असोज १६, काठमाडौं । वैदेशिक रोजगारमा गएका कामदारका समस्या समाधान गर्न सरकारले कतारलगायतका खाडी मुलुकमा उच्चस्तरीय भ्रमण टोली पठाउने भएको छ । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको अध्यक्षतामा परराष्ट्र तथा गृहमन्त्री, श्रम तथा रोजगार मन्त्री, मुख्य सचिव, परराष्ट्र मन्त्रालयका निमित्त सचिव, वैदेशिक विभागका महानिर्देशक लगायतका उच्चअधिकारीको उपस्थितिमा बुधवार बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले नेपाली कामदारको हकहित संरक्षण गर्न नेपालको प्रचलित कुनै कानूनले बाधा पुर्याएमा त्यस्ता कानूनको संशोधन प्रक्रिया अघि बढाउने र खाडी मुलुकका दूतावासमा आवश्यकतानुसार जनशक्ति थप गर्न आवश्यक कदम चाल्ने निर्णय पनि गरेको मन्त्रिपरिषद्को कार्यालयले बताएको छ । रासस
वैदेशिक रोजगारी समस्या अध्ययन गर्न टोली पठाइने




