पूर्वमन्त्री उपाध्यायको निधन
वैशाख २६, काठमाडौं (अस) । सगरमाथा आरोहणमा गएका ८६ वर्षीय पूर्व परराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्यायको सोमवार निधन भएको छ । गत अप्रिल १९ मा सगरमाथा आरोहणका लागि लुक्लाबाट प्रस्थान गरेका उपाध्यायको सगरमाथा आधार शिविरबाट ६ हजार २ सय ५० मिटरमाथि पुगेपछि हाई अल्टिच्युटका कारण मृत्यु भएको सगरमाथा आधार शिविरमा रहेको एक मेडिकलका म्यानेजर लाक्पा शेर्पाले जानकारी दिएका छन् । सोमवार बिहान पाँच बजे सगरमाथा आधार शिविरबाट हिमाल आरोहणमा गएका उपाध्यायको दिउँसो करीब ४ बजे मृत्यु भएको थियो ।
उपाध्यायको कमजोर स्वास्थ्य अवस्थाका कारण मृत्यु भएको जानकारी शेर्पाले दिएका छन् । उनले यही मे महीनाको तेस्रो साताभित्र सगरमाथा आरोहण गर्ने गरी आरोहणमा गएका थिए । उनले सगरमाथा आरोहणका लागि पर्यटन मन्त्रालयसमक्ष रोयल्टी मिनाहाको निवेदन दिएको भए पनि त्यससम्बन्धी निर्णय नहुँदै गएका हुन् ।
राप्रपाद्वारा राष्ट्रव्यापी आन्दोलनको घोषणा
वैशाख २६, काठमाडौं (अस) । राप्रपा नेपालले जेठको पहिलो सातादेखि सरकारविरुद्ध राष्ट्रव्यापी आन्दोलन थाल्ने भएको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको सो पार्टीको केन्द्रीय कमिटीको बैठकमा थापाले सो जानकारी दिएका हुन् । संविधानसभाको म्याद थप नहुने र संविधानसभाको म्याद सकिएपछि निर्वाचनमा जानुपर्ने राप्रपा नेपालको अवधारणाले राष्ट्रिय एजेण्डाको रूप धारण गरेको उनले बताए । थापाले राजासहितको प्रजातन्त्र आवश्यक भएको धारणा पनि व्यक्त गरे ।
जनशक्ति संविधानसभाको म्याद थपको विपक्षमा
वैशाख २६, काठमाडौं (अस) । राष्ट्रिय जनशक्ति पार्टीका प्रमुख दलहरू र खास गरी एमाओवादीको अनिच्छाका कारण शान्ति-प्रक्रिया र संविधानका आधारभूत अन्तर्वस्तुहरू विवादित एवम् अनिणिर्त रहेको हालको राजनीतिक अनिश्चितताको स्थितिमा संविधानसभाको अवधि पुनः थप गर्ने विषयमा सहमत नरहेको बताएको छ । पार्टी अध्यक्ष सूर्यबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा शान्ति र संविधान निर्माणको दायित्व प्रमुख दलहरूको उदासीनताका कारण पूरा नहुने भएको हो, प्रमुख दलहरूले प्रयास गर्दागर्दै नभएको वा नभ्याएको होइन भनिएको छ । संविधान निर्माणको पहिलो शर्त र आधार शान्ति-प्रक्रिया तार्किक निष्कर्षमा पुग्नु हो जुन कार्यमा ठोस प्रगति नभएको र शान्ति-प्रक्रिया पनि अधकल्चो रहेको अवस्थामा संविधान निर्माण हुन नसक्ने दाबी गरिएको छ ।
‘राष्ट्रिय सहमतिका लागि सरकार असफल’
वैशाख २६, काठमाडौं (अस) । नेकपा (एमाले) स्थायी समिति सदस्य केपी ओलीले आफ्नै पार्टीको नेतृत्वमा रहेको वर्तमान सरकारले राष्ट्रिय सहमति बनाउन नसकेकाले प्रधानमन्त्री झलनाथ खनाललाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । प्रेस चौतारी नेपालद्वारा सोमवार आयोजित अन्तरक्रिया कार्यक्रममा नेता ओलीले शान्ति र संविधानका लागि वर्तमान सरकारले ठोस काम गर्न नसकेको बताए । उनले भने, ‘राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्थामा मात्रै संविधानसभाको अवधि थप्नुपर्छ ।’ कति समयावधिभित्र संविधान बन्छ भन्ने खाकाका लागि राष्ट्रिय सहमतिको सरकार र वातावरण बन्नुपर्नेमा उनको जोड थियो ।
विगतमा पनि राष्ट्रिय सहमतिका लागि आफ्नो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको नेतृत्व त्यागेको उनले उल्लेख गरे । नेता ओलीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री खनालले ‘अर्जुनदृष्टिको गफ’ दिए पनि सात बुँदे सहमतिका नाममा राष्ट्रिय सहमतिलाई भाँड्न खोजेको आरोप लगाए । ‘शान्ति, संविधान र सहमतिका लागि वर्तमान सरकारले तीन महीना खेर फालेको छ’, उनले भने, ‘एउटा व्यक्तिको पद हेरेर देशलाई भड्खाँलोमा हाल्न सकिन्नँ ।’ उनले पार्टीको निर्णयवपरीत एमाओवादीलाई गृह मन्त्रालय दिएकामा अध्यक्ष खनाललाई अनुशासनको कारबाही हुने पनि बताए ।
‘म्याद थपेर संविधानलाई पूर्णता दिनुपर्छ’
वैशाख २६, काठमाडौं (अस) । नव जनवादी मोर्चाका अध्यक्ष एवम् गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहले अहिलेसम्म बनिसकेको संविधानको प्रारूपलाई राष्ट्रहितमा म्याद थपेर भए पनि यथाशीघ्र पूर्णता प्रदान गर्नुपर्ने बताएका छन् । मोर्चाद्वारा सोमवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेता सिंहले महान् देशका सक्षम नेपाली नागरिकले संविधान भने अवश्य बनाएर छाड्ने धारणा व्यक्त गरे । उनले राष्ट्रपतिले संविधानसभालाई आह्वान गरेर प्रक्रिया अघि बढाउनुपर्ने धारणा राख्दै वर्तमान संविधानसभाभित्रका सबै सानाठूला राजनीतिक दलले व्यक्तिगत एवम् दलगत स्वार्थलाई त्यागेर जनताप्रति बढी जिम्मेवार भएर इमानदार भई संविधानको प्रारूप म्याद थपेर भए पनि जारी गर्नुपर्नेमा जोड दिए ।
Admin 2011-05-10











