वीरगन्ज, १२ माघ । भारतको ६५ औँ गणतन्त्र दिवसको उपलक्ष्यमा भारतीय महावाणिज्य दूतावास वीरगन्जले नेपालका विभिन्न संस्थालाई एम्बुलेन्स प्रदान गरेको छ ।
एम्बुलेन्स पाउनेहरुमा उपस्वास्थ्य चौकी मोहनपुर गाविस सर्लाही, नेपाल रेडक्रस सोसाइटी उपशाखा अमलेखगन्ज बारा र प्राथमिक स्वास्थ्य केन्द्र पालुङ मकवानपुर रहेका छन् ।
नेपालका लागि भारतीय महावाणिज्यदूत अञ्जु रञ्जनले आज यहाँ आयोजित एक समारोहबीच सम्बन्धित संस्थालाई ती एम्बुलेन्सको साँचो हस्तान्तरण गरिन् ।
समारोहमा वीरगन्जस्थित विभिन्न सरकारी कार्यालयका उच्चपदस्थ अधिकारी, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, उद्योगपति, बुद्धिजीवी तथा नेपाल र भारत दुवै देशका नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा वीरगन्जस्थित विभिन्न विद्यालय तथा क्याम्पसका विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।



