ग्रामीण बैङ्क डुब्ने दाबी, सुनुवाइ स्थगित
चैत १, ढाका (बङ्गलादेश) । बङ्गलादेशको सर्वोच्च अदालतले नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको मुद्दाको सुनुवाइलाई मार्च २२ सम्मका लागि स्थगित गरेको छ । युनुसलाई ग्रामीण बैङ्कबाट बर्खास्त गर्दा बैङ्क नै डुब्न सक्ने तर्क उनका वकिलहरूले गरेका छन् । युनुसको मुद्दामाथि त्यहाँको सर्वोच्च अदालतले मङ्गलवार सुनुवाइ गर्ने क्रममा उनका वकिलले त्यस्तो तर्क अघि सारेका छन् । युनुसलाई पदबाट केन्द्रीय बैङ्कले मार्च २ मा बर्खास्त गरेको थियो । प्रधानमन्त्री शेख हसिनासँग असहमत भएकै कारण उनलाई बर्खास्त गरिएको युनुसका समर्थकहरूले दाबी गर्दै आएका छन् । तर, उच्च अदालतले बर्खास्त गर्ने निर्णयाई सदर गरेको थियो । त्यसपछि युनुसले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । युनुसलाई बर्खास्त गरेपछि बैङ्कबाट पैसा झिक्ने क्रम निकै बढेको एक बैङ्क अधिकारीले बताएका छन् । युनुसले भने ‘सम्मानजनक निकास’का लागि आफू तयार रहेको बताउँदै आएका छन् ।
एपी/रासस
बङ्गलादेशको व्यापार घाटा बढयो
चैत १, ढाका (बङ्गलादेश) । बङ्गलादेशको जुलाईदेखि जनवरीसम्मको व्यापार घाटा बढेको छ । १ वर्षअघिको भन्दा व्यापार घाटा १ अर्ब ७९ करोड ५० लाख डलरले बढेर ६ अर्ब १० करोड डलर पुगेको छ । आर्थिक वर्ष२०१०/११ को पहिलो सात महीनाको आयात अघिल्लो वर्षको भन्दा ४० दशमलव ५ प्रतिशतले आयात बढेर १८ अर्ब ३० करोड डलर पुगेको छ ।त्यसैगरी सोही अवधिको निर्यातमा ३९ दशमलव ९ प्रतिशतले वृद्धि भएर १२ अर्ब २० करोड डलर पुगेको छ । उक्त अवधिमा खाद्यान्न, तेल, औद्योगिक वस्तु र पूँजीगत सामानलगायतको आयातमा वृद्धि भएको थियो । बङ्गलादेशमा व्यापार घाटा हुनु सामान्य नै भए पनि विश्वव्यापी रूपमा वस्तुको मूल्यवृद्धिले व्यापार घाटा बढदै गएको छ । रोयटर्स
बैङ्क अफ जापानद्वारा थप मुद्रा प्रवाह
चैत १, टोकियो (जापान) । जापानको केन्द्रीय बैङ्कले मङ्गलवार थप ९८ अर्ब डलरबराबर रकम वित्तीय प्रणालीमा प्रवाह गरेको छ । एक दिनअघि मात्रै पनि बैङ्क अफ जापानले हालसम्मकै उच्च १ खर्ब ८४ अर्ब डलरबराबर रकम बजारमा प्रवाह गरेको थियो । शुक्रवार आएको ठूलो भूकम्प र सुनामीले गर्दा बैङ्कहरूमा पैसाको कमी हुन सक्ने आशङ्कामा मुद्रा प्रवाह गरिएको हो । हाल प्रवाह गरिएको रकमले मुद्रा बजारलाई स्थिर राख्न सहयोग पुगेको छ । बैङ्किङ प्रणालीमा व्यापक मात्रामा मुद्रा प्रवाह गर्नाले बैङ्कहरूले ऋण दिने कार्यलाई निरन्तरता दिने केन्द्रीय बैङ्कको अपेक्षा छ । भूकम्पपछि पुनर्निर्माणको समयमा बैङ्कबाट लिइने ऋणको माग बढ्ने सम्भावना छ ।तर, सङ्कटको आशङ्काले दोस्रो दिन पनि शेयरबजार तल झरेको छ । आणविक भट्टीसमेत क्षेतिग्रस्त भएकाले सङ्कटको आशङ्का झनै बढेको हो । । एपी/रासस
