरको छ । प्राप्त अनुमति अनुसार भोगाधिकार सो मितिबाट १५ वर्षसम्म बहाल रहनेछ ।
कम्पनीको अधिकृत पूँजी रू. ७ अर्ब रहेको छ भने जारी पूँजी रू. ४ अर्ब ४० करोड छ । हाल रू. ३ अर्ब ८७ करोड २० लाख चुक्तापूँजी रहेको यस कम्पनीको सर्वसाधारणका लागि छुट्याएको रू. ५२ करोड ८० लाख बराबरको शेयर बाँडफाँट पश्चात रू. ४ अर्ब ४० करोड पुग्नेछ । आर्थिक वर्ष २०७४/७५ को चैत मसान्तसम्म कम्पनीले रू. ९३ करोड ६६ लाख ६४ हजार खुद नाफा आर्जन गरेको छ । चालू आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले रू. १ अर्ब ४३ करोड ३० लाख ९७ हजार खुद नाफा गर्ने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तमा कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १ सय ५५ दशमलव ९१ रहेको छ ।