‘संविधान जारी भए पनि यही संरचना कायम हुन्छ’
चैत ८, काठमाडौं (अस) । जेठ १४ गते संविधान जारी भए पनि निर्वाचन नभएसम्म अहिलेका सबै संरचना कायम रहने भएका छन् । संविधानमा रहेका विवाद मिलाउन बनेको संवैधानिक उपसमितिको मङ्गलवार बसेको बैठकले उक्त निर्णयगरेको हो । उपसमितिका सदस्य तथा काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले भने, ‘संविधान जारी भएपछि पनि अर्को निर्वाचन नभएसम्मका लागि व्यवस्थापिका-सांसद्, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख अहिलेकै रहने विषयमा सहमति भएको छ ।’
मङ्गलवारको बैठकमा उपसमितिले सङ्क्रमणकालीन व्यवस्थाका विषयमा छलफल गरी उक्त निर्णयगरेको हो । नयाँ संविधान जारी भएको १ महीनामा अर्को अन्तरिम संविधान निर्माण गर्ने एमाओवादीको अडान उसले फिर्ता लिएपछि उक्त सहमति भएको हो । सङ्क्रमणकालीन अवस्थामा कस्तो व्यवस्था रहने भन्ने विवादका सातओटा मुद्दामा समितिले मङ्गलवार सहमति गरेको हो । समितिको म्याद यही चैत १५ गते फेरि सकिँदै छ । मङ्गलवारको बैठकमा उपसमितिका संयोजक पुष्पकमल दाहाल, सदस्य माधवकुमार नेपाल र रामचन्द्र पौडेल तीनै शीर्ष नेताको उपस्थिति थियो ।
देशको राजनीति अम्पायरविहीन : भट्टराई
चैत ८, धनगढी (अस) । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकको राजनीति नीतिनियमभन्दा बाहिर गएकाले सरकार र संविधान निर्माणमा समस्या उत्पन्न भएको बताएका छन् । होली पर्वका अवसरमा गणतान्त्रिक खेलकूद महासङ्घ, कैलालीले आयोजना गरेको शहीदस्मृति कप फूटबल प्रतियोगिताको मङ्गलवार भएको समापन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष डा. भट्टराईले फूटबल खेलमा नीतिनियम भए पनि मुलुकको राजनीतिमा यसको अभाव रहेको बताए । भट्टराईले देशको राजनीति अम्पायरविहीन बनेका कारण भद्रगोल बन्दै गएको टिप्पणी गरे । उनले जनयुद्धको लक्ष्य पूरा नभएसम्म आन्दोलन जारी रहने बताए । जनयुद्धको सफलता ठूलाबडाको महलमा कैद भएको भन्दै डा. भट्टराईले त्यसलाई गरीबको झुपडीमा नपुर्याएसम्म आन्दोलन जारी रहने चर्चा गरे ।
पारसको हातमा पेस्तोल थियो : रुबेल
चैत ८, चितवन (अस) । टाइगरटप्स गोलीकाण्डका एक पक्ष रुबेल चौधरीले मङ्गलवार जिल्ला प्रशासन कार्यालय, चितवनमा पहिलो पटक बयान दिएका छन् । पूर्वमन्त्री सुजाता कोइरालाका ज्वाइँसमेत रहेका रुबेलले बयानका क्रममा पूर्वयुवराज पारसको हातमा पेस्तोल देखेको तर फायर गरेको नदेखेको बताए । घटनाको विरुद्धमा किन उजुरी गर्नु भएन भन्ने प्रश्नमा उनले घटनालाई कानूनीरूप दिन नचाहेको बताएका थिए । पूर्वयुवराज पारसका वकिल शिवबहादुर पाण्डेले रुबेलको बयानअनुसार उनले पारसलाई कानूनी सजाय होस् भन्ने नचाहेको अर्थ लाग्ने बताएका छन् । पारसको पेशी वैशाख १४ गते पुन: तोकिएको छ ।
