विमान नकिन्ने हो भने निगम बन्द गरिदिए हुन्छ
सुगतरत्न कंसाकार
कार्यकारी अध्यक्ष
नेपाल वायुसेवा निगम
झण्डै २ वर्षअघि नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षमा नियुक्ति पाएका सुगतरत्न कंसाकारले नेपाल टेलिकम (तत्कालीन दूरसञ्चार संस्थान)मा ३४ वर्षकाम गरे । ३ वर्ष दूरसञ्चार सञ्चालक समितिको सदस्य र दुई कार्यकाल महाप्रबन्धक भई टेलिकमलाई सफलताको उचाइमा पुर्याएका कंसाकारलाई डुब्न लागेको नेपाल वायु सेवा निगम (नेवानि)को उत्थानको अपेक्षाका साथ कार्यकारी अध्यक्षका रूपमा ल्याइएको थियो । नेवानिका लागि विमान खरीद गर्ने निर्णयगरी विमान निर्माता कम्पनीलाई बैनासमेत पठाएको विषयलाई भ्रष्टाचारको संज्ञा दिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कंसाकारविरुद्ध मुद्दा चलायो । तर, विशेष अदालतले कंसाकारको उक्त कार्यलाई भ्रष्टाचार नभएको ठहर गर्दै उनलाई सफाइ दिएपछि उनले पुन: निगमको कार्यकारी अध्यक्षको पद बहाली गरेका छन् । भ्रष्टचारको मुद्दा तथा निगमको उत्थानका निम्ति आगामी योजनाबारे आर्थिक अभियानका यादव थपलियाले कंसाकारसँग गरेको कुराकानीको सार :
मुद्दा जितेर पुन: पद बहालीपछि के गर्ने योजना बनाउनुभएको छ ?
म आफैलाई सान्त्वना दिइरहेको छु अहिले । निगमको इतिहासमा २४ वर्षपछि जसले विमान खरीद गर्ने निर्णयगर्यो, त्यसैका विरुद्धमा भ्रष्टाचारको मुद्दा लाग्यो, योभन्दा ठूलो दुर्भाग्यको कुरा के हुन सक्छ र ? तर, निगमका १ हजार ४ सय कर्मचारीले मेरो निर्णयो समर्थनमा एकजुट भएर आन्दोलन गरेर साथ दिएका कारण मेरो हौसला अझ वृद्धि भएको छ । मैले निगमलाई सुधारको बाटोमा लैजाने अठोट गरेको छु ।
भ्रष्टाचारको मुद्दा लागेर थुनामा बस्दाको अनुभव कस्तो रह्यो ?
मैले दूरसञ्चारमा ३४ वर्षबिताएँ । त्यहाँ अहिलेको भन्दा अप्ठेरा, संवेदनशील र साहसिला निर्णयरू थुप्रै गरेको थिएँ । त्यसबेला केही भएन, अहिले निगममा जहाज किन्ने निर्णयगरेर बैना दिँदा भ्रष्टाचारको मुद्दा लाग्यो । तर, धरौटीका रूपमा त्यति ठूलो(रू.६ करोड) रकम मागिएला भनेर मैले अनुमान पनि गरेको थिइनँ । अलिअलि माग्ला भनेर २५/३० लाख रुपैयाँ जोरजाम गरिएको थियो । म एउटा व्यापारिक परिवारको व्यक्ति भएकाले पनि त्यो रकम जुटेको हो । तर, त्यो काम लागेन । विशेष अदालतको निर्णये अत्यन्तै दुखित बनायो । त्यसपछि परिवारको सम्झना आयो । अनि निगममा आउनेबेलामा ‘निगम त त्यति राम्रो संस्था होइन, त्यहाँ त काण्डैकाण्ड हुँदै आएको छ, कसरी समाल्छौ ?’ भनेर मेरो दाइले भनेको कुरा सम्झिएँ । तर, निगममा आउने आफ्नो निर्णयाई मैले एउटा चुनौतीकै रूपमा लिएको थिएँ । यहाँ आउनुअघि मैले कि त विद्युत् प्राधिकरण कि वायुसेवा निगममा गएर सुधारको काम गर्नुपर्छ भन्ने सोच बनाएको थिएँ । तर, विकासको काम केही गरौं भनेर शुरू गर्दा मलाई यो अवस्थामा पुर्याएपछि भने असाध्यै दु:ख लाग्यो । मैले गल्ती नगरेकाले विस्तारै आफैलाई ढाडस दिँदै पनि गएँ । अन्ततोगत्वा मैले न्याय पाएँ, सत्यको विजय भएको छ ।
निगम त डुबिसक्यो, अब के गर्नुहुन्छ ?
