अधिवक्ता सुशील काजी बानियाँ
अभियान ल फर्म, बागबजार
बैङ्किङ कसुर तथा सजाय
विसं १९९४ सालमा नेपाल बैङ्क लिमिटेडको स्थापनासँगै शुरू भएको आधुनिक बैङ्किङ प्रणालीले आजसम्म आइपुग्दा निकै आरोह–अवरोह पार गरेको छ । बैङ्क तथा वित्तीय संस्थाको विकाससँगै यसमा हुने अनियमितता, भ्रष्टाचार, गैरकानूनी कार्य पनि निकै बढेको छ । बैङ्क तथा वित्तीय संस्थाबाट लिएको कर्जा असुलीका लागि ऋणीबाट ऋण असुल गर्ने प्रयोजनका लागि बैङ्क तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ लागू भएको सन्दर्भमा बैङ्क तथा वित्तीय संस्थाको कारोबारमा हुन सक्ने कसुरजन्य कार्यबाट बैङ्क तथा वित्तीय प्रणालीमा पर्न सक्ने असर र जोखीम न्यून गरी बैङ्क तथा वित्तीय प्रणालीप्रति विश्वसनीयता अभिवृद्धि गर्न तथा बैङ्किङ कसुरका लागि सजाय गर्न बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ लागू गरिएको हो । यो ऐन नेपालमा मात्र होइन, नेपालमा बैङ्किङ कसुर गरी विदेशमा रहे बसेका जुनसुकै व्यक्ति वा संस्थालाई समेत लागू हुने गरी क्षेत्र विस्तार गरिएको छ ।
ऐनले नक्कली कागजात पेश गरी खाता खोल्ने वा नक्कली कागजात पेश गरेको जानीजानी खाता खोलिदिने, कानूनबमोजिमबाहेक काल्पनिक वा अन्य व्यक्ति वा संस्थाको नाममा खाता खोल्ने वा खाता खोलिदिने, आफूले काटेको चेक खाम्ने रकम आफ्नो खातामा नभएको जानीजानी चेक काटी भुक्तानी लिने वा दिने, कसैले अनधिकृत रूपमा अन्य व्यक्ति वा संस्थाको चेक, चेकबूक वा खाताको विवरण माग्ने वा दिने, अन्य व्यक्तिको खाताबाट अनधिकृत रूपमा रकम निकाल्न वा भुक्तानी दिने कार्य, क्रेडिट कार्ड, डेबिटकार्ड, एटीएम कार्ड वा अन्य विद्युतीय माध्यमको दुरुपयोग वा अनधिकृत प्रयोग गरी भुक्तानी लिने वा दिने कार्यलाई बैङ्किङ कसुर मानिएको छ ।
त्यसैगरी कर्जा लिँदा वा दिँदा पनि अनधिकृत रूपमा कर्जा लिन–दिन नहुने, गलत, झूटा वित्तीय विवरण पेश गरी वा कृत्रिम व्यवसाय खडा गरी कर्जा लिने वा दिने कार्य, धितोको अस्वाभाविक मूल्याङ्कन गरी कर्जा लिने वा दिने, झूटा विवरणका आधारमा परियोजनाको लागत अस्वाभाविक रूपमा बढाई बढी कर्जा लिने वा दिने कार्य बैङ्किङ कसुर हो । त्यस्तै, आफूलाई प्राप्त भएको अख्तियारी वा स्वीकृत सीमाबाहिर गई कर्जा, सुविधा वा सहुलियत प्राप्त गर्ने वा उपलब्ध गराउने, कुनै एक बैङ्क वा वित्तीय संस्थालाई एकपटक दिइसकेको सुरक्षण रीतपूर्वक फुकुवा नभई वा सो सुरक्षणले खामेको मूल्यभन्दा बढी गरी सोही सुरक्षण अर्को बैङ्क वा वित्तीय संस्थामा राखी पुनः कर्जा लिने वा दिने कार्य एवम् वास्तविक रूपमा व्यवसाय सञ्चालन गर्न सक्ने वित्तीय हैसियत नभएको वा आफूले अनुचित प्रभाव पार्न सक्ने व्यक्तिको नाममा संस्था स्थापना गराई त्यस्तोे संस्थामार्फत कर्जा लिने वा दिने कार्यसमेत बैङ्किङ कसुर हो ।
