विवाद चर्किने डरले काङ्ग्रेस बैठक स्थगित
चैत १५, काठमाडौं (अस) । पदाधिकारी मनोनयन र भ्रातृ सङ्गठनको विवाद मिलाउन बसेको काङ्ग्रेसको बैठक स्थगित भएको छ । आइतवारदेखि सञ्चालन भएको काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक अनिश्चित समयसम्मका लागि स्थगित भएको पार्टी सचिव वसन्त गौतमले बताए । मङ्गलवार ११ बजे बस्ने भनिएको बैठक अनिश्चित समयसम्मका लागि स्थगित भएको हो । केन्द्रीय सदस्यहरूको बोल्ने क्रम सोमवार नै सकिएको थियो । बोल्नेक्रम सकिएको हुँदा मङ्गलवारको बैठकमा सभापतिले रिक्त पदाधिकारी मनोनयन प्रस्ताव गर्ने धेरैले अनुमान गरेका थिए । कार्यकाल सकिएपछि अधिवेशन गर्न नसकेका नेविसङ्घ र तरुण दलको अधिवेशनको सन्दर्भमा पनि मङ्गलवारको बैठकमा निर्णयगर्ने भनिएको थियो । मनोनयन र भातृ सङ्गठनको विषयमा विवाद बढ्ने देखेपछि सभापतिले बैठक स्थगित गरेको बताइएको छ ।
प्रधानमन्त्री-एमाओवादी नेताबीच भेटघाट
चैत १५, काठमाडौं (अस) । सरकारलाई पूर्णता दिने विषयमा प्रधानमन्त्री झलनाथ खनाल र माओवादीको नेतृत्वबीच भेटवार्ता भएको छ । मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकार निर्माण, बजेट तयारी, ऊर्जा सङ्कटको विषयमा छलफल भएको माओवादी नेता देव गुरुङले जानकारी गराए । उनले भने, ‘पछिल्लो समयमा तराईका विभिन्न क्षेत्रमा शृङ्खलाबद्ध बम विस्फोट भइरहेको हुँदा शान्तिसुरक्षा कडा बनाउने, विद्युत् सङ्कट समाधान गर्न विधेयक ल्याउने, मधेशी जनअधिकार फोरमसँग मिलेर छिट्टै सरकारलाई पूर्णता दिने भन्ने छलफल भयो ।’ बजेट ल्याउने विषयमा माओवादीका नेताहरूले पूरक बजेट ल्याउन पर्ने र प्रधानमन्त्रीले पूरक बजेट ल्याउनभन्दा छिट्टै पूर्ण बजेट ल्याउनुपर्ने कुरा राखेको पनि नेता गुरुङले बताए । उनले भने, ‘तर यस विषयमा कुनै निर्णयभने भएको छैन ।’
मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्षलाई
चैत १५, काठमाडौं (अस) । सरकारमा जाने निर्णयगरेको मधेशी जनअधिकार फोरमको केन्द्रीय कार्यसमितिले मन्त्री छान्ने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई नै दिएको छ । मङ्गलवार बसेको बैठकले अध्यक्षलाई उक्त जिम्मा दिएको नेता मोहम्मद इस्तियाक राईले अभियानलाई बताए । उनले भने, ‘केन्द्रीय राजनीतिक सङ्गठनबाट साथीहरूका नाम आएका छन् । तर, अन्तिम निर्णयगर्ने जिम्मा पार्टी अध्यक्षलाई दिइएको छ ।’ गत साता सरकारमा सहभागी हुने भन्दै चारबुँदे सहमति गरेको फोरमले तीन मन्त्रालय पाउने भए पनि पार्टीमा बढी नेताहरूको नाम सिफारिश भएको कारण छान्ने जिम्मा अध्यक्षलाई दिइएको हो ।
Admin 2011-03-30











