राजनीतिज्ञको व्यवसाय – नारायणी देवकोटा
आर्थिक आधारले राजनीति निर्धारण गर्छ
शङ्कर राई
अध्यक्ष, किराँत वर्कर्स पार्टी व्यवस्थापक, अल्टरनेटिभ पर्क प्रोसेशिङ इण्डष्ट्री प्रालि
२०५४ सालमा खुम्बुवान राष्ट्रिय मोर्चाबाट राजनीतिक यात्रा शुरू गरेका शङ्कर राई आफूलाई पक्का कम्युनिष्ट भन्न रुचाउँछन् । समाजको जग अर्थतन्त्र हो र यसमा आएको परिवर्तनले माथिल्लो संरचनामा असर गर्छ भन्ने कम्युनिष्ट मान्यतालाई उनले मन्त्रका रूपमा लिएका छन् । जुन मन्त्रअनुसार समाजमा परिवर्तन गर्ने हो भने पहिला जगमा परिवर्तन गर्नुपर्ने उनको धारणा छ । त्यसै मन्त्रलाई व्यावहारिक रूप दिन २ वर्षअगाडि पार्टीका केही साथीसहित ललिलपुरको सैंबुमा सुँगुर, बङ्गुर वधशाला खोलेका छन् ।
प्रत्येक वर्ष नेपालमा साढे ५ अर्ब रुपैयाँबराबरको मासु विदेशबाट आयात हुने सरकारी तथ्याङ्क छ । राई भन्छन्, ‘त्यसरी बाहिरबाट आयात हुने मासुमा सुँगुर, बङ्गुरको मासु मुख्य रहेछ ।’ यो तथ्याङ्क पढेपछि राई र उनका साथीहरूबीचमा कम्तीमा त्यो रकम बाहिर जान नदिने हो भने आफूलाई र मुलुकलाई नै फाइदा हुने चिया गफ भयो । उक्त चिया गफलाई व्यवहारमा उतार्ने जोशमा उनले सुँगुर, बङ्गुर वधशाला खोल्ने प्रस्ताव साथीहरू माझ राखे । साथीहरूमाझ राखिएको उक्त प्रस्तावले मूर्त रूप लिएपछि राई अहिले नेपालमा सुँगुर, बङ्गुरपालनलाई व्यावसायिक कसरी बनाउने भनेर अध्ययन गर्दैछन् । अहिले उनको वधशालामा आउने सुँगुर, बङ्गुर पूर्वका पहाडी जिल्लाबाट आउँछ । राई भन्छन्, ‘हाम्रो वधशालामा पनि आउँछ र काठमाडौंमा दैनिक १२ देखि १४ हजार किलो सुँगुर, बङ्गुरको मासु व्यापार हुन्छ । त्यो सबै पूर्वका पहाडी जिल्लाबाट नै आउँछ ।’ केही समयपछि काठमाडौं नजिकका किसानलाई सुँगुर, बङ्गुरपालनमा प्रोत्साहनमा आफ्नो बधशालाले किनिदिने उनको योजना छ ।
नेपालमा उत्पादनबाट छिटो फाइदा लिनका लागि कुखुरापछि सुँगुर, बङ्गुरपालन महत्त्वपूर्ण छ । तर, छिटो फाइदा लिन सक्ने र नेपाली रुपैयाँ विदेश जानबाट रोकिने कामलाई नेपालमा व्यप्त धार्मिक आस्थाले रोकिरहेको छ । हिन्दू धर्म मान्ने नेपाली समाजमा सुँगुर, बङ्गुर छुन नहुने मान्यता रहेका कारण पनि नेपालमा विदेशबाट मासु आयात गर्नुपर्ने व्यवसायीको बाध्यता रहेको राईको धारणा छ । राई भन्छन्, ‘धार्मिक कारण र पछौटे किसानका कारण विदेशबाट मासु आयात गर्नुपर्ने अवस्था छ । तर, धार्मिक भावनालाई असर नपर्ने गरी पनि व्यावसायिक रूपमा सुँगुर, बङ्गुरपालन गर्न सकिन्छ ।’ नेपालमा कतिपय सुँगुर, बङ्गुर पाल्ने र त्यसको मासु खाने समुदाय छन् । तीनै समुदायमध्येको आफू पनि भएको हुनाले उनलाई त्यतातिर तानिइरहेको जस्तो लाग्छ । राई भन्छन्, ‘आफ्नो जात पनि त्यही सुँगुर, बङ्गुर पालेर, खाएर हुर्केको, त्यसलाई बुझ्न पनि सजिलो हुने भएकाले त्यता तानिइरहेको होला ।’ ती समुदायका मानिसलाई पाल्न लगाएर, पहिलोपटकमा काठमाडौंमा सुँगुर, बङ्गुरको स्वास्थ्य मासुको माग पूर्ति गर्ने, दोस्रोपटकमा नेपालभरिमा सर्वसुलभ रूपमा स्वस्थ्य मासु उपलब्ध गराउने र तस्रोपटकमा विदेशमा निर्यात गर्ने राईको योजना रहेको छ । राई भन्छन्, ‘त्यही योजनाअनुसार अहिले पहिलो योजनाअनुसार काम भइरहेको छ ।’
