सत्यराज आचार्य
गायक/सङ्गीतकार
ग्याजेट्स मानिसका साथी हुन्
– अहिले कुन ब्राण्ड र मोडलको मोबाइल प्रयोग गरिरहनुभएको छ ?
आईफोन ‘फोर एस’
– तपाईंलाई यसको कुन फिचर बढी मन पर्छ ?
एउटा मोबाइलमा हुनुपर्ने सबै विशेषता यसमा छन् । विशेषगरी सेटिङ राम्रो भएकाले चलाउन सजिलो छ । सफ्टवेयर सजिलै डाउनलोड हुन्छ
– अहिले कुन ब्राण्ड र मोडलको ल्यापटप प्रयोग गरिरहनुभएको छ ?
एप्पलको ‘म्याकबूक प्रो ।’
– यसको सबैभन्दा राम्रो फिचर (विशेषता) के हो ?
एप्पल विश्वप्रसिद्ध ब्राण्ड भएकाले यसका हरेक उपकरण भरपर्दा छन् । यसबाट एउटा चलचित्र या म्युजिक भिडियो नै बनाउन सकिने रहेछ । हामीजस्ता सङ्गीत क्षेत्रमा संलग्नलाई यो उपयोगी छ ।
– ग्याजेट्सका रूपमा अरू केके प्रयोग गर्नुहुन्छ ?
आईफोन र ल्यापटप भएपछि अरू ग्याजेट्सको आवश्यकता पर्न छाड्यो । लोडशेडिङको समस्याका कारण मोबाइल चलाउन नपाउने समस्याबाट बच्न मसँग एउटा उपकरण (पावर कोड) छ । यसलाई रातभर पहिला चार्ज गर्यो भने आईफोन कम्तीमा तीनपटकसम्म रिचार्ज हुन्छ । यो साथमै बोक्छु ।
– कुनै नयाँ ग्याजेट्स खरीद गर्ने योजना छ ?
भर्खरै आईफोन ‘फाइभ एस’ सार्वजनिक भएको छ । त्यही किन्ने सोचमा छु ।
– प्रविधिको प्रयोग गर्दा के विषयमा बढी ध्यान दिनुहुन्छ ?
प्रविधि निरन्तर अपडेट भइरहनुपर्ने विषय हो । कुनै उपकरण खरीद गरेपछि त्यसबाट कसरी बढीभन्दा बढी फाइदा लिने भन्ने विषयमा बढी ध्यान दिन्छु । महँगो हुने भएकाले हराउला या झरेर बिग्रिएला कि भन्नेमा पनि सचेत हुन्छु । आजका उपकरण मानिसका साथी हुन् । यिनीहरूको प्रयोगविना समय कटाउन गाह्रो पर्छ ।




