नारायण कोइराला
महासचिव, पोखरा उद्योग वाणिज्य सङ्घ
ग्रामीण भेगको पर्यटन विकास गर्नपर्छ
पोखरा लगायत आसपासका ग्रामीण भेगको पर्यटन विकास गर्नुपर्ने आजको आवश्यकता हो । कास्की जिल्ला नै एउटा प्राकृतिक सम्पदाले भरिपूर्ण भएको ठाउँ हो । यस ठाउँमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका लागि प्राकृतिक मात्र नभएर भौतिक संरचना निर्माण गर्न नेपाल सरकारले उचित पहल गर्नु आवश्यक छ । सङ्घले पर्यटन विकासको अवधारणाअनुसार आवश्यक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यहाँ अवस्थित तालतैयाको संरक्षण र सरसफाइमा ध्यान पुर्याउनु पनि आजको आवश्यकता हो । पोखराआसपासका ग्रामीण भेगमा रहेका बस्तीहरूमा ‘होम स्टे’ कार्यक्रमको अवधारणालाई अगाडि बढाउन सके यहाँका सांस्कृतिक तथा मौलिक पहिचान, आफ्नै अग्र्यानिक उत्पादनहरू, वेशभूषा, मठमन्दिर पनि पर्यटकहरूका लागि आकर्षणका केन्द्र बन्न सक्छन् । पोखरामा आवश्यक पूर्वाधारहरूको विकासका लागि सडक विस्तार, चक्रपथ निर्माण, हवाईमार्गको विस्तार, चिडियाखाना, बगैंचा, प्राकृतिक सम्पदाहरूलाई वैज्ञानिक तरीकाले संरक्षणजस्ता काम गर्नु आवश्यक छ ।
पोखराको ब्राण्डिङ आजको आवश्यकता हो

अशोक पालिखे
पूर्वअध्यक्ष, पोखरा उद्योग वाणिज्य सङ्घ
सङ्कटकालमा पनि पोखराको पर्यटन विकासका लागि धेरै गतिविधि जारी राखियो । त्यसैको प्रतिफल अफसिजनमा पनि पर्यटक पोखरा आइरहेका छन् । तर, पोखरालाई हरेक संस्थाले आआफ्नै तरीकाले ब्राण्डिङ गर्दा यसले विभिन्न सकारात्मक र नकारात्मक सन्देश पनि स्वदेश–विदेशमा दिइरहेको छ । यो शुभसङ्केत होइन । यसकारण सबै पोखरेली सङ्घसंस्था मिलेर पोखराको ब्राण्डिङ गर्न एउटै नारा र प्रक्रिया तय गर्नुपर्छ । निकट भविष्यमै पोखरामा रहेका सम्पूर्ण सङ्घसंस्थाका जिम्मेवार प्रतिनिधिहरू बसी व्यापक छलफल गरी पोखराको दूरगामी भविष्यका लागि खाका कोर्नु नितान्त आवश्यक छ । पोखरालाई शिक्षा, पर्यटन र स्वास्थ्यको शहरका रूपमा विकास गरिनुपर्छ भन्ने एजेण्डा पोखरा उद्योग वाणिज्य सङ्घले २०५२ सालदेखि उठाउँदै आएको छ । सोही एजेण्डालाई जिल्ला विकास समिति, पोखरा उपमहानगरपालिकालगायत विभिन्न सङ्घसंस्थाले सर्वोपरी मानी कार्यान्वयन गर्दै पनि आएका छन् । तर पनि पोखराको ब्राण्डिङका लाग त्यति मात्र पर्याप्त छैन ।
बजार प्रवर्धन र पूर्वाधार निर्माण प्रमुख चुनौती

दीपेन्द्र श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृत, रेडियो अन्नपूर्ण, पोखरा
प्राकृतिक सम्पदाको संरक्षण, त्यसको बजार प्रवर्धन र पूर्वाधार निर्माण नै आजको पोखराको प्रमुख चुनौती हो । त्यसका लागि तत्काल सम्पूर्ण पोखरेली एकजुट भई राज्यलाई घचघच्याउन सके यसले अन्तरराष्ट्रिय समुदाय र पर्यटकको ध्यान सजिलै खिच्न सक्छ । पोखरामा दिगो, व्यावसायिक र परिभाषित पर्यटनका लागि सम्पूर्ण सरोकारवालाहरूले एउटै साझा नारा तयार गरी ब्राण्डिङ गर्न सक्नुपर्छ । कसैले प्याराडाइज पोखरा, कुनै संस्थाले पियोर एण्ड पर्फेक्ट, कसैले के भनी संस्थापिच्छे अलग–अलग नारा तय गरेर पोखराको ब्राण्डिङ हुन सक्दैन ।