नेपाल वायुसेवा निगमको कुरा गर्दा बडो दु:ख लाग्छ । यहाँ २६ वर्षदेखि ४२ वर्षसम्मका पुराना हवाईजहाज चलाइराखिएको छ । संसारका २ सय राष्ट्रमध्ये नेपालको ध्वजाबाहक विमानको जस्तो दुर्दशा कसैको पनि छैन । त्यसैले अब चुप लागेर बस्ने बेला होइन भन्ने मलाई लागेको छ । हामी त्यति गएगुज्रेका हौं र एउटा संस्था पनि चलाउन नसक्ने ? बङ्गलादेश र श्रीलङ्काले आफ्नो विमान न्यूयोर्क पुर्याउन सक्छन् भने हामीले त्यो गर्न नसक्ने कुनै कारण छैन । त्यसैले मेरो दृष्टिमा निगमलाई माथि उठाउने र आर्थिक रूपले आत्मनिर्भर बनाउने हो भने हवाईजहाज किन्नै पर्छ । २ वर्षअघि मलाई यहाँ नियुक्त गर्दा नेपाल सरकारले निगमलाई मेरो जिम्मामा दिएकै हो, मैले पनि हुन्छ भनेर जिम्मा लिएकै हो । निगमको यो दयनीय अवस्थाबाट पार पाउन विमान खरीद नगरीकन केही हुनेवाला छैन । यो कुरा सबैले ढिलोचाँडो बुझ्नै पर्छ ।
निगमलाई विमान किन्न नदिन ठूलाठूला विमान माफियाहरू नै लागेका छन् भनिन्छ नि ?
माफियाको कुरा गर्दा एउटा तत्त्व यसका विरुद्धमा बलियोसँग नलागीकन यत्रो घटना हुँदैन कि जस्तो त मलाई पनि लागिरहेको छ । निगममा मेरो कार्यकाल अब चानचुन ३ महीना मात्रै बाँकी छ । सरकारले २ वर्षअरू थप्यो भने केही उपलब्धिमूलक काम गर्न सक्छु भन्ने मेरो विश्वास छ । त्यस अवधिमा हवाईजहाज किनेर निगमलाई माथि उठाउन सक्छु भन्नेमा म पूर्ण विश्वस्त छु । यसअघि माफिया नै लागेर विमान किन्न नदिएको हो भने पनि अब भने त्यस्तो गर्ने हिम्मत नराख्लान् कि भन्ने लागेको छ । किनकि अब त न्यायालयले न्याय दिइसक्यो । न्यायालयले त सुगतरत्नले गलत गर्न खोजेको होइन रहेछ है भनिसकेको छ । खाली बैना रकम फिर्ता आएकोमा मात्र मलाई न्यायालयले छोडेको होइन । सुगतले कुनै पनि अनियमित काम गरेको छैन भनेर हामी ६ जनालाई नै न्याय दिइएको हो । त्यसैले अब मैले काम गर्न पाएँ भने सबै षड्यन्त्रलाई चिर्दै विमान किन्ने काम गर्छु ।
निगमको सुधारका निम्ति तपाईंसँग के कस्ता योजना छन् ?
नेपाल वायुसेवा निगमको सुधारका निम्ति तीनओटा पक्ष अत्यन्तै महत्त्वपूर्ण छ । पहिलो, निगमको उत्पादन क्षमता बढाउनुपर्छ । त्यो भनेको हवाईजहाज किन्ने नै हो । त्यसैले हवाईजहाज किन्ने प्रक्रिया एक नम्बरमा पर्छ । विमान किन्नका लागि लाग्ने अर्बौं रुपैयाँ निगमसँग अहिले छैन । त्यसैले वित्तीय स्रोतको व्यवस्था मिलाउनु दोस्रो नम्बरमा पर्छ । तेस्रो नम्बरमा, निगमको व्यवस्थापन सुधार गर्ने मेरो योजना छ । यी तीनै कार्यलाई २ वर्षपहिल्यै सँगसँगै लिएर हिँडेको थिएँ । यसमा मैले केही सफलतासमेत हासिल गरेको थिएँ ।
अहिले कतिओटा विमान छ निगमसँग ?