राईलाई अहिले मुलुकको अर्थतन्त्र तरल छ, भन्ने लाग्छ । त्यसमा पनि नेपालका राजनीतिक पार्टीको आर्थिक स्रोत तरल भएको उनको दाबी छ । उनी भन्छन्, ‘सबैभन्दा बढी नेपालका राजनीतिक दलको आधार (आर्थिक स्रोत) तरल छ । कुनै पनि पार्टीको प्रशिक्षण, भेला, सभासम्मेलन गर्नुपरे चन्दा उठाउने चलन छ । आधारमा चन्दाको बाढी आएपछि माथिको संरचना बेस्सरी हल्लिन्छ ।’ त्यसरी हल्लिँदा पार्टीहरुको संरचना कहिले फुट्ने त कहिले भित्रबाहिरका सबैलाई फुटयो फुटयोजस्ता लाग्ने गरेको उनको व्याख्या छ । उनी भन्छन्, ‘त्यसको मुख्य असर सरकार बन्ने बेलामा हुने किचलो र पार्टी फुट्ने परम्परा हो ।’ त्यसरी आधार नहल्लियोस् भन्नका लागि राजनीतिमा लागेका मानिसहरू आर्थिक रूपमा सक्षम हुनुपर्ने उनको मान्यता रहेको बताए ।
उपप्रधानमन्त्रीसहित एमाओवादीका चार जना सरकारमा
प्रधानमन्त्रीमा एमालेका झलनाथ खनाललाई समर्थन गरेको एमाओवादीले एक महिनापछि पार्टीका तर्फबाट चार जनालाई सरकारमा पठाएको छ । उपप्रधान एवम् सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महरा, भौतिक योजना तथा निर्माणमन्त्री टोपबहादुर रायमाझी, शान्ति तथा पुनर्निर्माण मन्त्री वर्षान पुन र पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गबहादुर विश्वकर्मालाई एमाओवादीले सरकारमा पठाएको हो । नवनियुक्त मन्त्रीहरूलाई शुक्रवार नै प्रधानमन्त्री झलनाथ खनालले पद तथा गोपनीयताको शपथ गराए । एमाओवादी स्थायी समितिको शुक्रवार बसेको बैठकले कृष्णबहादुर महराको नेतृत्वमा चार जनालाई सरकारमा पठाउने निर्णय गरेको पार्टी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । पार्टीका तर्फबाट सरकारमा सामेल हुने थप व्यक्ति समानुपातिक र समावेशीका आधारमा चयन गरिने
उनले बताए ।
भट्टराईको स्वास्थ्यलाभको कामना गर्दै प्रार्थना
नेपाली काङ्ग्रेसका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्वास्थ्यलाभको कामना गर्दै सो पार्टीका नेता एवम् शुभेच्छुकहरूले शुक्रवार थापाथलीस्थित शिव मन्दिरमा प्रार्थना गरेका छन् । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको शुक्रवार बस्ने भनिएको बैठक स्थगित गरी काङ्ग्रेस पदाधिकारीहरू प्रार्थनासभामा सहभागी भएका हुन् । प्रार्थनासभामा सभापति सुशील कोइराला, संसदीय दलका नेता रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, डा. रामशरण महत, डा. मीनेन्द्र रिजाल, पूर्णबहादुर खड्का, शङ्कर भण्डारी, सुरेन्द्र पाण्डेका साथै सभासद्, कार्यकर्ता र शुभेच्छुकहरू सहभागी थिए । केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरी किसुनजीको स्वास्थ्यलाभको कामनाका लागि प्रार्थनासभा राखिएको नेता पौडेलले बताए ।