जुन प्रयोजनका लागि कर्जा लिएको हो, सोही प्रयोजनमा नलगाई अन्यत्र प्रयोग गरी वा गराई कर्जाको दुरुपयोग गर्ने गराउने कार्य, संस्थाको सञ्चालक, शेयरधनी, संस्थापक, प्रमुख कार्यकारी अधिकृत, कर्मचारी, सल्लाहकार एजेण्ट वा सम्बद्ध व्यक्ति, संस्था वा परिवार सदस्य वा नजिकका नातेदारले सोही बैङ्क वा वित्तीय संस्थाबाट कर्जा वा सुविधा लिई वा अन्य कुनै पनि तरीकाले संस्थाको साधनस्रोत दुरुपयोग गरेमा पनि बैङ्किङ कसुर गरेको ठहर्छ । ग्राहकको कारोबारको तुलनामा आवश्यकताभन्दा बढी कर्जा दिने वा लिने, कर्जा सेवा उपलब्ध गराएबापत कुनै किसिमको अनुचित लाभ लिने वा दिने कार्य पनि बैङ्किङ कसुर हो ।
बैङ्क तथा वित्तीय संस्थाले पनि ऋणीको कुनै परियोजनाका लागि कर्जा वा सुविधा स्वीकृत गरी पहिलो किस्ता प्रदान गरिसकेपछि पर्याप्त र मनासिव कारणविना ऋणीको चालू परियोजनालाई नोक्सान हुने गरी बाँकी किस्ता कर्जा वा सुविधा दिन बीचमा रोकेमा पनि बैङ्किङ कसुर मानिन्छ । कसैले कुनै बैङ्क वा वित्तीय संस्थाको कुनै कागजात वा खाता सच्याई किर्ते वा जालसाजी गरी हानि–नोक्सानी पार्ने कार्य एवम् धितो राख्ने प्रयोजन वा संस्थाको आफ्नो चल–अचल सम्पत्तिको मूल्याङ्कन गर्दा गलत मूल्याङ्कन गरी संस्थालाई हानि–नोक्सानी पार्ने उद्देश्यले कुनै कार्य गर्नु/गराउनुलाई ऐनले कसुर मानेको छ ।
माथि उल्लिखित कसुर गरेमा कसुरदारलाई कसुरको मात्राअनुसार ५ वर्षसम्म कैद र बिगो भराई बिगोबमोजिमको जरीवानासमेत हुने प्रावधान छ । बैङ्क वा वित्तीय संस्थाका कर्मचारीलाई आफ्नो पदबाट अवकाशपछि पनि मुद्दा चलाउन सकिन्छ । बैङ्किङ कसुरमा सहयोग गर्नेलाई पनि कसुरदारलाई हुने सजायको आधा सजाय हुने व्यवस्था छ भने अनुसन्धान गर्ने अधिकारीले आवश्यक देखेमा थुनामा राखेर अनुसन्धान गर्न सक्छन् । बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४, बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ को व्यवस्था र नेपाल राष्ट्र बैङ्कको विभिन्न निर्देशनको बाबजुद पनि २०६९ पुस मसान्तसम्म बैङ्किङ कसुरअन्तर्गत पुनरावेदन अदालत, पाटनले मात्र ९ अर्ब ८९ करोड ६६ लाख ८१ हजार ९४ रुपैयाँ नोक्सानीबराबरको १ हजार ६ सय ४० जनाविरुद्ध १ सय १५ ओटा मुद्दाको कारबाही प्रक्रिया अगाडि बढाएको छ भने नयाँ रूपमा बैङ्किङ कसुरको घटना बढ्ने क्रम जारी छ ।
ace,[email protected]