अन्तरराष्ट्रिय उडानमा दुईओटा र आन्तरिक उडानमा सातओटा टुइनअटर विमान छन् । त्यसमध्ये दुईओटा काम नलाग्ने भएर थन्किएका छन् । अब त्यसलाई लिलाम गर्ने सोचाइमा पुगेका छौं । बाँकी पाँचओटामध्ये पनि अहिले तीनओटा जहाजमा समस्या उत्पन्न भएको सुनेको छु ।
आन्तरिक उडानका त पाँचओटै विमान ग्राउण्डेड भएका छन् हैन?
मैले हिजो मात्र (बिहीवार) बहाली गरेकाले सबै कुरा बुझिसकेको छैन । के भएको छ, म सोधखोज गरिरहेको छु । तर, यो पाँचओटै ग्राउण्डेड हुँदा धेरैको सोचाइमा यहीँका इञ्जिनियर खत्तम छन् कि वा कर्मचारी नै खत्तम छन् कि भन्ने पर्न सक्छ । तर, ती विमान ४० वर्षपुराना हुन् भन्ने कुरा चाहिँ धेरैलाई थाहा हुँदैन । त्यसैले स्पष्टै छ, विमान किन्नुको कुनै विकल्प छैन ।
यस्ता थोत्रा जहाज लिएर तपार्इंले निगमलाई कसरी सुधार गर्नुहुन्छ ?
अहिले भएका हवाईजहाजबाट त निगम चल्दै चल्दैन । विमान नकिन्ने हो भने निगमलाई बन्द गरिदिए हुन्छ । विमान किनेर अघि बढयो भने निगमका १ हजार ४ सय कर्मचारी यति सक्षम छन् कि हरेक वर्ष एउटा विमान थप्न सकिन्छ । झण्डै मर्न लागेको अवस्थामा पुगिसकेको निगमलाई विमान खरीदबाट मात्र जीवित बनाउन सकिन्छ ।
अन्तरराष्ट्रिय र आन्तरिक दुवै उडानका निम्ति विमान आवश्यक देखिन्छ नि ?
अन्तरराष्ट्रिय उडानबाट पैसा कमाउने, बोनस खाने र अरू नाफाले नेपालमा भएका ४७ ओटा एयरपोर्टमा उडान गर्ने हाम्रो योजना छ । अहिले त जम्मा २० ओटा एयरपोर्टमा मात्र हामीले सेवा दिइरहेका छौं, त्यो पनि एकदमै कामाचलाउ तरीकाले । त्यसैले एक दशकसम्म हरेक वर्ष१/१ ओटा विमान थप्दै जानुपर्छ ।
पैसा कहाँबाट ल्याउनुहुन्छ ?
निगमको मालिक सरकार हो, सरकारले जमानी बसेर ऋण लिइदिनुपर्छ । सञ्चयकोष त विमान खरीदका निम्ति तयार नै छ । यसबाहेक अन्य बैङ्क तथा वित्तीय संस्थाहरूसँग पनि यसबारेमा कुरा गर्नुपर्ने हुन्छ । यहाँ त विमान खरीद गर्ने निर्णयगर्नु पहिलो आवश्यकता हो, रकम त जुटिहाल्छ नि । ऋण नै लिने हो, निगमको सम्पत्ति राखेर ऋण लिनुपर्छ । न्यारोबडी (सानो खालको) जहाजलाई साढे ३ अर्ब र वाइड बडी (ठूला विमान) लाई रू. ७ अर्ब पर्छ । सरकार जमानी बसिदिएमा ब्याज कम तिर्दा पनि हुने हुँदा हाम्रो प्रयास त्यसमा बढी हुनेछ ।
ग्राउण्ड ह्याण्डलिङबाट कत्तिको कमाइ भइरहेको छ ?
ग्राउण्ड ह्याण्डलिङबाट निगमले वार्षिक डेढ अर्ब रुपैयाँ कमाइरहेको छ ।
निगमको वार्षिक कमाइ चाहिँ कति छ ?
