एशियामा पर्यटनको सम्भावना सुदृढ
फागुन २३, हङ्कङ (चीन) । एशिया प्रशान्त क्षेत्रको पर्यटन व्यापार फस्टाउने सङ्केत देखिएको छ । त्यस क्षेत्रको पर्यटन २०१० मा दोहोरो अङ्कले बढेको थियो । खासगरी चीन र भारतमा मध्यमवर्गीय जनसङ्ख्या बढेकाले उनीहरूले गर्ने भ्रमणमा वृद्धि भइरहेको छ । बलियो अर्थतन्त्र, न्यून खर्चका विमानसेवा र अनलाइन व्यापारका कारण एशियाली क्षेत्रको पर्यटन फस्टाउँदै गएको छ । एशिया प्रशान्त क्षेत्रमा गतवर्षको आगमन ११ प्रतिशतले बढेको पाटाको प्रारम्भिक तथ्याङ्कले देखाएको छ । त्यसैगरी २०११ मा त्यस्तो सङ्ख्या झनै वृद्धि हुने अपेक्षा
गरिएको छ ।’विश्वको औसत वृद्धिदरभन्दा एशियामा हुने अन्तरराष्ट्रिय आगमनमा दोब्बरले वृद्धि हुनेछ,’ पाटाका सहायक प्रमुख कार्यकारी अधिकृत जोन कोल्डाब्सकीले भने । ‘एशियाको भ्रमण गर्नेमा एशियालीहरू नै बढी छन् । अन्तरराष्ट्रिय पर्यटन बजारमा ठूलो परिवर्तन भइरहेको छ । त्यसले एशियाको पर्यटन सम्भावना सुदृढ हुन पुगेको छ,’ कोल्डोब्सकीले थप प्रस्ट गर्दै भने । त्यसमध्ये पनि दक्षिण एशियाको पर्यटन आगमन सुदृढ देखिएको छ । त्यस क्षेत्रको पर्यटन आगमनमा १४ प्रतिशत वृद्धि भएको छ । एएफपी/रासस
एशियामा तेलको मूल्य १ सय ६ डलर नाघ्यो
फागुन २३, सिङ्गापुर । एशियामा तेलको मूल्य सोमवार १ सय ६ डलर नाघेको छ । लिबियाको सरकारी सैन्य र विद्रोही पक्षबीच भिडन्त बढेपछि त्यहाँबाट लामो समयसम्म तेलको आपूर्ति हुन नसक्ने सम्भावनाले मूल्य बढेको हो । अप्रिलमा वितरण हुने क्रुडको मूल्य प्रतिब्यारेल १ दशमलव ७१ डलरले बढेर १ सय ६ दशमलव १३ डलर पुगेको छ । तेलको त्यस्तो मूल्य २००८ को सेप्टेम्बरपछिकै उच्च हो । त्यसैगरी अप्रिलमा वितरण हुने बे्रण्ट क्रुडको मूल्य लण्डनमा १ दशमलव ११ डलरले बढेर प्रतिब्यारेल १ सय १७ दशमलव शून्य ८ डलर पुगेको छ । लिबियाको हालको द्वन्द्वबाट त्यहाँको प्रतिदिनको तेल उत्पादनमा कम्तीमा पनि १० लाख ब्यारेलले कमी आइसकेको छ । गत महीना द्वन्द्व शुरू हुनुअघि त्यहाँ प्रतिदिन १६ लाख ब्यारेल तेल उत्पादन हुने गरेको थियो । एएफपी/रासस
चीनको व्यापार नाफा घट्ने अपेक्षा