जापानको भूकम्पबाट वाल स्ट्रीट पनि ओर्लियो
चैत १, न्यूयोर्क (अमेरिका) । जापानको भूकम्पका कारण उत्पन्न आणविक सङ्कटबाट विश्वभरिका शेयरबजारसमेत प्रभावित भएका छन् । मङ्गलवार बजार खुल्दा वाल स्ट्रीट २ प्रतिशतले तल झरेको छ भने नास्दाक पनि ऋणात्मक हुन पुगेको छ । जापानको विपत्तिबाट अमेरिकी शेयरबजारमा जोखिम बढ्नुका साथै संवेदनशील शेयर परिसूचकहरू तल झरेका छन् । दाओ जोन्स औद्योगिक औसत २ सय ५९ दशमलव ९७ बिन्दु अर्थात् २ दशमलव १७ प्रतिशतले झरेर ११ हजार ७ सय ३३ दशमलव १९ मा ओर्लेको छ । त्यसैगरी स्टयार्ण्र्डड एण्ड पुअरको परिसूचक ३१ दशमलव ६८ बिन्दु अर्थात् २ दशमलव ४४ प्रतिशतले झरेको छ । नास्दाक परिसूचक पनि ६९ दशमलव ९७ बिन्दु अर्थात् २ दशमलव ५९ प्रतिशतले ओर्लेको छ ।लगानीकर्ताहरू तुलनात्मक रूपले सुरक्षित मानिने अमेरिकी ट्रेजरीतर्फ आकर्षित भएका छन् । त्यसबाट ट्रेजरीको मूल्य बढ्नुका साथै प्रतिफल भने झरेको छ । तेलको मूल्य भने ३ दशमलव ९५ प्रतिशतले झरेर ९७ दशमलव २२ डलरमा आइपुगेको छ । जापानको भूकम्पपछि तेलको माग घट्ने अपेक्षाले मूल्य झरेको हो । त्यसैगरी सुन, चाँदी र तामाजस्ता वस्तुहरूको पनि मूल्य झरेको छ । एजेन्सी
जी-२० नाञ्जिङ बैठकमा युआनबारे छलफल नगरिने
चैत्र १, बेइजिङ (चीन) । चीनको नाञ्जिङमा यसै महीनाको अन्त्यमा हुन गइरहेको जी-२० बैठकका बेला उसको मुद्रा युआनको विनिमयदरलाई छलफलको विषय नबनाइने बताइएको छ । साङ्र्घाईनजिकै रहेको नाञ्जिङ चीनको प्रमुख व्यापारिक शहरमध्ये एक हो । फ्रान्सेली प्रधानमन्त्री निकोलस सार्कोजीले मार्च ३१ मा जी-२० बैठकको उद्घाटन गर्नेछन् । विश्वव्यापी मौद्रिक प्रणालीलाई पुनर्निर्माण गर्ने विषयमा उक्त बैठकले छलफल गर्नेछ ।युआनलाई द्रुतगतिमा बलियो बनाउन चीनमाथि अन्तरराष्ट्रिय दबाब छ । तर, अन्तरराष्ट्रिय मौद्रिक सुधारबारे मात्र सम्मेलनमा छलफल गरिने विदेश मन्त्रालयकी प्रवक्ता जीआङ युले बताइन् । ‘रेन्मिन्बीको दरलाई छलफलको मुद्दा बनाइने छैन्,’ युले भनिन् ।सामान्यतया युआन भन्ने गरिने चीनको मुद्राको औपचारिक नाम रेन्मिन्बी हो । केही जी-२० देशका केन्द्रीय बैङ्कका गभर्नर र मन्त्रीहरूले बैठकमा भाग लिने भएका छन् । हाल जी-२० को अध्यक्षता फ्रान्सले गरिरहेको छ । जी-२० को सभापतित्व गरिरहेका फ्रान्सेली राष्ट्रपति सार्कोजीले मौद्रिक सुधारलाई आफ्नो प्रमुख लक्ष्यमध्ये एक बनाएका छन् । एपी/रासस
जापानमा विकीरणको मात्रा ‘खतरनाक’
