शेयरबजार र ‘बेलवेदर’
रवीन्द्र भट्टराई
सन् २००८ को विश्व आर्थिक मन्दीसँगै देखिएको विश्व शेयरबजारको कमीमा अत्तालिएका लगानीकर्तालाई शेयरबजारका गुरु अर्थात् हाल संसारकै तेस्रा धनी व्यक्ति वारेन बफेटले ‘अरू डराएका बेला आफू लोभी हुनू र अरू लोभी भएका बेला आफू डराउनू’ भनेका थिए । यसको वास्तविक अर्थ थियो, जब शेयरबजार धेरै घटेर लगानीकर्तामा डरले छट्पटाह शुरू हुन्छ, त्यसबेला तपाईं सस्ता शेयरप्रति आशक्त बन्नुहोस् वा लोभी हुनुहोस् र शेयर किन्नुहोस् । अर्कातर्फ जब बजारमा शेयरको मूल्य अत्यधिक बढ्दै गएर रातारात धनी बन्न मानिसहरू धेरै लोभी भएर शेयर किन्न थाल्छन्, त्यसबेला तपाईं डराउनुहोस् । सो समयमा शेयर बेच्नुहोस् । किनकि बजार कुनै पनि बेला घट्न सक्छ ।
लगानीकर्ताको छट्पटाहट नै बजारले ‘यू र्टन’ गर्ने समयको सङ्केत हो । नेपालको शेयरबजारमा यस्तो अवस्था आव २०६०/६१ पछि अहिले देखिँदै छ । आव २०५७/५८ मा ५ सय ४५ दशमलव ८२ अङ्कको उच्च बिन्दुमा पुगेको नेप्से परिसूचक ६४ प्रतिशतले घटी २०६०/६१ चैतमा १ सय ९५ दशमलव १४ को न्यूनतम बिन्दुमा पुगी बढ्न शुरू गर्यो । यसैले २०६५ भदौ १५ को उच्च बिन्दु १ हजार १ सय ७५ दशमलव ३८ को आधार वर्ष२०६०/६१ थियो । २०६०/६१ मा बजारमा लगानीकर्ताबीच डर व्याप्त थियो भने आव २०६४/६५ मा लोभको सीमा थिएन । बजारमा सूचीकृत शेयरको सङ्ख्या बढ्दै जाँदा पनि शेयर किन्न नपाइने अवस्था थियो । प्राथमिक निष्कासनमा बढेको लाइनमा प्रहरिले लाठी चार्ज गर्नुपर्नेसम्म अवस्था आयो । प्राथमिक शेयरमा १ सय ३५ गुणासम्म आवेदन पर्यो । तर, अहिले प्राथमिक निष्कासन तथा हकप्रद शेयर कम माग (अण्डर सबस्क्राइब) हुन थालेका छन् । मागको दर घटेर १० गुणाभन्दा तल गएको अवस्था छ । बजार उच्च हुँदाको दोस्रो बजारको दैनिक औसत १० करोडको कारोबार अहिले डेढ करोडमा झरेको छ । यसैगरी केही कम्पनीको शेयर अङ्कित मूल्यभन्दा तल कारोबार हुन थालेको छ ।
बजारका यी तथ्याङ्कलाई हेर्दा अहिले लगानीकर्तामा डरको मात्रा बढ्दै गएको छ भन्ने सङ्केत गर्छ । त्यसैले बफेटले भनेझैं लोभी हुने बेला आएको देखिन्छ । तर, लोभ जगाउनका लागि कम्पनीका वित्तीय सूचकाङ्कले साथ दिनुपर्ने हुन्छ । यसका लागि सर्वप्रथम बजार नेतृत्वकर्ता अर्थात् ‘बेलवेदर’ कम्पनीको वित्तीय तथ्याङ्कको विश्लेषण गर्नुपर्छ । ‘बेलवेदर’ अङ्ग्रेजी शब्द हो । यसको