वर्षमा साढे ५ अर्ब रुपैयाँ जति कमाइ भइरहेको छ । अन्तरराष्ट्रिय उडानका दुईओटा विमानलाई सकेसम्म धेरै समय चलाएर यो कमाइ भएको हो । तर, बाहिरका मानिस भने निगमको आम्दानी किन बढ्दैन भनेर हैरान पार्छन् । बढी कमाउनलाई त जहाज पनि बढी नै हुनुपर्यो नि । खोइ मानिसले बुझेको ? दुईआटा मात्रै अरू जहाज थप्ने हो भने हाम्रो चार्टर्ड एकाउण्टेण्टको व्यापारिक योजनाअनुसार तेस्रो वर्षमा यो साढे ५ अर्बबाट बढेर १४ अर्ब रुपैयाँ पुग्छ । त्यसबाट एउटा एउटा विमान थप्दै जाँदा ४/५ वर्षै आम्दानीको दृष्टिले दूरसञ्चार र विद्युत् प्राधिकरणलाई उछिन्न सकिन्छ ।
निगमको वार्षिक व्यवसाय कतिसम्म हुन सक्ने अनुमान गर्नुभएको छ ?
अहिले विमान पाएको खण्डमा निगमले वार्षिक ६० अर्ब रुपैयाँको व्यवसाय गर्न सक्छ । रू. ५६ अर्बको व्यापार २६ ओटा विदेशी जहाज कम्पनीहरूले अहिले लगिरहेका छन् । हामी दुईओटा जहाजबाट जम्मा ४ अर्ब जतिको व्यापार गरेर बसिरहेका छौं । अब पनि विमान नकिन्नु वा किन्न नदिनु भनेको अपराध हो । हाम्रो मुलुकभित्र आउने पैसा बाहिर गएको हेरेर आनन्दले बस्नु र हवाईजहाज किन्न खोज्ने व्यक्तिलाई भ्रष्टाचारको मुद्दा लगाउनु राष्ट्रलाई घात गरेबराबर हो ।
निगमलाई सार्वजनिक निजी साझेदारीमा लैजाने कुरा चलेको थियो, त्यसबारे के हुँदैछ ?
माधवकुमार नेपाल प्रधानमन्त्री र शरतसिंह भण्डारी पर्यटनमन्त्री भएका बेला यो विषय निकै अगाडि बढेको थियो । यसका बारेमा सरकारले मलाई जिम्मा पनि दिएको थियो । निगमको कुल सम्पत्ति जोडेर यहाँका युनियनसहितको स्वीकृतिमा बोर्डले पास गरेर सरकारलाई सार्वजनिक निजी साझेदारीमा जाने सिफारिस गरेको थियो । त्यो रिपोर्ट पर्यटन मन्त्रालय हुँदै अर्थमन्त्रालय पुगेको मलाई थाहा छ । त्यसपछि के भयो, के हुँदैछ केही थाहा छैन । तर, यस सम्बन्धमा नयाँ सरकारको धारणा के छ त्यो बुझ्न भने बाँकी नै छ । सार्वजनिक निजी साझेदारी भनेको असाध्यै संवेदनशील विषय हो । सरकारी सम्पत्तिको ५०/६० प्रतिशत शेयर विदेशी व्यापारीलाई दिने कुरा साँच्चै नै संवेदनशील विषय हो । हामीकहाँ निजीकरणको इतिहास पनि त्यति उत्साहजनक देखिएको छैन । त्यसैले निगमलाई निजीकरण गर्नुभन्दा तीव्र रूपले सुधार गर्नुपर्छ भन्ने विचार पनि आइरहेका छन् । दूरसञ्चारलाई पनि निजीकरणमा लग्ने कि नलग्ने भनेर १५ वर्षसम्म अलमल भयो । यहाँ पनि त्यो अलमल देखिएको छ । यो सरकारले नै गर्नुपर्ने निर्णयभएकाले हाम्रो कुराको कुनै अर्थ छैन ।
निगमको कुल सम्पत्ति कति छ ?
यकिन त थाहा भएन । तर, १७ अर्ब रुपैयाँ जतिको हिसाब छ । न्यूरोडस्थित निगमको केन्द्रीय कार्यालय भएको कम्पाउण्ड मात्रै १३ रोपनी चानचुन छ । सिनामङ्गलमा ३६ रोपनीको एउटा प्लट छ । सिनामङ्गलको त्यही जग्गामा केन्द्रीय कार्यालय बनाएर न्यूरोडको जमीनलाई व्यापारिक क्षेत्र बनाउने हाम्रो योजना छ ।
न्यूरोडको जमीन त बेच्ने कुरा पनि चलेको थियो नि ?