चैत्र १, सोमा (जापान) । भूकम्पबाट क्षेतिग्रस्त एउटा आणविक केन्द्रबाट खतरनाक मात्रामा विकिरण चुहिएको छ । त्यसपछि शहरका १ लाख ४० हजार मानिसलाई घरभित्रै बस्न भनिएको छ । प्रधानमन्त्री नाओतो कानले टेलिभिजनबाट राष्ट्रव्यापी वक्तव्य दिँदै फुकुशिमा दाइचीस्थित चारओटा भट्टीबाट विकिरण चुहिएको जानकारी गराएका छन् । जापानी अधिकारीहरूले अन्तरराष्ट्रिय आणविक ऊर्जा निकायलाई जानकारी गराएअनुसार आणविक इन्धन चिस्याउने क्षेत्रमै आगो लागेको थियो । त्यसपछि विकिरण सीधै वायुमण्डलमा फैलिएको छ । आगो निभिसकेको भए तापनि त्यहा रहेको पानीको भण्डार अझै उम्लिरहेको हुनुपर्ने अधिकारीहरूको अनुमान छ । पानी उम्लिरहेमा वाष्पीकरण हुन गई भट्टीका सुचालकहरू वातावरणको सर्म्पर्कमा आउँछन् । त्यसैले मङ्गलवार अबेरतिर अमेरिकी र जापानी सेनासँग हेलिकोप्टरबाट पानी खन्याउन आग्रह गरिने भएको थियो । तर, सोझै सुचालकबाट नभई पानीको वाफबाट विकीरण चुहिएकाले त्यति धेरै खतरा भने नभएको कतिपय विकिरण वैज्ञानिकको मत छ । एपी/रासस
रेनाँद्वारा कर्मचारीसँग क्षमायाचना
चैत्र १, पेरिस (फ्रान्स) । फ्रान्सेली गाडीनिर्माता रेनाँले आफ्नो कम्पनीका तीन व्यवस्थापकसँग सार्वजनिक रूपमा माफी मागेको छ । विद्युतीय कारबारेको गोप्य जानकारी चीनलाई बेचेको आरोपमा कम्पनीले उच्चस्तरका ती व्यवस्थापकलाई बर्खास्त गरेको थियो । तर, हाल आएर धोखाधडीको शिकार भएको हुन सक्ने रेनाँले स्वीकार गरेको छ । रेनाँका प्रमुख कार्लोस घोस्नले टेलिभिजनबाट व्यक्तिगत आफ्नो र रेनाँको तर्फबाट ती अधिकारीहरूसँग क्षमा मागेका थिए । तर, त्यस प्रकरणमा आफूभन्दा मुनिका अधिकारी सञ्चालन प्रमुख पाट्रिक पेलाटाले माग गरेझैं राजीनामा नै गर्न भने अस्वीकार गरेका छन् ।ती तीन जना अधिकारीलाई विद्युत्कारको प्रविधि चीनलाई बेचेको आरोपमा जनवरीमा बर्खास्त गरिएको थियो । कतिपयले त्यसमा चीनको हात रहेको पनि आरोप लगाएका थिए, जसलाई बेइजिङले क्रुद्ध प्रतिक्रिया जनाएको थियो । फ्रान्स सरकारले त्यस मामिलालाई ‘आर्थिक युद्ध’ भनेको थियो । तर, हाल आएर प्रविधको जासुसी गरेको भन्ने त्यस्तो आरोपको सूचना दिने व्यक्तिले कम्पनीलाई ठगेको भनिएको छ । एपी/रासस
वनस्पतिबाट निर्मित पेप्सीको बोतल
चैत्र १, न्यूयोर्क (अमेरिका) । पेप्सीको इङ्कले पूर्ण रूपले वनस्पतिबाट निर्मित बोतल बजारमा ल्याएको छ । साथै उसले आफ्नो प्रतिस्पर्धी कोकाकोलाले भन्दा राम्रो प्रविधिको उत्पादन ल्याएको दाबी पनि गरेको छ । आफ्नो बोतल वातावरणमैत्री रहेकाले कार्बन पदचिह्न पनि घट्ने पेप्सीको दाबी छ । स्वीच ग्रास भनिने एक किसिमको घास, सल्लाको बोक्रा, मकैको खोष्टालगायतका वस्तुबाट बोतल बनाइएको छ । भविष्यमा उसले सुन्तलाको बोक्रा, आलुको बोक्रा, चोकरजस्ता खाद्य उद्योगबाट फालिएका वस्तुबाट पनि बोतल बनाउने लक्ष्य राखेको छ । त्यसरी बनाइएको नयाँ बोतल हेर्दा र छुँदा पनि हालकै बोतलजस्तै हुने कम्पनीका सिनियर भाइस प्रेसिडेण्टले बताए । यसप्रकार, पुरानो र नयाँ बोतलबीच फरक नै छुट्टयाउन नसकिने उनको दाबी छ । वनस्पतिबाट निर्मित पेट भनिने प्लाष्टिकबाट बनेका त्यस्ता बोतल विश्वमै पहिलो हुने पेप्सीको ले दाबी गरेको छ । एपी/रासस
Admin 2011-03-16