फागुन २३, बेइजिङ (चीन) । यस वर्ष चीनको आयातमा वृद्धि हुने भएकाले व्यापार नाफा खुम्चिनुपर्ने त्यहाँका वाणिज्य मन्त्रीले सोमवार बताएका छन् । बेइजिङले व्यापारमा रहेको निर्भरता घटाएर उपभोक्तामा आधारित अर्थतन्त्र निर्माण गर्न खोजेकाले व्यापार नाफा घट्नुपर्ने मन्त्रीको विचार छ । २०११ का लागि सरकारी योजनामा उपभोक्ता खर्च बढाएर आत्मनिर्भर तथा दिगो वृद्धिलाई अभिप्रेरित गर्ने भनिएको छ । त्यसबाट बेइजिङको वाशिङटनलगायत अन्य व्यापार साझेदारसँगको तनावमा पनि केही कमी आउन सक्छ । चीनले मुद्रा र आयात नियन्त्रण गरेर आफ्नो व्यापार नाफा उच्च राखेको उसका व्यापार साझेदारहरूले गुनासो गर्दै आएका छन् । चीन विश्वकै सबैभन्दा ठूलो निर्यातकर्ता देश हो । गत वर्ष उसले १ खर्ब ९० अर्ब डलरबराबरको अन्तरराष्ट्रिय व्यापार नाफा भएको बताएको थियो । त्यसैगरी २००९ मा त्योभन्दा पनि बढी १ खर्ब ९६ अर्ब डलरको व्यापार नाफा गरेको थियो । निजीक्षेत्रका विश्लेषकहरूले भने यस वर्ष२ खर्बको व्यापार नाफा हुने पूर्वानुमान गरेका छन् । एएफपी/रासस
युनुसमाथिको मुद्दामा सुनुवाइ जारी
फागुन २३, ढाका (बङ्गलादेश) । बङ्गलादेशका नोबेल पुरस्कार विजेता मुहम्मद युनुसबारेको मुद्दामा सोमवार सुनुवाइ गरिने भएको छ । आफूलाई ग्रामीण बैङ्क प्रमुखको पदबाट सरकारले बर्खास्त गरेपछि त्यसको वैधतालाई चुनौती दिँदै युनुसले मुद्दा हालेका थिए । ७० वर्षीय युनुसले गरीबी निवारणका लागि लघुवित्तको अवधारणा सफल बनाएबापत २००६ मा नोबेल पुरस्कार पाएका थिए । सरकारले ६० वर्षको सेवावृत्तिको उमेर उल्लङ्घन गरेको आरोप लगाउँदै युनुसलाई बर्खास्त गरेको थियो । तर, उनका समर्थकहरूले सरकारको उक्त कदमलाई राजनीतिक प्रतिशोध भएको दाबी गर्दै आएका छन् । युनुसले केन्द्रीय बैङ्कको आदेशलाई उच्च अदालतमा चुनौती दिँदै आफ्नो पदमा बहाल नै रहेका छन् । सोमवारको अदालती कारबाही शुरू गरिएपछि युनुसका वकिलले केन्द्रीय बैङ्कले उनलाई बर्खास्त गर्नुको नियतबारे प्रश्न उठाउने भएका थिए ।केन्द्रीय बैङ्कले गत १२ वर्षदेखि नै ग्रामीण बैङ्कको सुपरिवेक्षण गर्दै आएको छ । ‘यत्तिका वर्षसम्म युनुसको नियुक्तिबारे कुनै प्रश्न उठाइएको थिएन् । यसबाट उनीहरू अहिले आएर युनुसको चरित्रहत्या गर्न चाहन्छन् भन्ने शङ्का उत्पन्न भएको छ,’ युनुसका एक वकिल तनिम हुसेन सावनले भने । एएफपी/रासस
चीनका सर्वाधिक धनाढयको गरीबी हटाउने सूत्र