बेच्ने त कुरै आउँदैन । केन्द्रमा रहेको यति राम्रो मूल्यवान् सम्पत्ति नेपालभरिमा अन्त कतै छैन । केही समय पहिला भाडामा दिने कुरा चाहिँ भएकै हो । यो पनि धेरै संवेदनशील विषय हो । तर, यो जग्गाबाट आम्दानी लिनका निम्ति कुनै न कुनै कार्यक्रम ल्याउनै पर्ने भएको छ ।
अब हवाईजहाज चाहिँ कहिलेसम्ममा किन्नुहुन्छ ?
मैले भर्खरै पुनर्बहाली गरेको छु । मन्त्रीसँग कुरा गर्न पाएको छैन । सचिवसम्मलाई एकपटक भेटें । नयाँ सरकार, नयाँ मन्त्री भएकोले मलाई उहाँहरूको निर्देशन आवश्यक छ । तर, विमान खरीदका सम्बन्धमा निजीक्षेत्रको धारणा अलि पृथक् पाएको छु । निगमले किन किन्नुपर्यो विमान, भाडामा ल्याए भइहाल्छ नि भनेर अन्तरवार्ताहरू आइरहेका छन् । तर, ती कुराहरूप्रति मेरो सहमति छैन । विमान बहालमा लिनुभनेको अपारदर्शी काम गर्नुजस्तै हो । सीधै कम्पनीबाट विमान किनिने भएकाले यसमा घूस खाने, कमिशन खाने सम्भावना धेरै कम हुन्छ । तर, भाडामा लिने भनेको चाहिँ सेकेण्ड ह्याण्ड विमान किनेको जस्तै हो । सेकेण्ड ह्याण्ड विमानको मूल्य कसैले पनि तोक्न सक्दैन । भाडाको कुरा पनि त्यस्तै हो ।
तपाईंको योजनाले सरकारबाट स्वीकृति पाउने आशा गर्नुभएको छ ?
एशियामा सबैभन्दा कम प्रतिव्यक्ति आय भएको मुलुकमध्येमा नेपाल परेको छ । अब पनि हामीले नचेते कहिले चेत्ने ? अहिलेसम्म त कुरा भइरहेका ठूला दुईओटा विमान किन्नेमै कुरा सीमित भएको छ । तर, आन्तरिक उडानका निम्ति घटीमा ५, बढीमा १० ओटासम्म टुइनअटर विमान किनेर नेपालमा भएका सबै विमानस्थलमा सेवा पुर्याउने हाम्रो सोचाइ हो । निगमले नाफा कमाउन अन्तरराष्ट्रिय उडानमा विशेष जोड दिंदै आन्तरिक उडानमा घाटा सहेर भए पनि विमान सञ्चालन गर्ने हाम्रो योजना हो । यो योजनालाई वर्तमान सरकारले पनि स्वीकृत गर्छ भन्ने मेरो विश्वास छ । मेरो योजनामा यसअघि प्रेस र जनताबाट पनि भरपुर साथ पाएको हुँ । म जबसम्म गलत गर्दिन तबसम्म सरकार, जनता र प्रेसबाट यस्तो साथ निरन्तर पाउने विश्वास लिएको छु ।
अन्तरराष्ट्रिय उडानलाई अधिक महङ्खव दिनुका पछाडि केके कारण छन् ?
अहिले नेपालमा आइरहेका जति पनि विमान कम्पनीहरू छन्, यिनीहरूले टाउकै फोरे पनि यूरोप र काठमाडौंको सीधा उडानको अनुमति पाउन सक्दैनन् । यूरोप र काठमाडौं सीधा उडानको अनुमति हामीले पाउने हो या यूरोपले पाउने हो । तर, यूरोपको एयर फ्रान्स, जर्मनीको लुफ्थान्सा, ब्रिटिश एयरवेजले अहिले नेपालमा आँखा गाडेको छैन । त्यसैले ती उडानमा ५/७ वर्षमा निम्ति त हाम्रो एकाधिकार नै हुन्छ । हाम्रो जहाजमा जो मानिस एक स्थानबाट ९ घण्टामा काठमाडौं आउन सक्छ, त्यसले १८ घण्टा बिताउन अन्य जहाजमा किन चढ्छ ? पैसा र समय दोब्बर लाग्ने काम कसैले पनि गर्दैन । त्यसैले पनि म अन्तरराष्ट्रिय उडान थप्नेप्रति अतिरिक्त उत्साहित भएको छु ।