जसरी मलेसियाले ट्र्युली एशिया, भारतले इन्क्रिडिबल इण्डिया, थाइल्याण्डले अमेजिङ थाइल्याण्ड भनेर आफूलाई अन्तरराष्ट्रिय ब्राण्डिङ गरी स्थापित गराए, त्यो मार्ग हामीले पनि अपनाउनु आवश्यक छ । विकास भनेकै थ्री ‘बी’ अर्थात् बिजुली, बाटो, बिल्डिङ हो । त्यसैले, पोखराको बाटो फराकिलो र खाल्डाखुल्डीरहित पारिनुपर्छ भने पोखरालाई लोडशेडिङमुक्त बनाउन वैकल्पिक उपायको खोजी गरिनुपर्छ । पोखराको पर्यटन प्रवर्धनका लागि अन्तरराष्ट्रिय विमानस्थल निर्माणलाई प्राथमिकता दिई हवाइमार्गको अन्तरदेशीय नेटवर्क स्थापना गर्नुपर्छ ।
पोखराको पर्यटनमा निजीक्षेत्रको योगदान

सञ्जीवबहादुर कोइराला
अध्यक्ष, पोखरा उद्योग वाणिज्य सङ्घ
पोखरा विशेषगरी पर्यटकीय क्षेत्र हो । पर्यटनसँगै पोखरालाई शिक्षा र स्वास्थ्यको शहरका रूपमा विकास गराउन सबै लागिपरेका छन् । शिक्षाका लागि पोखरा अनुकूल वातावरण भएको शहर हो । तर पनि यहाँका विद्यार्थी काठमाडौं तथा छिमेकी राष्ट्रहरूमा अध्ययनका लागि गइरहेका छन् । उनीहरूलाई यहीँ अध्ययन गर्ने वातावरण मिलाउनुपर्छ । नेपाल भित्रने पर्यटकमध्ये ६० प्रतिशतभन्दा बढी पर्यटक पोखरा आउँछन्, जुन पोखरेलीका लागि गौरवको विषय हो । पोखराको पर्यटन क्षेत्रमा हालसम्म भएको विकासमा निजीक्षेत्रको ठूलो र महत्वपूर्ण योगदान छ ।
पोखराको पर्यटन हालसम्म प्रकृतिमा मात्र निर्भर छ । अब प्राकृतिक पर्यटनले मात्रै पुग्दैन । पर्यटकमैत्री भौतिक संरचनाहरू तयार पारी दीर्घकालीन रूपमा पर्यटन विकास गरिनुपर्छ । यहाँको पर्यटन विकासका लागि स्थानीयदेखि केन्द्रीय (जिविस, नगरपालिका, मन्त्रालय)सरकारले समेत चासो देखाउनु आवश्यक छ । ग्रामीण पर्यटनको विकास गरेमा पर्यटकलाई केही दिन पोखरामै भुलाउन सकिन्छ । विकासका लागि स्थानीय निकायको भूमिका महत्वपूर्ण रहन्छ । सरकारीस्तरबाट समेत पर्यटन क्षेत्रमा लगानी गर्नुपर्छ ।
अन्तरराष्ट्रियस्तरको विमानस्थल, चिडियाखाना, सभागृह र पुस्तकालयको निर्माण तत्कालका आवश्यक विषय हुन् । पोखरा र लेखनाथ नगरपालिकालगायत छिमेकी गाविस तथा जिल्लालाई समेटेर पूर्वाधार विकास गरिनुपर्छ । मुग्लिङदेखि पोखरासम्मको राजमार्गछेउछाउलाई औद्योगिक करिडोरका रूपमा विकास गरिनुपर्छ । पर्यटक बसपार्क र नयाँ बसपार्क जतिसक्दो चाँडो निर्माण गर्न आवश्यक छ । पोखराको पर्यटन विकासमा यहाँ आयोजित विभिन्न मेलाहरूको योगदान महत्वपूर्ण छ, यिनलाई पनि व्यवस्थित र परिमार्जित गर्दै लगिनुपर्छ ।
स्पा पर्यटनको विकास गरिनुपर्छ
भुवन फैजू
अध्यक्ष, ट्रान्क्युलिटी स्पा
