१ हजारबाट ४ उद्योग छनोट
पुस २०, काठमाडौं । खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले चार खाद्य उद्योगलाई सम्मान गर्ने भएको छ । विभागबाट अनुज्ञापत्र लिएका, वार्षिक नवीकरण गरेका, उत्पादन लेभल टाँसेका, आफ्नै प्रयोगशाला भएका तथा स्वदेशी श्रम एवम् कच्चापदार्थ प्रयोग गरेका उद्योगलाई सम्मान गर्न लागेको विभागका प्रवक्ता प्रमोद कोइरालाले बताए । ‘विभागले १ हजार उद्योगबाट चार उद्योग छनोट गरेको हो,’ उनले भने, ‘उनीहरूले मापदण्डलाई नियमित रूपमा कार्यान्वयन गरेकाले सम्मान गर्न लागिएको हो ।’
उनका अनुसार बाँकी ९ सय ९६ उद्योगले पनि विभागको मापदण्ड पूरा गरेका छन् । तर, ती उद्योगको तुलनामा छनोटमा परेका उद्योगले नियमित रूपमा सरकारी मापदण्डलाई अनुसरण गरेको पाइएको उनको भनाइ छ । विभागले आगामी २३ गते ती उद्योगलाई सम्मान गर्ने बताएको छ । सम्मान हुने उद्योगको नाम सोही कार्यक्रममा बताइने विभागकी महानिर्देशक जीवनप्रभा लामाले जानकारी दिइन् । ‘सम्मान कार्यक्रमको दिन नै सम्मान हुने उद्योगको नाम सार्वजनिक गरिनेछ,’ उनले भनिन् ।
पछिल्लो आधा दशकमा गुणस्तरहीन खाद्यपदार्थ उत्पादन तथा विक्री गर्ने १ हजार उद्योग तथा विक्रेतामाथि मुद्दा दायर गरिएको छ । खाद्य ऐन २०२३ ऐनविपरीत खाद्यान्न उत्पादन तथा विक्रीवितरण गर्नेविरुद्ध जिल्ला प्रशासन कार्यालयमा वर्षेनि २ सय मुद्दा दायर गर्दै आएको विभागले बताएको छ । नेपालमा सबैभन्दा बढी तरलपदार्थ उत्पादनको गुणस्तर तथा स्वच्छतामा समस्या देखिएको कोइरालाको भनाइ छ ।
कृषि विकास मन्त्रालय अन्तर्गतको विभाग खाद्य ऐन कार्यान्वयन गर्ने सरकारी निकाय हो । ‘प्रति १ सय खाद्यान्नको नमूनामा औसतमा १५ ओटा गुणस्तहीन पाइएको छ,’ कोइरालाले भने, ‘अन्न तथा तरकारीमा प्रयोग हुने विषादी, मासुमा पशुलाई लगाइने मापदण्डविपरीतको सुई, गुणस्तरहीन दानाजस्ता विषयका कारण खाद्यान्न गुणस्तरहीन हुने गर्छ ।’