अर्थ हुन्छ – कुनै कम्पनी वा तत्त्व जसले बजार निर्माण अथवा प्रभावित गर्नसक्छ, जसका आधारमा बजारको दिशा अनुमान लगाउन सकिन्छ । अर्को शब्दमा यो घाँटीमा घण्टी झुण्डयाइएको पुरुष भेडा हो, जसले बथान वा भीडको नेतृत्व गरिरहेको हुन्छ । हरेक देशको शेयरबजारमा यस्ता बेलवेदर कम्पनी वा उद्योग हुन्छन् । यस्ता कम्पनी वित्तीय रूपमा सक्षम, सुशासनयुक्त र लगानीकर्ताको पहिलो रोजाइमा परेका हुन्छन् । हाम्रो शेयरबजारमा स्ट्यान्डर्ड चार्टड बैङ्कले यसको भूमिका निर्वाह गरिरहेको छ । यसपछिका अन्य कम्पनीमा नबिल बैङ्क, एभरेष्ट, बैङ्क अफ काठमाण्डू, इन्भेष्टमेण्ट बैङ्क पर्छन् । स्ट्यान्डर्ड चार्टर्डले लगानीकर्ताको व्यवहार तथा बजारको दिशालाई परिवर्तन गर्नसक्छ । जब बजारमा यस्ता कम्पनीको शेयर कम मूल्याङ्कन हुन्छ, त्यसले बजार न्यूनतम बिन्दुमा पुगेको सङ्केत गर्छ । बजार परिवर्तनको पुष्टि हुन कम्पनीको प्रतिफल, मूल्य-आम्दानी अनुपात, शेयर कारोबार सङ्ख्या र कारोबार गर्ने ब्रोकरको मूल्याङ्कन गरिन आवश्यक छ । कम कित्ताको कारोबार त्यसमा पनि एउटै ब्रोकरबीच भएका कारोबारबाट भएको मूल्य परिवर्तनको विश्वसनीयता हुँदैन ।
बजार न्यूनतम बिन्दुतर्फ लागेको पुष्टि शेयरबजार मूल्याङ्कनका आधारभूत मापदण्ड र यसअघिको न्यूनतम बिन्दुलाई आधार मानेर गर्न सकिन्छ । यहाँ आव २०६०/६१ मा बजार न्यून भएको अवस्थाको तथ्याङ्कलाई टेवाका रूपमा लिएर अहिलेको तथ्याङ्कको तुलनात्मक अध्ययन गर्न आवश्यक छ । त्यस समयमा स्ट्यान्डर्ड चार्टर्ड, नबिल, बैङ्क अफ काठमाण्डू, एभरेष्टको शेयर मूल्य(आम्दानी अनुपात (पीई रेसियो) ७ दशमलव २ देखि १४ दशमलव ९ गुणासम्म थियो । यसका आधारमा केही कम्पनीको शेयर कम मूल्याङ्कन भएको थियो भने केहीको ठीकै मूल्याङ्कन भएको थियो । शेयरबजारमा मूल्य-आम्दानी अनुपात १० अथवा योभन्दा कम भएका कम्पनीलाई कम मूल्याङ्कन भएका मानिन्छ भने १० भन्दा माथि १५ सम्म ठीकै मूल्याङ्कन भएका हुन्छन । शेयर कम मूल्याङ्कन भएर किन्नयोग्य हुन मूल्य आम्दानी अनुपातमात्र नहेरी इक्विटीमा प्रतिफल पनि सँगै हर्ेर्नुपर्छ । विगतका वर्षमा यो प्रतिफल बजारको औसत प्रतिफलभन्दा बढी कायम राख्न सफल कम्पनी यो वर्गमा पर्छन् । आव २०६०/६१ मा यी कम्पनीको इक्विटीमा प्रतिफल बजारको औसत प्रतिफल २० प्रतिशतभन्दा माथि थियो ।