‘सातबुँदे सहमति सर्वसत्तावादको आधार’
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री झलनाथ खनाल र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको सातबुँदे सहमतिभित्र मुलुकमा उग्रवामपन्थी र्सवसत्तावाद लाद्ने दुर्नियत रहेको आरोप लगाएका छन् । शुक्रवार नेपाल प्रेस युनियन ललितपुरको चौथो जिल्ला अधिवेशनको उद्घाटन गर्दै केसीले त्यस्तो आरोप लगाएका हुन् । ‘बामपन्थी ध्रुवीकरणका नाममा लोकतन्त्रवादीलाई आक्रमण गरी सत्ता कब्जा गर्ने रणनीतिअनुरूप सातबुँदे सहमति भएकाले यसलाई परास्त गर्न लोकतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्ने समय आएको छ,’ उनले भने, ‘अहिलेसम्म भएका सम्पूर्ण सम्झौता कार्यान्वयन नभएसम्म नयाँ संविधान जारी गर्नुको कुनै तुक छैन ।’
आचार्य एमाओवादीको पोलिटब्यूरो सदस्य
एमाओवादी र पुनःगठित नेकपा (मसाल)बीच भएको पार्टी एकतापछि शुक्रवार तीनबुँदे सङ्गठनात्मक सहमति भएको छ । सहमतिअनुसार डिलाराम आचार्य र गिरिधारीलाल न्यौपानेलाई एमाओवादीको केन्द्रीय समितिको पोलिटब्युरो सदस्य तथा इन्द्रमणि पौडेल, कमल खनाल, सिद्धराज भाट, राम आशिष महतो र निमानन्द गैरेलाई केन्द्रीय समितिको सल्लाहकारमा राखिने भएको छ ।
पार्टीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार राज्य समिति, जिल्ला समिति, क्षेत्रीय समिति, गाउँ समिति र सेलसम्म पनि दुइ पार्टीबीच सङ्गठनात्मक एकीकरणका साथै मोर्चा एवम् जनवर्गीय सङ्गठनको एकता पनि छिट्टै गरिनेछ ।
लक्ष्मण थारू पार्टीबाट हटाइए
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय पार्टीले पार्टीका संस्थापक अध्यक्ष लक्ष्मण थारूलाई पार्टीबाट हटाएको छ । पार्टी नीतिविपरीत कार्य गरेको भन्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको हो । पार्टी अध्यक्ष कमल छाहाराङ्को सभापतित्वमा फागुन १७ गते बसेको पार्टीको तेस्रो पूर्णबैठकले थारूलाई निष्काशन गर्ने निर्णय गरेको पार्टीद्वारा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पार्टीले संस्थापक अध्यक्ष थारू गत असोजमा अनैतिक यौनजन्य क्रियाकलापमा संलग्न रहेको विषय सार्वजनिक भएपछि पार्टीका उपाध्यक्ष राजीव गुरुङको संयोजकत्वमा पाँच सदस्यीय छानबिन आयोग गठन गरिएको थियो । आयोगको अनुसन्धान प्रतिवेदनपछि कारबाही गरिएको पार्टीले बताएको छ । पार्टीले मुलुकको आर्थिक उन्नति, राजनीतिक स्थिरता र सामाजिक विकासका लागि संविधान निर्माणको काम सम्पन्न हुनुपर्ने भएकाले त्यसलाई पूरा गर्न र सम्बन्धित पक्षलाई दबाब दिन विभिन्न चेतनामूलक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको पनि बताएको छ ।
Admin 2011-03-05