‘नेपाली काङ्ग्रेस सरकारमा सामेल हुन्छ’
चैत ८, धादिङ (अस) । शिक्षामन्त्री गङ्गालाल तुलाधरले दिगो शान्ति र संविधान लेखनका लागि नेपाली काङ्ग्रेस छिट्टै सरकारमा सामेल हुने बताएका छन् । धादिङको चैनपुर गाविसमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन धादिङबेंशी आएका मन्त्री तुलाधरले पत्रकारहरूसँग कुराकानी गर्दै सो कुरा बताएका हुन् । उनले भने, ‘अहिलेको सरकारमा काङ्ग्रेसलगायतका मधेशवादी दलहरू पनि सहभागी हुन्छन् र यो सरकार राष्ट्रिय सहमतिको सरकार बन्छ ।’ मन्त्री तुलाधरले सरकारको मूल उद्देश्य राष्ट्रिय सहमति भएकाले त्यसका लागि सातबुँदेलाई बाह्रबुँदे बनाउनेदेखि गृहमन्त्रालय काङ्ग्रेसलाई दिने विषयहरूमा समेत बहस गर्न सकिने बताए । सरकार जनताप्रति उत्तरदायी भएकाले राष्ट्रिय भूमिअधिकार मञ्चले भूमिहीनलाई भूमि दिलाउन माग गर्दै आयोजना गरेको धर्नाप्रति सरकारको र्समर्थन रहेको र त्यसका लागि उच्चस्तरीय कार्यदलसमेत बनाइसकेको उनले जानकारी दिए ।
समयमा नै संविधान नबने आन्दोलन हुन्छ : ठाकुर
चैत ८, काठमाडौं (अस) । तमलोपाका अध्यक्ष महन्थ ठाकुरले समयमा नै संविधान नबने आन्दोलन गर्ने बताएका छन् । मङ्गलवार भारत भ्रमणबाट फर्कने क्रममा त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै ठाकुरले उक्त कुरा बताएका हुन् । उनले भने, ‘समयमा नै संविधान जारी नभएमा मधेशी मोर्चाले आन्दोलन गर्छ ।’ ठाकुरले बहुमतद्वारा जारी हुने संविधान पनि आफूलाई मान्य नहुने बताए । उनले भने, ‘मधेशीहरूले चाहेअनुसारको नभई बहुमतको आधारमा संविधान जारी भएमा हदसम्म पनि जान सक्छौं ।’ ठाकुरले भारतमा रहँदा प्रधानमन्त्री मनमोहन सिंह, विदेश मन्त्री एसएम कृष्णालगायतका नेतालाई भेटेका थिए ।
‘माओवादी आफ्ना लडाकू समायोजन होस् भन्ने चाहन्न’
चैत ८, पोखरा (अस) । एमाओवादीले आफ्ना लडाकू समायोजन होस् भन्ने नचाहेको काङ्ग्रेसका नेता तथा सेना समायोजन विशेष समितिका सदस्य डा. रामशरण महतले दाबी गरेका छन् । मङ्गलवार पोखरामा पत्रकारहरूसँग कुराकानी गर्दै नेता महतले उक्त दाबी गरेका हुन् । उनले भने, ‘एमाओवादी आफ्ना लडाकू समायोजन गर्न चासो देखाउँदैन । हामीले सेना समायोजन विशेष समितिमा यस विषयमा कुरा गर्दा एमाओवादीले अनिच्छा देखाउँदै आएको छ ।’ नेता डा. महतले एमाओवादीका आधी लडाकू शिविरभन्दा बाहिर रहने जानकारी आफूले पाएको बताउँदै आएका छन् । उनले भने, ‘शान्ति सम्झौताअनुसार १२ प्रतिशत लडाकूमात्र बिदामा बस्न पाउने उल्लेख छ । तर, अहिले आधाभन्दा बढी लडाकू शिविरबाहिर रहेको जानकारी पाएका छौं ।’ लडाकूका लागि मासिक करोडौं रुपैयाँ खर्च हुने भए पनि लडाकूको अवस्थाका विषयमा विशेष समितिले कुनै जानकारी पाउन नसकेको उनले बताए ।
Admin 2011-03-23