पर्यटकका लागि आवश्यक भौतिक सुविधाहरूको विकास गर्दै पोखरामा सुविधासम्पन्न रिसोर्ट तथा स्पाको निर्माण तथा विकास गरिनुपर्छ । यसरी स्पाको विकासले शौखिन र उच्च आर्थिक हैसियतका पर्यटकहरूको सङ्ख्या बढ्न सक्छ र स्पा पर्यटनका लागि पोखरा राम्रो गन्तव्य बन्न सक्छ । पर्यटकको मागअनुसार पोखरामा भौतिक संरचना तयार गरिनुपर्छ, जसले पर्यटकको बसाइँ लम्ब्याउन सकिन्छ । समग्र नेपालको आर्थिक विकासका लागि पोखराको पर्यटन र पर्यटकीय गतिविधिले महत्वपूर्ण योगदान पुर्याउन सफल भएको छ । पोखराको पर्यटन क्षेत्रमा हाल भएको विकास सकारात्मक दिशातर्फ उन्मुख छ । तर, यतिले मात्रै पुग्दैन । क्षेत्रमा दीर्घकालीन पर्यटकीय विकासका लागि अझ धेरै काम गर्नुपर्ने देखिएको छ ।
पोखराको पर्यटन विकासमा सरकार उदासीन छ
विप्लव पौडेल
निवर्तमान अध्यक्ष, पश्चिमाञ्चल होटल
सङ्घ पोखरा
पोखराको पर्यटन विकासका लागि पोखरेली व्यवसायीहरू एक भएर अगाडि बढिरहेका छन् । तर, पोखराको पर्यटन विकासमा सरकार उदासीन देखिएको छ । पोखराको पर्यटन विकासविना नेपालको विकास सम्भव छैन भन्ने ज्ञान सरकारलाई हुनु आवश्यक छ । आन्तरिक तथा बाह्य गरी हाल वर्षेनि ६ लाख पर्यटक पोखरा भित्रिरहेका छन् । आगामी १० वर्षभित्र ५ लाख आन्तरिक, ५ लाख क्षेत्रीय र १० लाख बाह्य पर्यटकलाई पोखरा भित्र्याउने हाम्रो लक्ष्य छ । लक्ष्य पूरा हुन पर्यटन क्षेत्रमा आमूल परिवर्तन आवश्यक छ । त्यसैगरी पोखरेली व्यवसायीहरूले आजभन्दा १२ वर्षअघि नै ‘जाऊँ है पोखरा’ अभियान सञ्चालन गरेर पोखराको पर्यटन विकासमा पुर्याएको योगदान भुल्न हुँदैन । पछिल्लो समयमा विदेशी पर्यटकलाई पोखरा भित्र्याउन ‘चलिए पोखरा’ अभियान शुरू भइरहेको छ ।
ब्राण्डिङ अनुसारका गतिविधि गरिनुपर्छ
गणेश भट्टराई
पूर्वअध्यक्ष, पोखरा पर्यटन परिषद्
पर्यटन विकासका लागि ब्राण्डिङ महत्वपूर्ण भइसकेको छ । पोखराको मात्र भन्दा पनि पहिला त नामकै ब्राण्डिङ गरिनुपर्छ । त्यसपछि मात्र पोखराको ब्राण्डिङ गर्नु राम्रो हुन्छ । उदाहरणका लागि पोखरामा समर, मनसुन, विण्टर ब्राण्डिङ गर्न सकिन्छ । यसले मात्र पर्यटन विकास सम्भव छैन । ब्राण्डिङअनुसारका पर्यटकीय गतिविधिहरूसमेत आवश्यक छ । ह्याण्डिक्राफ्टलगायत पर्यटन क्षेत्रमा प्रयोग हुने सामानहरू नेपालमै उत्पादन गरिनुपर्छ । पर्यटकलाई मनपर्ने गरी ‘लाइभ्ली’ क्रियाकलापहरू सञ्चालन गरिनुपर्छ । आर्ट, स्पोर्ट एडभेञ्चर, वाटर स्पोटर्स, एयर स्पोटर्स, माउण्टेनिङ, हाइकिङलगायतको व्यवस्था गर्दै स्थानीय कला संस्कृति, साहित्य, जैविक विविधता र वातावरण संरक्षणसमेतमा जोड दिन आवश्यक छ । ‘हामी पोखरेली’ भन्ने भावनाको विकास गरी यहाँ रहेको एक संस्थाले अर्को संस्थासँग सहयोगको भूमिका निर्वाह गर्नु आवश्यक छ । पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी यहाँ विभिन्न मेला–महोत्सव आयोजना भइरहेका छन् । यस्ता मेला तथा महोत्सवहरूमा जतिसक्दो बढी पर्यटकलाई आकर्षण हुने गतिविधिहरू समावेश गरिनुपर्छ ।