बैङ्कहरूको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसारको प्रतिशेयर आम्दानी र हालको बजारमूल्यलाई हेर्दा मूल्य-आम्दानी अनुपात १५ भन्दा कम हुँदै गएका छन् र इक्विटीमा प्रतिफल बजारको औसत प्रतिफल २३ प्रतिशतभन्दा बढी देखिन्छ । ११ प्रतिशतको मुद्रास्फीति र बजारको जोखिमका लागि लगानी गर्ने कम्पनीको इक्विटीमा प्रतिफल न्यूनतम पनि २३ प्रतिशतभन्दा बढी हुन आवश्यक पनि छ । संसारकै सफल शेयर लगानीकर्ता वारेन बफेटको शेयर छनोट गर्ने आधारमा यो पनि छ । उनी कम मूल्याङ्कन भएका र इक्विटीमा बजारको औसत प्रतिफलभन्दा बढी तर स्थिर प्रतिफल दिने कम्पनीमा लगानी गर्छन् ।
मौद्रिक नीतिको मध्यावधिक समीक्षापछि आएका घरजग्गा कर्जासम्बन्धी व्यवस्थाले बैङ्कको चैत मसान्तपछि आउने तेस्रो चौमासिक विवरणमा खराब कर्जामा केही कमी आउने र नाफामा थप सुधार हुनेछ । यसले गर्दा प्रतिशेयर आम्दनीमा वृद्धि भई मूल्य-आम्दानी अनुपात थप तल जानेछ । त्यसका कारण पनि कम्पनीका शेयर थप आकर्षक बन्ने देखिन्छन् । अहिलेको समग्र अर्थतन्त्रको मन्दीको मुख्य कारण तरलता समस्या देखिएको छ । सरकारले ल्याएको श्वेतपत्रसँगै सरकारी खर्चमा वृद्धि भई तरलतामा सुधार आउने अपेक्षा गर्न सकिन्छ । त्यसको सकारात्मक प्रभाव शेयरबजारमा पनि पर्नेछ ।
अर्कोतर्फ विगत केही वर्षको अनुभवका आधारमा चैतपछि बजार सुधार हुने समय हो । तर, आव २०६०/६१ मा बजार न्यूनतम बिन्दुमा पुग्दाका बखतका कम्पनीका वित्तीय सूचकाङ्क र अहिलेको बजारका नेतृत्वकर्ता कम्पनीका वित्तीय सूचकाङ्क समानझैँ देखिएका छन् । त्यसबेला र अहिले बजारको नेतृत्व गर्ने कम्पनी पनि उही छन् । २ वर्षमा बजार ६९ प्रतिशतले घटे पनि नेतृत्वदायी भूमिका निर्वाह गर्ने कम्पनीको मूल्य-आम्दानी अनुपातजस्ता सूचकाङ्कले अझै केही मूल्य समायोजनको सङ्केत गरिरहेको छ । पछिल्ला तथ्याङ्कअनुसार मूल्य आम्दानी अनुपात ९ देखि २५ को बीचमा छ । जब बजारको नेतृत्व गर्ने कम्पनीकै शेयरको मूल्याङ्कन कम हुन्छ, त्यसबेला भने बजार न्यूनतम बिन्दुमा पुगेको हुन्छ ।
यसको अर्थ बजारले विस्तारै न्यूनतम बिन्दु छुने क्रममा देखिन्छ । यसैले अहिलेको बजारमा उपर्युक्त मापदण्डमा पर्ने, विगतमा लगातार लाभांश बाँडेका र सुशासन कायम राख्न सफल कम्पनीमा लगानीयोग्य पूँजीको २० देखि २५ प्रतिशतसम्म रकम लगाएर लगानी शुरू गर्न भने सकिन्छ ।
लेखक शेयर विश्लेषक हुन् ।
Admin 2011-04-19