फागुन २३, बेइजिङ (चीन) । चीनमा पनि त्यहाँका धनीहरूले गरीब जनताका लागि खासै केही नगरेको भन्ने आलोचना हुने गर्दछ । तर, त्यस्तो आलोचनालाई चीनका सर्वाधिक धनाढय जोङ जिङहोउले अस्वीकार गरेका छन् । जोङका अनुसार, कडा परिश्रम गरेर गरीबहरूले आफ्नो उन्नति आफै गर्नुपर्छ । चीन सरकारले त्यहाँ धनी र गरीबबीचको खाडल घटाउन भरमग्दूर प्रयास गर्दै आएको छ । यस वर्षमा वार्षिक सम्बोधनमा पनि त्यस्तो खाडल घटाउने लक्ष्यलाई प्रमुख योजना भनिएको छ । ‘कडा परिश्रमबाट नै आफूले आफैलाई मद्दत गर्न सकिन्छ भन्ने गरीबहरूलाई सिकाउनु अति महत्त्वपूर्ण छ,’ जोङले भने । जोङ चीनमा सबैभन्दा ठूलो बजार भएको हल्का पेय ‘वाहाहा’का संस्थापक पनि हुन् । उनले २०१० मा ११ जनालाई उछिनेर त्यहाँको सबैभन्दा धनी व्यक्ति हुन सफल भएका थिए । १२ अर्ब डलर सम्पत्तिका मालिक जोङ नेशनल पिपल्स कङ्ग्रेसमा यस वर्षको ३ हजार प्रतिनिधिमध्ये एक हुन् । ‘सुधार र खुलापनका ३० वर्षमा जनताको जीवनस्तर निकै माथि पुगिसकेको छ । त्यसलाई अझ राम्रो बनाउनुपर्छ,’ जोङले भने । साथै, आफूले गरीब क्षेत्रमा कारखाना खोलेर त्यहाँका स्थानीय जनतालाई रोजगार र विकासका लागि अवसर सृजना गरेको पनि जोङ्ले दाबी गरेका छन् । एएफपी/रासस
एशिया विश्वकै ठूलो विमान बजार हुने एयरबसको पूर्वानुमान
फागुन २३, हङकङ (चीन) । सन् २०२९ सम्ममा एशिया विश्वकै सबैभन्दा ठूलो विमान बजार हुने एयरबसको अनुमान छ । त्यतिबेला विश्वभरि आपूर्ति हुने विमानमध्ये एक तिहाइ एशियामा खपत हुनेछ । जनसङ्ख्यामा मध्यमवर्गीय समूहको ठूलो वृद्धि भएबाट त्यस्तो माग बढ्ने एयरबसले बताएको छ । साथै, कर्पोरेट जेटका लागि चीनबाट ठूलो माग आइरहेकाले चिनीयाँ खरीदकर्ताको सङ्ख्या मध्यपूर्वको जत्ति नै पुग्ने उसले बताएको छ ।आगामी १५ वर्षमा विश्वभरि हुने हवाई भ्रमणमा दुई गुणाले वृद्धि हुनेछ । त्यतिखेर, एशिया प्रशान्त क्षेत्रको हवाई यात्रा व्यापारले उत्तर अमेरिका र यूरोपलाई पनि उछिन्नेछ । एशियाप्रशान्त क्षेत्रमा २०२९ सम्ममा १२ खर्ब डलर बराबरको ८ हजार ५ सय ६० ओटा नयाँ विमानको डेलिभरी हुने एयरबसले बताएको छ ।
त्यस्तो तथ्याङ्क विश्वभरि आपूर्ति हुने डेलिभरीको झण्डै ३३ प्रतिशत हुनेछ । सन् १९९० देखि २००९ को अवधिको लागि त्यस्तो तथ्याङ्क २६ प्रतिशतमा रहेको छ ।त्यसैगरी आगामी दुई दशकसम्म हवाई बजारमा वार्षिक ४ दशमलव ८ प्रतिशतले वृद्धि हुने एयरबसले आफ्नो उक्त एशिया प्रशान्त क्षेत्रीय बजार पूर्वानुमानमा उल्लेख गरेको छ ।हवाई उद्योगले गतवर्ष हालसम्मकै उच्च ३० अर्ब डलरको सञ्चालन मुनाफा गरेको थियो । एयरबसका अनुसार, त्यस्तो सञ्चालन मुनाफामा पनि एशियाली विमानसेवाहरूकै प्रमुख हिस्सा रहेको थियो । एएफपी/रासस
Admin 2011-03-08